१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

डा.केसीको गेटामा स्वास्थ्य प्रतिष्ठानको मागमा स्थानीयको चर्को विरोध

सरकारले बिगतमा पटक पटक गरेका सहमति पालना नगरेको भन्दै धनगढीमा सत्याग्रहमा बसेका डा.गोविन्द केसीको गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रक्रियालाई बिथोल्न खोजेको भन्दै यस क्षेत्रका बासिन्दाले चर्को विरोध गरेका छन्।

सडकमा प्रदर्शन देखि सामाजिक सञ्जालमा चर्को विरोध जनाएका छन्। डा.केसीले गेटामा स्वास्थ्य प्रतिष्ठान हुनुपर्ने माग राखेकाले मेडिकल विश्वविद्यालय लागि संघर्ष गरेका स्थानीय बासिन्दा केसी प्रति रुष्ट बनेका हुन्। सत्याग्रह गर्न जाने क्रममा मेडिकल कलेजको गेट भित्र नै पस्न डा. केसीलाई रोक लगाउने मेडिकल विश्व विद्यालय संघर्ष समितिले शनिवार पत्रकार सम्मेलन गरेर सुदूरपश्चिमका बासिन्दाको भावना र मर्म विपरीत स्वास्थ्य प्रतिष्ठानको माग राखेको भन्दै आपत्ति व्यक्त गरेको थियो। शनिवार नै चिकित्सा स्वास्थ्य सरोकार सङ्घर्ष समिति नेपालले डा. केसीको सत्याग्रह विरुद्ध धनगढीमा प्रदर्शन गरेको थियो भने स्थानीयले सामाजिक सञ्जालमा चर्को विरोध गरेका छन्।

'६ सय शय्याको अस्पताल सहितको मेडिकल विश्वविद्यालय बनाउने माग राख्नु भनेर आग्रह गर्दा अहाले मान्नु भएन। सुदूरपश्चिम प्रदेशका बासिन्दाको भावना र मर्म विपरीत मेडिकल विश्व विद्यालयको अघि बढिरहेको प्रकृया बिथोल्न स्वास्थ्य प्रतिष्ठान हुनुपर्छ भनेर सत्याग्रह राखेकोले हाम्रो विरोध हो,' मेडिकल विश्व विद्यालय सघर्ष समितिका अध्यक्ष लोकराज पाण्डेय आगोले बताए।

सुदूरपश्चिम बासीको सपनाको रुपमा रहेको मेडिकल विश्व विद्यालयको लागि यहाँका बासिन्दाले धेरै सघर्ष गरेको उनको भनाई छ। स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक अहिले राष्ट्रिय सभाको विधायन समितिमा छ। 

यसै पूर्व सांसद डा दीपक प्रकाश भट्टले  २१ मेडिकल कलेजमध्ये सुदूरपश्चिममा एउटा पनि नभएको र स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि नभएको अवस्थामा सुदूर पश्चिममा एउटा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न खोज्नु गलत नभएको बताएका छन्।

'सुप बासी हामी विश्वविद्यालय बनाउने भनिरहेका छौँ।  तर, डा.केसी यहाँका बासिन्दाको चाहाना विपरीत सानो र साँघुरो संस्था प्रतिष्ठान बनाउने माग गर्दैछन,' उनले भने।

डा.भीम रावलले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा। गोविन्दको सर्वत्र विरोध हुनुपर्ने बताएका छन्।

'डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न। सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा। गोविन्दको सर्वत्र विरोध हुनपर्छ। देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर  निजले कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दै छन् भन्ने प्रश्न गरौँ,' उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 


यसै गरी सर्वसाधारणले पनि सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। डा.केसी ज्यू, हाम्रो माग अनुसार बल्ल बल्ल संसदमा गेटा विश्वविद्यालय विधेयक आएको तपाईँलाई मन नपर्न सक्छ , तर भद्रताको आडमा तपाई त्यसलाई बिथोल्न पाउनुहुन्न रु हामी तपाईँलाई घर गएर आराम गर्न सुझाव दिन्छौँ ,' नागरिक समाजका अगुवा सचितानन्द जोशीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।  यसअघि २० औ सत्याग्रह पनि डा. केसीले धनगढी मै सुरु गरेका थिए। तेतिवेला उनलाई सहयोग र समर्थन गरेकाहरू पनि गेटाको मागका कारण समर्थन जनाउन सकेका छैनन्।

डा.केसीले गत बर्ष सरकार सङ्ग गरेको सम्झौतामा स्वास्थ्य प्रतिष्ठान उल्लेख भएकाले आफूले स्वास्थ्य प्रतिष्ठान माग राखेको  उल्लेख गर्दै मेडिकल विश्वविद्यालयको विरोधी नभएको बताएका छन्। राजनीतिक दलका नेताले कालो धन लगाएर मेडिकल कलेज खोली सम्बन्धन लिनका लागि मेडिकल विश्वविद्यालय खोल्न लागेको उनको आरोप छ। आफ्नो उद्देश्य कलेज, प्रतिष्ठान र विश्वविद्यालय जे भएपनी शिघ्र सञ्चालन भएर यहाँका जनताले सस्तो र सुलभमा स्वास्थ्य सेवा र शिक्षा पाउन भन्ने रहेको उनको भनाई छ। गेटामा मेडिकल कलेजका लागि वर्षौँदेखि आफू पनि लडेको र यहाँसम्म भएको उपलब्धिमा आफ्नो पनि योगदान भएको उनको भनाई छ।

डा.केसीले मुख्य २ बुँदामा आफ्ना माग राखेर शुक्रवार देखि धनगढी एल एन चोक स्थित कृष्ण मन्दिरको धर्मशालामा तीन दिने सत्याग्रह बसेका छन्।

सशस्त्र द्वन्द्वकालका जघन्य तथा मानबताविरोधी अपराधका दोषीलाई दण्डित गरी पीडित परिवारलाई न्याय हुने गरी सक्रमणकालिन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्‍याउनु पर्ने र बिगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग अघि सारेका छन्।

सत्याग्रहका मागहरू

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्‍याउनु पर्ने उनको माग छ।

यसै गरी सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधीहरू पाइने सुनिश्चित गरिनुपर्ने,

गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसङ्ख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेजहरू खोल्ने , एक सय शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम हरु सुरु गर्ने,  विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुंदासम्म दलीय भागबन्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरूमा नियुक्ति गर्नुपर्ने,  एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्नुपर्ने र  सबै सरकारी नियुक्तिहरूमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागि कानुनी व्यवस्था गर्नुपर्ने माग रहेका छन् ।

प्रकाशित: १ पुस २०८० ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App