१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सरकारी कागजात किर्ते आरोपमा पक्राउ परेका ढकाल धरौटीमा रिहा

सरकारी कागजात किर्ते गरेको आरोपमा झन्डै एक महिना अघि पक्राउ परेका त्रियुगा नगरपालिकाका नायब सुब्बा गुरुप्रसाद ढकाल रिहा भएका छन्। तत्कालीन राजस्व शाखा प्रमुख नासु ढकाल कागजात किर्ते आरोपमा गत मंसिर १० गते पक्राउ परेका थिए।

त्रियुगा नगरपालिका-११ गाईघाटका स्थायी बासिन्दा ढकाल उदयपुर अदालतको शुक्रबारको फैसलाअनुसार धरौटीमा रिहा भएका हुन्।

न्यायाधीश दीपक खरेलको एकल इजलासले ढकाललाई दुई लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको सरकारी वकिल कार्यालय उदयपुरका जिल्ला न्यायाधिवक्ता उत्तम श्रेष्ठले बताए।

न्यायाधिवक्ता श्रेष्ठका अनुसार सरकारी कागजात किर्ते आरोपमा परेको उजुरीका आधारमा पक्राउ ढकाललाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको थियो।

ढकाललाई २५ दिनसम्म प्रहरी कस्टडीमा राखेर अनुसन्धान गरेपछि सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको थियो। अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि शुक्रबारै तोकिएको रकम बुझाएर ढकाल रिहा भएको न्यायाधिवक्ता श्रेष्ठले बताए।

राजस्व शाखा प्रमुख तथा राजस्व परामर्श समितिको सदस्यसचिव हुँदा आर्थिक वर्ष ०७८-७९ को राजस्व संकलन कार्यलगायतका कागजात किर्ते गरेको आरोप ढकालमाथि लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान थालेको थियो।

किर्ते आरोपमा अख्तियारमा उजुरी परेको बेहोराको पत्र नगरपालिकालाई प्राप्त भएपछि नगरपालिकाले कारबाही गर्न स्थानीय प्रशासन गुहारेपछि ढकाल फरार थिए। प्रशासनले ढकाललाई खोजबिनका क्रममा फेला पारी नियन्त्रणमा लिएर थुनामा राखी अनुसन्धान अघि बढाएको थियो।

ढकाललगायत तत्कालीन नगर प्रमुख र निमित्त हाकिम तथा ठेकेदारविरुद्ध पनि अख्तियारले कारबाही प्रक्रिया चलाइरहेको छ। नदीजन्य पदार्थ ठेक्का प्रकरणमा अनियमितता गरी राजस्व संकलनमा हानिनोक्सानी पुर्‍याएको भन्दै अख्तियारले तत्कालीन नगर प्रमुख बलदेव चौधरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कार्की र ढकाल तथा ठेकेदार राजेश बछारविरुद्ध बिगो र जरिवाना माग दाबी गर्दै विशेष अदालत गुहारेको छ।

उनीहरूविरुद्ध त्रियुगा नगरपालिकाको नदीजन्य पदार्थ उत्खननमा अख्तियार दुरुपयोग तथा राजस्व छली गरेको ठहर गर्दै विशेष अदालतमा बिगो र जरिवाना अंकको दोब्बर असुलउपर गर्न मागदाबी गरेको छ, जसमा नासु ढकाल, निमित्त प्रप्रअ कार्की र मेयर चौधरीले नगरपालिकालाई जनही ८१ लाख ३५ हजार ३ सय ८२ रुपैयाँ राजस्व घाटा पुर्‍याएको भन्दै त्यसको दोब्बर एक करोड ६२ लाख ७० हजार सात सय ६४ रुपैयाँ ३२ पैसा जरिवाना दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दिएको जनाएको छ।

सो प्रकरणमा निश्चल ट्रेडर्स हेटौंडाका सञ्चालक राजेश बछारले पनि १८ लाख ४४ हजार एक सय ७७ रुपैयाँ ९४ पैसा राजस्व घाटा पुर्‍याएको ठहर गर्दै दोब्बर ३६ लाख ८८ हजार तीन सय ५५ रुपैयाँ १८ पैसाको माग दाबी गरेको छ।

प्रकाशित: ७ पुस २०८० १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App