१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मेची राजमार्ग बन्दले जनजीवन प्रभावित

मेची राजमार्गको कन्याम खण्ड।

पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा सवारीका साधन चल्न सकेका छैनन्।

बन्दले इलामसहित पाँचथर, ताप्लेजुङ र झापाको केही भागको जनजीवन आज (आइतबार) दोस्रो दिन पनि प्रभावित बनेको हो। मेची राजमार्गमा छोटो र लामो दूरीमा चल्ने सवारीका साधन हिजो बिहानैदेखि ठप्प छन्।

समिति प्रदेशको नाम ‘कोशी’ खारेज गर्न र पहिचानसहितको नाम राख्न माग गर्दै लामो समययता आन्दोलनमा छ।

आन्दोलनक्रममा खोटाङ, भोजपुर, उदयपुर, झापा र तेह«थुमलगायत जिल्लामा पक्राउ कार्यकर्ता रिहाइको माग गर्दै मंसिर ३० र पुस १ का लागि मेची राजमार्गसहित विभिन्न सडक बन्दको आह्वान गरिएको थियो। समितिले मेची राजमार्ग, तमोर मूलघाटदेखि फिदिम र हिलिहाङदेखि चिवाभञ्ज्याङसम्म सवारीका साधन बन्द आह्वान गरेको थियो।

हिजो मेची राजमार्गमा पराल बोकेर इलाम आउँदै गरेको मे १ ज ११४० नम्बरको पिकअप आगजनी गरिएको थियो। तर, समितिले आफ्ना कार्यकर्ताले त्यो पिकअपमा आगजनी नगरेको दाबी गरेको छ। 

समितिको इलाम इकाईले विज्ञप्ति जारी गरी सवारीका साधन बन्दको कार्यक्रम पूर्वघोषित भएपनि आगजनी गर्नमा आफ्ना कार्यकर्ता संलग्न नरहेको जनाएको छ। समिति संयोजक बुद्ध सोङ्मीले आफूहरूको आन्दोलन हिंसात्मक नभई शान्तिपूर्ण हुने जनाएकी छिन्।

प्रकाशित: १ पुस २०८० ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App