१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विदेशबाट फर्केका श्रमिकहरूको पनि सुधारिएन जीवन

अध्ययनले भन्छ, ‘३७.६ प्रतिशत निर्वाहमुखी कृषिमा, १६.५ प्रतिशत बेरोजगार’

वैदेशिक रोजगारीबाट फर्केपछि तुलनात्मक रूपमा सुधार हुनुपर्ने श्रमिकको आर्थिक स्थिति अझै जोखिममा रहेको देखिन्छ। एक अध्ययनले उनीहरू स्वदेशबाट फर्केपछि थप आर्थिक जोखिममा रहेको जनाएको छ।  

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) को एक अध्ययनले नेपाल फर्किएपछि पुनः एकीकरणको अवस्था पनि उनीहरूको आशालाग्दो देखिएको छैन।

वैदेशिक रोजगारीबाट नेपाल फर्किएका आप्रवासी कामदारमध्ये ३७।६ प्रतिशत निर्वाहमुखी कृषिमा संलग्न छन् भने १६.५ प्रतिशत बेरोजगार। यसले फिर्ता आएपछि श्रमिकले उच्च लाभ हुने काम पाउन नसक्ने, श्रम बजारमा उनीहरूको सीप र ज्ञानको मेल नहुने र उचित कामका अवसरहरूको सम्भावित अभावलाई देखाएको छ।

यसैगरी वैदेशिक रोजगारीबाट फर्किएका ९.२ प्रतिशत आप्रवासी श्रमिकले आर्जित सिप देशमा प्रयोग गरेका छन्। लगभग ३३ प्रतिशतले विदेशमा सिकेको सीप नेपालको श्रम बजारसँग सान्दर्भिक नभएको, २० प्रतिशतले नेपाली श्रम बजार अथवा स्थानीय श्रम बजारमा समान काम उपलब्ध नभएको र ११ प्रतिशतले प्राविधिक भिन्नताहरूका कारण आफूले सिकेको सिप नेपालमा उपयोग गर्न नसके देखिन्छ।

वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिकसँगको सर्वेक्षण तथा अन्य श्रोतको प्रयोग गरी उनीहरूको आर्थिक र मनोसामाजिक पुनः एकीकरणको अवस्था र पुनः वैदेशिक रोजगारीमा फर्किने योजनाबारे पिएनसीसीले अध्ययन गरेको हो।

पिएनसीसीको उक्त अध्ययनमा सन् २०१४ देखि २०२२ सम्म दर्ता भएका २२ हजार १ सय ४८ जना व्यक्तिहरू मध्ये १ सय ९ जना नेपाली आप्रवासी श्रमिकसँगको अन्तर्वार्ता आधारित छ। स्थापना कालदेखि (सन् २००९) पिएनसीसीले सङ्कटमा परेका आप्रवासी श्रमिकको उद्धार र स्वदेश फिर्ता तथा न्यायमा पहुँचका लागि सहयोग गर्दै आएको छ। 

पिएनसीसीले विभिन्न सेवा प्रदान गर्दा प्रशासनिक तथ्याङ्कको (मात्रात्मक र गुणात्मक) अभिलेख राख्दै आएको छ। यो अध्ययन सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी, सोसल साइन्सले गरेको हो।

वैदेशिक रोजगारीबाट फर्केर आएका आप्रवासी श्रमिकहरू झन् धेरै आर्थिक जोखिममा छन्। प्रवासीको अध्ययनको झन्डै ८० प्रतिशत आप्रवासी कामदारहरू आफ्नो आप्रवासनका लागि ऋणमा भर पर्ने गरेको देखाएको छ। ऋण लिएकामध्ये लगभग ५० प्रतिशतले ऋण तिर्न बाँकी रहेको देखिन्छ। त्यसैगरी ऋण फिर्ता गर्ने आप्रवासी श्रमिक मध्ये ८८ प्रतिशतले विदेशबाट कमाएको पैसाबाटै गरेको पाइएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका ७२ प्रतिशत श्रमिकले वैदेशिक रोजगारीको क्रममा बचत गर्न सक्षम नभएको देखिन्छ। वैदेशिक रोजगारीका क्रममा गन्तव्य देशहरूमा सामना गरेका विभिन्न प्रकारका समस्याहरू करार पत्रसँग सम्बन्धित मुद्दा, कारावास र बेपत्ता भएका सम्बन्धित मुद्दाहरूको कारण उनीहरूले बचत गर्न नसकेको देखिन्छ। परिणामस्वरूप,नेपाली आप्रवासी श्रमिकहरूले श्रम आप्रवासनबाट प्राप्त गर्न सक्ने लाभ पूर्ण रूपमा हासिल गर्ने सम्भावना कम हुनुको साथै उनीहरूले उद्यममा लगानी गर्न सकेका छैनन्।

नेपाल सरकारले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली आप्रवासी श्रमिकले आर्जन गरेको पुँजी नेपालमै उद्यममा लगाउने नीति ल्याए पनि, उनीहरूको आर्थिक पहुँचको कमीलाई उजागर गर्दै फर्किएका आप्रवासीलाई उद्यमी बनाउन मुख्य चुनौती माथि प्रकाश परेको छ।

पिएनसिसिको अध्ययनले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली आप्रवासी श्रमिकमा केन्द्रीय, प्रदेश र स्थानीय तहले सञ्चालन गरेका रोजगार, उद्यम तथा वित्तीय योजना तथा कार्यक्रम बारे जानकारी नभएको देखाउँछ।

झन्डै ५९ प्रतिशत आप्रवासी श्रमिकले सरकारद्वारा सञ्चालित वित्तीय योजनाहरूको जानकारी नभएको बताएका थिए। बेरोजगार नागरिकहरूका लागि सरकारद्वारा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम (पिएमएपी) बारे २५.७ प्रतिशतलाई जानकारी थियो भने, २२ प्रतिशतलाई सीप र व्यावसायिक तालिम र १७.४ प्रतिशतलाई सहुलियतपूर्ण ऋण योजनाबारे जानकारी थियो। तर, विभिन्न योजनाका बारेमा सुनेका १३.३ प्रतिशतले मात्रै योजनाबाट लाभ प्राप्त गरेको पाइएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणमा चुनौती देखिएका छन्। अध्ययनको सिलसिलागत आधारितमा वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिक मध्ये ४४ प्रतिशतले आफू फेरि वैदेशिक रोजगारीमा जाने योजनामा रहेको बताएका छन्। विभिन्न अन्तरसम्बन्धित कारकहरूले नेपाल फर्किएका आप्रवासी श्रमिकहरूलाई पुनः वैदेशिक रोजगारीमा जान बाध्य पारेको देखिन्छ ।

स्थानीय श्रम बजारमा एकीकरण हुन नसकेर ५४ प्रतिशत, घरायसी खर्च धान्न अपर्याप्त घरायसी आम्दानी ८० प्रतिशत र व्यावसायिक असफलताले २० प्रतिशत आप्रवासी कामदारहरूले फेरि वैदेशिक रोजगारीमा जाने योजना गरेको देखिन्छ।

त्यसैगरी पुनः वैदेशिक रोजगारीमा जाने योजनामा रहेको आप्रवासी श्रमिकहरू मध्ये ५४ प्रतिशतले पुनः ऋण लिएर वैदेशिक रोजगारीमा जाने योजना गरेको देखिन्छ। साथै पुनः वैदेशिक रोजगारीमा जाने योजनामा रहेको आप्रवासी श्रमिकहरू मध्ये ४६ प्रतिशतले आफूले पहिले वैदेशिक रोजगारीमा जान लिएको ऋण तिर्न बाँकी रहेको देखिन्छ। आप्रवासनमा ऋणको महत्त्वपूर्ण भूमिका र आप्रवासी श्रमिकको ऋणको चक्रमा फस्ने बढ्दो जोखिमका बारेमा यस अध्ययनले देखाएको छ।

खासगरी, कोभिड–१९ महामारीपछि लाखौँ विदेशमा युवाले काम गुमाएर नेपाल फर्किएपछि उनीहरूको आर्थिक तथा मनोसामाजिक पुनः एकीकरण एक महत्त्वपूर्ण विषय भएर आएको थियो। नेपाल सरकारले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली आप्रवासी श्रमिकले वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको सिप, पुँजी तथा अनुभव नेपालमै उपयोग गर्न विभिन्न आर्थिक तथा मनोसामाजिक पुनः एकीकरण कार्यक्रम सञ्चालन गरेको थियो। तर, ती श्रमिकहरूको दिगो पुनः एकीकरणमा अझै धेरै चुनौती र बाधा रहेको अध्ययनले देखाएको छ।  

प्रकाशित: ५ पुस २०८० ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App