१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति संविधानविद् आचार्यको आपत्ति

संविधानविद् भीमार्जुन आचार्यले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई असामान्य र गम्भीर भएको बताएका छन्।  

आचार्यले दुई देशबीचको सीमा विवादमा तेस्रो देशको उपस्थितिको आह्वान गरिएको आशय झल्किने अभिव्यक्ति झन् चिन्ताजनक रहेको बताएका छन्। 

‘दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आह्वान अझै चिन्ताजनक छ। आजसम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन। यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन,’ आचार्यले सामाजिक सञ्जालमा  लेखेका छन्। 

उनले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालका भूमि अतिक्रमणसम्बन्धी मुद्दालाई कमजोर बनाउने र  अप्रत्यक्ष रूपमा वैधता दिन सक्ने बताएका छन् । 

‘यसको सबैभन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भइरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो,’ आचार्यले लेखेका छन्। 

उनले थपेका छन्, ‘सीमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन वा सक्दैन भन्ने कुरा दर्शाउँछ। सिंगो देश र देशवासी झनै सचेत हुनुपर्ने समय आएजस्तो छ।,’  

प्रकाशित: १७ जेष्ठ २०८३ १८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App