१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोरङको जङ्गलमा हात्ती मृत फेला

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित मुनाल झोडाको जनजागरण सामुदायिक वनभित्र हात्ती मृत फेला परेको छ। हात्तीलाई गोली प्रहार गरी मारेको आशंका गरिएको हो।

सोमबार बिहान शंकास्पद अवस्थामा हात्ती मृत फेला परेको बताउँदै, डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुप्रसाद घिमिरे भने, ‘बिहान शंकास्पद अवस्थामा जङ्गली हात्ती मृत फेला परेको खबर प्राप्त भएको हो। खबर प्राप्त हुनसाथ विज्ञ र प्रहरीसहितको टोली पुगेर घटनाको अनुसन्धान थालेको छ। हात्तीको अहिलेसम्मको प्रकृति हेर्दा एउटा गोली लागेको देखिन्छ। गोली हानी मरेको अवस्थामा फेला परेको हात्तीको पुच्छर काटेको छ भने अन्य भागमा केही भएको देखिँदैन।’

हात्तीको देब्रे पाता (कानको मुनि) एउटा गोली लागेको देखिन्छ। कोशी टाप्पु र डिभिजन वन कार्यालय मोरङको पशु चिकित्सकसहितको टोलीले हात्तीको पोस्टमार्ट थालेको छ। घटनाको अनुसन्धान चिकित्सकसहितको टोलीले थालेको बताउँदै, प्रमुख घिमिरेले भने, ‘हात्तीको एकातर्फ मात्रै देखिएको छ। अर्कोतर्फ पल्टाएर हेर्न बाँकी रहेको हुँदा सबै कुरा अहिले भन्न सकिँदैन। एउटा मात्रै हो कि अन्य गोली पनि प्रहार भएको हो खुल्न बाँकी छ। चोरी सिकारीले गोली प्रहार गरी हात्तीको हत्या गरेको हुनसक्छ।’

सोमबार बिहान पौन ९ बजेतिर हात्ती मृत फेला परेको जानकारी स्थानीयले प्रहरी र वन कर्मचारीलाई गराएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए। उनले घटनाको सम्पूर्ण अनुसन्धान वनले गर्ने भएको हुँदा हाम्रो पाटो भनेको उहाँहरुको अनुसन्धानमा सहयोगी भूमिका हुने मात्रै हो।

भाले हात्ती लगभग १०/१२ वर्षसम्मको हुनसक्छ। बिहान साढे ४ बजेतिर घटनास्थल आसपासमा बन्दुक पड्किएको आवाज स्थानीयले सुनेको बताइएको छ। घटना स्थल नजिकै जनजागरण सामुदायिक वनको नर्सरी छ। नर्सरीभित्र रहेका बेला हात्तीलाई गोली हानिएको अनुमान वन कर्मचारीले गरेका छन्। नर्सरीभित्रसमेत रगत लतपतिएको छ। 

गोली लागेपछि घसिँदै र तारजाली भत्काएर नर्सरीबाट निस्किएको हात्ती बाटो छेउमा रहेको खोल्सामा ढलेको पाइएको घिमिरेले बताए। उनका अनुसार नर्सरी र हात्ती ढलेको ठाउँ  करिब एक सय मिटर पूर्व टाढा छ । घटनास्थल रगताम्य छ। गोली लागेपछि हात्तीले रगत बान्ता गरे जस्तो देखिन्छ। वनको नर्सरीदेखि हात्ती मृत भेटिएको स्थानसम्म रगतै रगत छ।

घिमिरेका अनुसार घटनाको प्रकृति हेर्दा गोली हानेरै हात्तीलाई मारिएको प्रष्ट देखिन्छ। प्रहरी र वनको टोलीले घटनाको अनुसन्धान गर्दै घटनामा संलग्नको खोजी सुरु गरेको घिमिरेले बताए। पोस्टमार्टमपछि हात्तीको दाहसंस्कार गरिने छ। आइतबार साँझमा पूर्वाञ्चल विश्वविद्यालयको उत्तर र पूर्वतर्फ जङ्गली हात्तीको बथान देखिएको थियो। घटनास्थल विश्वविद्यालयको पूर्वतर्फ हो। 

भारतबाट नेपाल आएका हात्तीको बथानले कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा उपद्रो मच्चाइ रहेको छ। साउनयता हात्तीको आक्रमणबाट झापामा ५, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भइसकेको छ। एक महिनायता मोरङको बेलबारी र सुन्दरहरैँचा क्षेत्रमा २७ वटाभन्दा बढी हात्ती बथान दैनिक देखिने गरेको छ। 

प्रकाशित: १६ पुस २०८० ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App