१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

प्रयोगविहीन जनजाति भवन

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङको भवन प्रयोगमै नआई जीर्ण बन्दै गएको छ। बेसीसहर नगरपालिका ७ मा करिब ११ वर्षअघि निर्माण भएयता प्रयोगविहीन भवन संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएको हो।

भुईंतलामा एउटा हलसहित पाँच कोठा रहेको दुईतले यस भवनलाई चारैतिरबाट झाडीले घेरेको छ। भवनको तल्लो भाग र झ्यालढोका भत्किएका छन्। भवनको गारोसमेत चिरिएको छ। झट्ट हेर्दा दिउँसै तर्साउने भूतको बंगालाजस्तै देखिन थालेको छ।

भवनभित्र चाउचाउ, बिस्कुटका खोल, फुटेका सिसाका टुक्रा र खाली मिनरल वाटरका बोटल रहेका छन्। एक रोपनी क्षेत्रफलमा आर्थिक वर्ष २०६८÷६९ मा निर्माण सम्पन्न भएयता भवन प्रयोगविहीन बन्दै आएको छ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङका तत्कालीन अध्यक्ष खेमजङ गुरुङले विसं २०६७ फागुन महिनामा प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव आयोजना गरेर नाफा भएको पाँच लाख रकमध्ये तीन लाखमा भवन निर्माणका लागि एक रोपनी जग्गा खरिद गरेको बताए।  

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट २५ लाख र तत्कालीन जिल्ला विकास समिति लमजुङबाट १५ लाख रुपैयाँ बजेट निकासा गरी भवन निर्माण गरेको उनले बताए। केही रकम अन्य संस्थाबाट सहयोग आएको र त्यो रकमले तार जाली खरिद गरेकोसमेत बताइएको छ।

धेरै दुःख र प्रयासले बजेट जम्मा गरेर भवन निर्माण गरे पनि भवन प्रयोगमै नआई जीर्ण हुँदा दुःख लागेको पूर्वअध्यक्ष गुरुङको भनाइ छ। भवन निर्माण भएको एक दशक बितिसक्दासमेत उद्घाटन हुन सकेको छैन।  

राजनीतिक विवादका कारण भवन उद्घाटन हुन नसकेको र आफ्नो पालामा समेत प्रयोग गर्न नपाएको दुःखेसो उनले गरे। आफूलाई २०६९ बाटै विभिन्न राजनीतिक पार्टीबाट असहयोग तथा असफल बनाउने प्रयास हुँदै आउँदा नेपाल कम्युनिस्ट पार्टी एकता भएपछि विसंं २०७५ मा आफू अध्यक्ष हुँदाहुँदै पत्तै नदिई नयाँ नेतृत्व गठन गरेको पूर्वअध्यक्ष गुरुङको गुनासो छ। –रासस

प्रकाशित: ९ पुस २०८० ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App