१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

राज्यको लापरबाहीले खोसियो परिवारको एक्लो सहारा

सर्लाहीको बरहथवा- ६ की कलावतीदेवी साह ओछ्यान परेको दुई दिन भयो। आफन्तले पिलाएको पानीको सहारामा उनको प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेकी छैनन्। बेलाबेला होस खुल्नेबित्तिकै उनी बौवा (छोरा जयशंकर साह) लाई ल्याइदिनू भन्दै चिच्याउँछिन्, एक छिनपछि मुर्छा पर्छिन्।

छोराको मृत्युको खबरले शुक्रबार दिउँसोदेखि उनी ओच्छ्यानमै ढलेकी हुन्। कलावती विलाप गर्छिन्, ‘हौ बाउ, आब हम केकरा बेटा कहबै ?’ (अब मँ कसलाई छोरा भन्ने ?)। केकरा सहारे जिबै हौ (कसको सहारामा बाच्ने) ?,’ साह निवासमा जम्मा भएका हितैषी भारी आवाजमा सम्झाउन खोज्छन्। पानी छर्केर होसमा ल्याउँछन्। उनी चिच्याउँदै फेरि मुर्छा पर्छिन्। अञ्जली साह भाइको वियोगमा बिलौना गर्दै आँगनमा ढलेकी छिन्। शकुन्तला, सावित्री र रुवी भाइको बिलौना गर्दै ओच्छ्यान परेकी छिन्। होस खुलेपछि उनीहरू आफन्त र आगन्तुकलाई एकहोरिएर टोलाउँछन्। रुँदारुँदा उनीहरूको आँसु सुकिसकेको छ। चिच्याउँदा चिच्याउँदै आवाज बसिसकेको छ।

अस्पतालको स्तरोन्नतिको विवादमा प्रहरीले चलाएको गोली टाउकोमा लागि २७ वर्षीय जयशंकर साहको मृत्युको खबरसँगै साह परिवारमा सन्नाटा छाएको छ। शुक्रबार दिउँसोदेखि आफन्त र छरछिमेकी जम्मा भएर साह परिवारलाई सान्त्वना दिए पनि सम्हालिन सकेका छैनन्।

जयशंकर परिवारको रोदन र क्रन्दनले साहनिवास पुगेका सबैका आँखामा आँसु देखिन्थ्यो। मुर्छित आमा, दिदीहरू र भान्जा विवेकको निश्चल आँखाले जयशंकर खोजिरहेको थियो। बंगाली र कलावतीको पाँच सन्तानमध्ये उनी एक्ला छोरा थिए। बुवा बंगाली साहको मृत्युपछि परिवारको एक्लो साहारा जयशंकरको सपना डाक्टर बन्ने थियो।

परिवारले उनको सपना पूरा गर्न कुनै कसर बाकी राखेका थिएनन्। बंगलादेशमा एमबिबिएस अध्यन पूरा गरिसकेका बुवाकै विरासत व्यपार सम्हाल्दै आमाको सहारा बनेका थिए।

विवादको जड

बरहथवा नगरकार्यपालिकाको २०८० असोज ९ गतेको बैठकको निर्णयअनुसार यहाँ सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शड्ढयाको अस्पतालमा स्तरोन्नति गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधामलाई पत्र पठायो। नगरकार्यपालिकाको निर्णयसहित नगरपालिकाको पत्र मन्त्रालयमा असोज १८ गते दर्ता भई प्रक्रिया सुरु भयो। मन्त्रालयले नगरपालिकाको पत्रउपर सुनवाइ गर्दै प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० संख्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया सुरु गर्‍यो।

गत १८ गते नगरपालिकालाई पत्रमार्फत मन्त्रालयले हस्तान्तरण प्रक्रिया पूरा गर्न भन्यो। मन्त्रालयले नगरपालिकाको माग सुनवाइ गरेपछि विवाद सुरु भयो। नगरपालिकाका मेयर कल्पना कुमारी कटुवालले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्नुभन्दा ५० शय्याको अर्को अस्पताल बनाउन भनेपछि विवाद सुरु भएको स्थानीय बताउँछन्।

हाल सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रमा संघ सरकारको १८ करोड रूपैयाँ बजेटमा नयाँ भवन बनेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेटमा बरहथवामा ५० शय्याको अस्पताल बनाउने घोषणा गरेको छ। बरहथवा नगरपालिकाको नगर कार्यपालिकाले ९ असोज २०८० मा बैठक बसेर प्राथमिक स्वास्थ्य चौकीको भवन ५० शय्याको अस्पताल सञ्चालन गर्न प्रदेशलाई दिने निर्णयसमेत गरिसकेको छ।

सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य वीरेन्द्र सिंह मधेस प्रदेशमा स्वास्थ्य तथा जनसंख्यामन्त्री छन्। र, यसै ठाउँबाट निर्वाचित प्रदेशसभा सदस्य सञ्जय यादव अर्थमन्त्री छन्। ५० शय्या अस्पताल प्रदेश सरकार मातहत हुने भएपछि नगरप्रमुख कटुवालले आफ्नो निर्णयबाट पछि हट्दै प्रदेश सरकारले अरू अस्पताल राम्रोसँग सञ्चालन नगरेको भन्दै उनले नगरपालिकाले नै १५ शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने अडान राखेपछि विवाद उत्पन्न भएको हो।

यता, कांग्रेससहित सत्ता गठबन्धनका दलले कार्यपालिकाको निर्णय कार्यान्वयन हुनुपर्ने अडान राख्दै दबाब बढाउन थाले। मेयरले आफ्नै अध्यक्षतामा भएको कार्यपालिकाको निर्णयबाट पछि हट्ने र कांग्रेससहितका सत्ता गठबन्धन दलले उक्त निर्णय कार्यान्वयन हुनुपर्ने अडान राखेपछि विवाद बढ्दै गएर उग्र रूप लिएको स्थानीय बताउँछन्।

५० शय्याको अस्पताल बनाउने निर्णय कार्यान्वयनका लागि दबाब दिन शुक्रबार उद्योग वाणिज्य संघले बजार बन्द आह्वान गरेको थियो। नेपाली कांग्रेससहितका राजनीतिक दलले समर्थन गरेका कारण बिहानैदेखि बजार बन्द थियो। दलका प्रतिनिधिहरू सर्वदलीय बैठकका नगरपालिका पुग्दा नपुग्दै बैठक स्थगित भयो। 

नेपाली कांग्रेसका मेयर प्रत्यासी विगु चौधरी भन्छन्, ‘नगर प्रमुख कटुवालले बैठक स्थगित गरेपछि पनि आफ्नो मेयरको कार्यकक्षमा छलफल चलिरहेको थियो। ‘मेयरज्यूले सर्वदलीय टोली जनकपुर जाऊँ र मन्त्रीसँग कुरा गरौं भन्नु भएको थियो। हामी छलफलमै थियो, बाहिर तनाव बढ्यो।’

त्यही क्रममा भीडले नगरपालिकामा ढुंगामुढा गर्न थाल्यो। प्रहरीले रोकेपछि प्रदर्शनकारीहरू नगरपालिकाबाट सात सय मिटरको दुरीमा रहेको मेयरको घरतर्फ हान्निए। आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले नियन्त्रणमा लिन गोली चलायो। त्यसक्रममा प्रहरीले चलाएको गोली टाउकोमा जयशंकर साह सडकमा ढले र उनको मृत्यु भयो।

मृतकका भान्जा विवेकका अनुसार जयशंकर कुखुराको दानाका थोक बिक्रेता थिए। उनी दानाको गोदाम पुगेर फर्किदा आन्दोलन उग्र भइसकेको थियो। उनी चढेको मोटरसाइकल सडक छेउमा रोकेर सुरक्षित स्थान खोज्दै थिए।

त्यत्तिकैमा इलाका प्रहरी कार्यालय बरहथवातर्फबाट आएको थप सुरक्षा बलले गोली चलाउँदा उनको टाउँकोमा लागेर सडकमै ढलेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विवेकले बताए। आन्दोलनसँग सरोकार नै नभएको हाम्रो परिवारको एक्लो सहारा मामालाई प्रहरीले हत्या गरेको विवेकले भक्कानिँदै भने। हत्याका दोषीउपर हदैसम्मको कारबाही हुनुपर्ने उनको भनाइ छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले भने, ‘मैले गोली चलाउने आदेश दिएकै होइन। के कति कारणले गोली चल्यो त्यो थाहा भएन उनले भने, ‘घटनाको छानबिनबाट सबै तथ्या बाहिर आइहाल्छ। गोली चल्नु, मान्छे मर्नु दुःखद् हो,’ उनले भने, ‘यो अवस्था आउनै हुँदैन्थ्यो।’

पूर्वडिआइजी पिताम्बर अधिकारीका अनुसार गोली चलाउनु अन्तिम विकल्प हो। आन्दोलन र भीड नियन्त्रण गर्न अन्य थुप्रै उपाय छन्। आगजनी नै हुन थाल्यो भने रबरका गोली चलाउन सकिन्छ। गोली चलाउनु भनेको घातक बल प्रयोग गर्नु हो,’ उनले भने, ‘यसको परिणाम मानिसको मृत्युकै रूपमा आउँछ।’ बल प्रयोगको अधिकारमा पनि कानुनी त्रूटि औंल्याउँछन् पूर्वडिआइजी अधिकारी।

निषेधाज्ञा यथावत्

शुक्रबार बेलुका साढे ५ बजेदेखि आज शनिबार बिहान ८ बजेसम्म जारी गरिएको कफ्र्यु आदेश हटाएर लगाएको निषेधाज्ञा जारी रहेको प्रजिअ धमलाले बताए। कुनै पनि किसिमको भेला हुन, बाहिर हिँडुल गर्न तथा राजनीतिक सभा एवं गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा चोर्निया पुलसम्म निषेधाज्ञा जारी गरिएको उनले बताए।

मधेस प्रदेशमा २५ दिनभित्र प्रहरीको गोलीबाट आन्दोलनमा असंलग्न यो दोस्रो व्यक्ति मारिएका छन्। यसअघि मंसिर २७ गते बाराको सिम्रौनगढ नगरपालिकामा शिक्षक र कर्मचारीको आन्दोलनमा प्रहरीले गोली चलाउँदा सिम्रौनगढ नगरपालिका–१ का २५ वर्षीय लक्ष्मी विनले ज्यान गुमाएका थिए।

प्रहरीको गोलीबाट आन्दोलन र विवादमा असंलग्न व्यक्ति मारिएका घटना छानबिन गरी दोषीमाथि कारबाही नभएसम्म निर्दोषले अकालमै ज्यान गुमाइरहनेछन्।

यता, शव सडकमै राखेर आफन्त एवं दलका नेताहरूले जयशंकरलाई सहिद घोषणा, मेयर कल्पना कटुवालको राजीनामा, घटनामा गोली चलाउन आदेश दिने इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गंगाबहादुर थापालाई निलम्बन, मृतकको नाममा अस्पताल घोषणा गरी सालिक बनाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र तोडेर दिनभर प्रदर्शन गरेका थिए।

 

प्रधानमन्त्रीको चासाे : छानबिन समिति गठन

राैतहट :  सर्लाहीको बरहथवामा प्रहरीको गोली लागी स्थानीय युवकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन्। बरहथवा नगरपालिका ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर स्थानीय ३० वर्षीय जयशंकर साहको मृत्यु भएको विषयमा प्रधानमन्त्री दाहालले चासो व्यक्त गर्दै छानबिन समिति गठनको लागि निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने जानकारी गराएको छ। विज्ञप्तिमा घटनामा मृत्यु भएका साहको परिवारलाई राहतस्वरूप दश लाख रूपैयाँ उपलब्ध गराउने जनाइएको छ।

यसैगरी, घटनाबारे सत्य तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको विज्ञप्तिमा उल्लेख छ। छानबिन समितिको सदस्यमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन्।

यसैबीच सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहितको टोली घटनास्थल पुगेको छ। शुक्रबार दिउँसोदेखि मृतक साहको शव स्थानीयले उठ्न दिएका छैनन्। घटनास्थल पुगेका प्रजिअ धमलासहितको टोलीले स्थानीयसित वातावरण शान्त बनाउन पहल गरिरहेका छन्। प्रदर्शनकारीहरूले मृतक साहको शवसम्म प्रहरीलाई पुग्न दिएका छैनन्।

प्रकाशित: २२ पुस २०८० ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App