२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डाँडापारिका गाउँमा पूर्वाधार विस्तारले पलायो आशा

काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकामा सडक निर्माण र विद्युत् विस्तारले केही भए पनि आशा पलाएको छ। स्थानीय  सरकारको अघिल्लो कार्यकालमा खोलिएको सडक ट्र्याक र विद्युत् प्रसारण लाइनका खम्बामा पछिल्लो सयम तार टाँगेर विद्युत् विस्तार हुँदा गाउँमा साँँच्चै विकासको लहर छाएको आभास भएको वडा नं ८ का वडाध्यक्ष टङ्कबहादुर आलेमगरले बताए।

अहिले महाभारत र खानीखोला गाउँपालिकाको अधिकांश क्षेत्रमा सडक ‘ट्र्याक’ र केन्द्रीय विद्युतीकरणको काम भइरहेको छ। बाह्रै महिना सवारीसधान सञ्चालन हुने पक्की सडक, खोलामा पुल र सञ्चार सेवाको विस्तार हुनु अझै सपनाको कुरा भएकोे उनको भनाइ थियो। घर्तीछापमा एउटा मोबाइल टावर र सिन्धुली तथा काभ्रेपलाञ्चोकको सिमाना कोखाजोर खोलामा एउटा पक्की पुल निर्माणका लागि गरिएको मागसमेत सम्बोधन नभएको वडाध्यक्ष आलेमगरको गुनासो थियो।

‘नागरिकको समस्या समाधानका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रदेश सभासदस्य, प्रदेशमन्त्री, सङ्घीय सांसद, मन्त्री र पार्टीको नेतासम्म पनि हारगुहार गर्दा पनि चासो नदिँदा  आश मरेर आएको छ,’ उनले भने, ‘घर्तीछापमा रहेको मोबाइल नेटवर्कको समस्या, नजिकै सिमानामा जोडिएको सिन्धुलीको हरिहरपुर र महाभारत गाउँपालिका जोड्ने पुल निर्माणका लागि गरिएको माग वर्षौं बितिसक्दा पनि सम्बोधन गरिएन। अरू वडा र पालिकाबाट गर्नुपर्ने विकासका काममा आफूहरुको प्रयास रहे पनि प्रदेश र सङ्घीय सरकारबाट गर्नुपर्ने काममा सधैँ आलटाल नगर्न आग्रह गर्दछु।’

नेकपा (माओवादी केन्द्र)का स्थानीय  सचिव अमर मगरले प्रदेश सरकारले अगाडि बढाएको गौरवको आयोजना बिपी राजमार्गको पिन्थली हुँदै चारकिल्लो–देवीटार–घर्तीछाप–गोकुले–छोटेसाहन–सिक्रेदोभान–भोर्लेनी–झुरझुरेसम्मको जनमुक्ति मार्ग स्तरोन्नति हुँदै आएको देख्दा विकासको गतिले फड्को मार्ने आशा पलाएको बताए। ‘विद्युतीकरणको काम क्रमशः अगाडि बढिरहेको छ, अब छिट्टै यो गाउँपालिका झिलीमिली हुने अवस्थामा छ,’ उनले भने, ‘जनमुक्ति मार्गलाई खण्ड–खण्ड गरी बजेट व्यवस्थापन गर्दै कालोपत्रका लागि गरिएको शिलान्यास र बीचबीचमा आवश्यक पक्की पुल निर्माणका लागि गरिएको  शिलान्यासले डाँडापारिको समृद्धिको यात्रा अगाडि बढेको पाएको छु। समग्रमा अझै यहाँको विकासलाई द्रुतगति दिनका लागि स्थानीय सरकारदेखि सबै पार्टीपङ्क्ति र नागरिकको उत्तिकै साथ आवश्यक रहेको छ।’

सोही पालिकाका उपाध्यक्ष सागर मोक्तानले विकटका बासिन्दाका लागि पहिलो विकास सडक भएको र यसले उत्पादनलाई आर्थिक उन्नतिमा जोड्नाका साथै  पर्यटकसँग सम्बन्ध विस्तार गर्ने माध्यम हुने भएकाले खोलिसकेको सडक ट्र्याकलाई पक्की बनाउने र पक्की पुल निर्माणको काम अगाडि बढिसकेकाले अब डाँडापारिका बासिन्दा विकासको उपभोग गर्न आतुर रहेको बताए।

पालिका अध्यक्ष कान्छालाल जिम्बाले यहाँको विकासमा निर्माण व्यवसायीले बाधा पु¥याएको बताए। स्थानीय सरकारको पहलमा योजनाहरु पारेर प्रक्रिया अगाडि बढाए पनि निर्माण व्यवसायीकै कारण समयमा नै काम सम्पन्न नगर्ने र आलटालमै समय बिताउने गरेका कारण नागरिकको विकास उपभोग गर्न पाउने आशालाई निरुत्सहित गर्ने काम भइरहेको गुनासो गरे। बजेट पारेपछि काम गर्न आलटाल गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न प्रदेश र सङ्घीय सरकारले पहल गरेमा यहाँका नागरिकको चाहना पूरा गर्न सकिने उनको भनाइ थियो । स्थानीय तहको सरकारले करिब छ वर्षमा तीन सय ६५ किलोमिटर सडकको ट्र्याक खोलिएको र विद्युत् विस्तारको काम अन्तिम चरणमा पुर्‍याएको उनले बताए।

विसं २०७७ असोज २० गते बागमती प्रदेशका तत्कालीन मन्त्री रामेश्वर फुँयालले स्तरोन्नति गरिएको पिन्थली–चारकिल्ला–तीनखुट्टे–बनखु सडक आयोजनाअन्तर्गत उक्त गाउँपालिकाको तीनखुट्टे–देवीटार सडकखण्ड कालोपत्र  शुभारम्भ गरेको पनि अहिलेसम्म अधुरो छ। 

प्रकाशित: १० पुस २०८० ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App