भक्तपुर नगर अर्थात् भक्तपुर दरबार क्षेत्र प्रवेश गर्ने मुख्य द्वार हो, खौमा। यही ठाउँ अर्थात् भक्तपुरको इन्द्रायणी द्योछेँ (देवताघर हाल पुनर्निर्माण भइरहेको) को ठिक उल्टो दिशामा सानो गल्ली छ।
यो सानो गल्ली प्रवेश गर्नेबित्तिकै पूर्व दिशामा रहेको अर्काे सानो गल्लीभित्र प्रवेश गरेपछि आउँछ सानो चोक। यस चोकलाई खौमा बहाल (चोक) भनिन्छ। यही चोकस्थित एउटा ऐतिहासिक घर हो, सिँ कःमि छेँ अर्थात् सिकर्मीको घर।
परम्परादेखि सिकर्मी पेसा गर्दै आएका शिल्पकार थरको एउटा परिवारको यो घरको प्रवेशद्वारमै काठमा लेखिएको छ, ‘सिँ कःमि छेँ’। यही घर अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ।
भाइरल बन्नुको कारण हो, युनेस्कोले कल्चरल हेरिटेज कन्जरभेसन (सांस्कृतिक सम्पदा संरक्षण) २०२३ बाट घरलाई एसिया प्यासिफिक अवार्ड घोषणा गर्नु।
घर पूर्ण रूपमा परम्परागत स्वरूपमा बनेको छ। घर प्रवेश गर्ने द्वार आधुनिक घरको जस्तो ठुलो गेट होइन, सानो काठको ढोका छ। ढोकामा पनि अहिले जस्तो चुकुल होइन, परम्परागत घरमा रहेजस्तो गजुरको चुकुल छ।
घरको बाहिरी स्वरूप जति आकर्षक देखिन्छ, त्योभन्दा कत्ति पनि कम छैन भित्री स्वरूपको आकर्षण। घर चार आनाको सानो क्षेत्रफलमा काठ, इँटा आदिबाट बनेको छ।
घरका भित्तामा पनि इँटा र सिमेन्टले नभई परम्परागत रूपमै इँटा, सुर्की, चुना (बालुवा सिमेन्टको सट्टामा गाह्रो बनाउन प्रयोग गरिने परम्परागत वस्तु) को प्रयोग गरिएको छ। गारो (वाल) मा आधारित पुरानो शैलीकै घर भएकाले चार इन्चको सट्टामा १४ इन्च, १८ इन्चका वाल छन्।
‘हाम्रो पुर्ख्याैली पेसा नै सिकर्मी हो,’ घरपति इन्द्रकाजी शिल्पकारले भने, ‘यति मात्रै होइन, हामी पुर्खादेखि नै पुराना दरबार बनाउने काममा संलग्न थियौं। यही कारण आफू बस्ने घर पनि आधुनिक नभई परम्परागत शैलीको होस् भन्ने इच्छाले बनाइएको हो।’
उनले पुरस्कार पाउने हेतुले यो घर नबनायएको बताए। भक्तपुर नगरमा धेरै बनेजस्तै होटेल, रेस्टुरेन्ट चलाउन वा पर्यटकलाई आकर्षित गर्न नभई आफूहरू बस्ने प्रयोजनका लागि बनाइएको उनले सुनाए।
इन्द्रकाजीको परिवारमा उनकी पत्नी, एक छोरा, एक छोरी, बुहारी, एक नाति र एक नातिनी गरी सातजना रहेका छन्।
पर्यटकीय नगरी भक्तपुरमा पर्यटकीय प्रयोजनको उद्देश्य राखी घर बनाउँदा परम्परागत शैलीको हुने गरी बनाइएका थुप्रै घर छन्। तर ती घर आरसिसी ढलान गरी बाहिरको स्वरूप मात्रै परम्परागत देखिएको हुन्छ। यसका लागि बाहिर पिलर ढाक्ने, माथि झिँगटीले छाना छाउने, झ्यालहरू काठका राख्ने गरिन्छ।
इन्द्रकाजीको घरको माथिल्लो तला पुग्न काठकै भर्याङ चढ्नुपर्छ। घरको भुइँ र दलिनमा काठकै प्रयोग छ। जस्तो कि भुइँतलालाई ‘छेली’ भनिन्छ।
यो तलालाई खासमा प्रयोग गरिँदैन अर्थात् जुत्ताचप्पल राख्न मात्रै प्रयोग हुन्छ। त्यसपछिको पहिलो तलालाई ‘मातं’ भनिन्छ।
‘मां’ र ‘तं’बाट बनेको यो तला नेवारहरूको घरको मूल तला हो। यही तलामा धुकू क्वथादेखि द्यनेगु क्वथा अर्थात् सुत्ने कोठा हुने गर्छ। यही तलालाई सुत्ने, बस्ने काममा प्रयोग गरिन्छ।
त्यसपछिको दोस्रो तलालाई नामकरण गरिन्छ ‘च्वता’। वास्तुकलाको विकासमा नेवारहरूले मातंबाट थपेर अर्को तला बनाएकाले माथि अर्थात् च्वय् अनि तला अर्थात् तं भएर ‘च्वतं’ भएको हो। यो तला बैठक कोठाको रूपमा प्रयोग गरिन्छ।
त्यसपछिको अर्काे अन्तिम तलो हो बैगः (बुइगः), बै अर्थात् ‘बजि’ शब्दको अपभ्रंश। बजि भनेको चिउरा हो, जुन नेवारहरूको खानाको परिकारमा अनिवार्य हुन्छ।
अर्को अर्थमा ‘बुइगः’ भनेको पाक्नु हो। यसबाट ‘बुइ’ नयाँ नेपाल भाषामा ‘गः’ अनि पुरानो नेपाल भाषामा ‘गल’ भनेको ‘ठाउँ’ हो। त्यसबाट बैगः र बुइगः शब्द आएका हुन्। इन्द्रकाजीको घरको स्वरूप बनावट यही रूपमा छ र प्रयोग पनि यही रूपमै गरिएको छ।
‘अहिले आधुनिक घर सजावटको विधिका कारण परम्परागत शैलीमा घर बनाउने चलन दुर्लभ भइसकेको छ,’ इन्द्रकाजीका छोरा इन्द्रप्रसाद शिल्पकारले भने, ‘बुवाको पुरानो शैलीको घरलाई जोगाई राखेर भोलिका पुस्तालाई देखाउने इच्छाले नै हामीले आधुनिक घरको सट्टामा यस्तो परम्परागत घर बनाएका हौं।’
उनको घरको माथिल्लो तला झिँगटीले छाइएको छ। घरका झ्यालढोका सबैमा काठकै प्रयोग गरिएको छ। यही कारण मल्लकालीन संरचनाको एउटा जीर्ण चिनोका रूपमा भक्तपुरको यो घर रहेको छ।
यद्यपि बाहिरबाट हेर्दा यस्ता खालका घर भक्तपुरमा धेरै छन्। तर ती घरमध्ये बाहिरभित्र पूर्ण परम्परागत रूपमा बनाइएको यो सायद यस क्षेत्रको एउटै मात्र घर हुनुपर्छ।
‘बुवाको अनुभवको सिप अनि मेरो आर्किटेक्टको अध्ययन र अध्यापनको अनुभवबाट यो घर तयार भएको हो,’ ख्वपः इन्जिनियरिङ कलेजका लेक्चरसमेत रहेकी इन्द्रकाजीकी कान्छी छोरी आर्किटेक्ट रविता शिल्पकारले भनिन्, ‘खासमा यो सबैको सामूहिक प्रयासबाट तयार भएको नमुना घर हो।’
उनीहरूले यो घर बनाउन २०७९ मंसिरमा जग हालेर सुरु गरेका थिए। घर हालै निर्माण सम्पन्न भएको हो। घर निर्माण सम्पन्न भएको र युनेस्कोले यस्तो पुरस्कृत गर्ने थाहा पाएपछि आर्किटेक्ट रविताले नै अनलाइनबाट यो प्रक्रिया गरेकी थिइन्। अहिले यही प्रक्रियाअनुसार उनीहरूलाई इमेलबाट यो जानकारी यसै हप्ता मात्रै प्राप्त भएको हो।
‘नेपालमा नयाँ निजी आवास निर्माण’ शीर्षकमा युनेस्कोले पठाएको यो चिठीमा लेखिएको छ, ‘भक्तपुरको ऐतिहासिक वास्तुकलाको अनुपम चरित्रको संरक्षण गर्दै नयाँ निर्मित सिँ कःमि छेँले संरक्षणलाई प्राथमिकतामा राख्दै स्टिल–प्रबलित इँटाको चिनाईजस्ता आधुनिक शिल्पकलालाई स्थानीय वास्तुकलाको शब्दावलीमा समाहित गरेको छ।’ यही कारण यो घरलाई चुनिएको अंग्रेजी भाषामा लेखिएको पत्रमा उल्लेख छ।
अध्ययनअनुसार वास्तुकला शैलीका यस्ता घर ढलानका भन्दा बढी सुरक्षित रहेको देखाइएको छ।
भूकम्पपछि अन्तर्राष्ट्रिय संस्था इकोमस र काठमाडौं उपत्यका संरक्षण कोषको संयुक्त संयोजनमा रिच आर्किटेक्टयर्स संस्थाको पहलमा ललितपुर, भक्तपुर र काठमाडौंका केही नेवारी बस्तीमा गरिएको अध्ययनले यस्तो देखाएको हो।
यो घर बसोबासको हिसाबले पनि तुलनात्मक रूपमा वातावरणमैत्री मानिन्छ। चिसोमा धेरै चिसो नहुनु र गर्मीमा पनि गर्मी नहुनु नै यस्ता घरको विशेषता हो। यही कारण बुढाबुढीका लागि ढलानका आरसिसी घरभन्दा यी घर बढी उपयुक्त मानिन्छ।
प्रकाशित: १० पुस २०८० ०१:४५ मंगलबार





