२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अपराध-अनुसन्धानमा सहयोगी बन्दै राजमार्गका सिसिटिभी

शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारमा केही महिनाअघि रातको समयमा चोरले पसलको ताला फोडेर मदिरा चोरी गरे। चोरले मदिरा लग्दै गरेको दृश्य सिसिटिभीमा कैद भयो। सोही आधारमा प्रहरीले चोरलाई समात्न सक्यो।

झलारी बजारकै व्यापारी कमला ऐरको पसलअघि राखिएको एक साइकल चोरी भयो। सिसिटिभीमा साइकल चोरी गरेर लग्दै गरेका व्यक्तिको तस्बिर देखियो। प्रहरीले सोही तस्बिरका आधारमा व्यक्तिको खोजी गर्दा साइकलसमेत भेटियो।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापा सिसिटिभी क्यामेरा पूर्वपश्चिम राजमार्गमा जडान गरिँदा अपराध अनुसन्धानमा सजिलो भएको बताउँछन्।

‘सडक क्षेत्रमा सिसिटिभी क्यामेरा जडान हुँदा यात्राका क्रममा सवारीसाधनमा छुटेका, हराएका सामान बहुमूल्य गरगहना खोजी गर्न सकिएको छ,’ उनले भने, ‘त्यस्ता सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाउन सिसिटिभी क्यामेरा सहयोगी बनेको छ।’

सवारी दुर्घटना, विभिन्न आपराधिक घटनामा संलग्नको पहिचान गरी अनुसन्धानमा सहजता भएको उनको भनाइ छ। सडक क्षेत्रका मुख्य बजार क्षेत्रमा हुने ट्राफिकसम्बन्धी समस्या कार्यालयमा राखिएको मोनिटरमा हेरेर नियन्त्रणका लागि प्रहरी परिचालन गरी नियन्त्रणसमेत हुँदै आएको उनले सुनाए।

राजमार्ग क्षेत्रको शुक्लाफाँटाबाट कृष्णपुर नगरपालिका क्षेत्रसम्म ६२ वटा सिसिटिभी क्यामेरा जडान गरिएका छन्।

जसमध्ये सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा २२, शुक्लाफाँँटा नगरपालिकाको सहयोगमा १२ र कृष्णपुर नगरपालिकाको सहयोगमा २९ वटा क्यामेरा जडान गरिएका छन्।

राजमार्गका मुख्य बजार क्षेत्रका व्यापारी र घरधनीले समेत आफ्नै लगानीमा सिसिटिभी क्यामेरा जडान गर्न थालेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षअघि जडान गरेका सिसिटिभीमध्ये केही बिग्रिएकाले मर्मत गर्नुपर्ने शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष धीरेन्द्र साउदले बताए।

‘बिग्रिएका सिसिटिभी क्यामेरा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भने, ‘थप सिसिटिभी क्यामेरा जडानका लागि स्थानीय तहले काम अघि बढाउनुपर्छ।’

सिसिटिभी क्यामेराले गर्दा आपराधिक क्रियाकलाप नियन्त्रण आएको उनको बुझाइ छ।

शुक्लाफाँटा नगरप्रमुख रणबहादुर महराले आवश्यकता भएका नगरपालिकाको क्षेत्रभित्र पर्ने पूर्वपश्चिम राजमार्ग क्षेत्र र राजमार्गसँगै जोडिएका मुख्य बजार क्षेत्रमा थप सिसिटिभी क्यामेरा जडान गरिने बताउँछन्।

नगरपालिकाबाट राजमार्ग छेउछाउ, वडा कार्यालयले आपराधिक क्रियाकलाप हुने क्षेत्रसँगै जंगली जनावरको ओहोरदोहोर हुने क्षेत्रमा समेत नाइटभिजन सिसिटिभी जडान गरेको उनको भनाइ छ। 

प्रकाशित: १७ पुस २०८० ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App