२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बुढा सुब्बाको सूचनामा पशुपति क्षेत्र विकास कोषको आपत्ति

पशुपतिनाथको बागमती नदीकिनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न नपाइने भनी बुढा सुब्बा प्रालिले निकालेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले गम्भीर आपत्ति जनाएको छ।

कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार सूचना निकाल्दै बुढासुब्बा डिजिटल प्रालिको नामबाट प्रकाशित गरिएको सूचनासँग असहमति जनाएकी छन्।

कोषका तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडाको पालामा बुढा सुब्बाले कोषसँग डिजिटल माध्यमबाट पशुपतिको बागमतीकिनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको प्रत्यक्ष्य प्रसारण गर्न सम्झौता गरेको थियो।

त्यसबापत कोषलाई १ लाख ६० हजार रूपैयाँ बुझाउने सम्झौतामा उल्लेख थियो। त्यही सम्झौतालाई आधार मानेर बुढा सुब्बाले यस्तो सूचना निकालेको थियो। तर कोषका अधिकारी भने बुढा सुब्बाले यस किसिमको सूचना निकाल्न नसक्ने बताउँछन्।

बुढासुब्बाको सूचनामा ‘श्री पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमति नदीकिनारमा हुने गंगा आरति र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ’ भनिएको छ। साथै सूचनामा भनिएको छ, ‘यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा पाएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं।’

बुढासूब्बा प्रालिले निकालेको सूचनामा पशुपति क्षेत्र विकास कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखेर प्रकाशित गरिएकामा कार्यकारी निर्देशक पुनले आपत्ति जनाएकी छिन्।

बुढा सुब्बाको सूचनामा कोषको कुनै पनि संलग्नता नरहेको उनले प्रस्ट पारेकी छन्।

प्रकाशित: २१ पुस २०८० ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App