२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राप्ती र नारायणीमा भाले घडियाल गोही थपिए, गोहीको संख्या दुई सय ६५ पुग्यो

चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा भाले घडियाल गोही थपिएका छन्।

भाले गोही न्यून रहेको अवस्थामा यी नदीमा छ वटा भाले गोही भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

पन्ध्र दिन लगाएर गरिएको गणनामा नारायणी र राप्तीमा तीन÷तीन वटा भाले घडियाल गोही देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार यसअघिको गणनामा यी नदीमा तिन वटा मात्र भाले गोही भेटिएका थिए।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गरिएको गणनामा दुई सय ६५ घडियाल भेटिएका छन्। नारायणी नदीमा भन्दा राप्ती नदीमा घडियालको संख्या धेरै छ। नारायणी नदीमा एक सय १३ वटा घडियाल भेटिँदा राप्तीमा एक सय ५२ भेटिएको तिवारीले जानकारी दिए। पुस एक गतेदेखि १५ गतेसम्म चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका १० जना कर्मचारीको टोलीले गणना गरेको थियो। घडियाल अनुगमन कार्यका क्रममा काठको डुङ्गा, रवर बोट, जीपीएस क्यामेरा, बाईनाकुलर लगायतका सामाग्री प्रयोग गरिएको उनले जानकारी दिए। 

यस्तै अनुगमनका क्रममा तीन वटा डल्फिन समेत फेला परेको उनले बताए। निकुञ्जले बेला बेलामा प्रजनन केन्द्रमा हुर्काएका घडियाल गोही नदीमा छाड्ने गर्दछ। तर छाडिएका गोही भन्दा न्यून देखिएका छन्। अघिल्लो फागुन महिनासम्म निकुञ्जले झण्डै दुई हजार गोही नारायणी, राप्ती लगायतका नदीमा छाडेको थियो। 

प्रकाशित: १७ पुस २०८० ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App