११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

कुलतको अँध्यारो हटाउन लालटिनको उज्यालो

कर्णाली प्रदेश प्रहरी कार्यालयले लागूऔषधविरुद्ध कर्णालीमा १३६ वटा लालटिन समूह गठन गरेको छ।

लागूऔषधको प्रभाव धेरै भएका जिल्लाका पालिका, वडा, गाउँ, टोल, विद्यालय र कलेजहरूमा प्रहरीले लालटिन समूह गठन गरिरहेको छ। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिम ढकालले जिल्लामा प्रहरी प्रमुखको संयोजकत्वमा लालटिन समन्वय डेस्क, पालिकामा मेयर÷अध्यक्ष, वडामा वडाध्यक्ष, कलेज र विद्यालयमा कलेज प्रमुख र प्रधानाध्यापकको संयोजकत्वमा लागूऔषधविरुद्ध लालटिन समूह गठन गरिएका छन्। टोलसम्म लागूऔषधविरुद्ध लालटिन समूह गठन गरिएपछि लागूऔषध नियन्त्रण प्रभावकारी बन्नुका साथै प्रयोगकर्ताहरू घट्दै गएको प्रहरीले जनाएको छ। 

‘लागूऔषधको अवैध खेती, उत्पादन, ओसार¬पसार, बेचबिखन र सेवन नियन्त्रण गरी यससँग सम्बन्धित अपराधमा कमी ल्याउने उद्देश्यले यो अभियानको सुरुवात गरिएको थियो,’ डिआइजी ढकालले भने, ‘अभियान प्रभावकारी बन्दै गएको छ।’ 

सुरक्षित कर्णाली विशेष अभियान अभियान सुरु गरिरहेको प्रहरीले लागूऔषध नियन्त्रणका लागि ‘लालटिन अभियान’को साउनदेखि यो अभियानको सुरुवात गरेको हो।

पछिल्लो तीन आर्थिक वर्षमा कर्णालीमा लागूऔषध सम्बन्धीका घटनाहरू बढेको प्रहरीको तथ्याङ्कले देखाउँछ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ७०, २०७८÷०७९ मा ९५ र आर्थिक वर्ष २०७९÷८० मा ११४ वटा लागूऔषध सम्बन्धी मुद्दा कर्णालीमा दर्ता भएका छन्। यहीँ अवधिमा एक हजार ५८५ रोपनी गाँजा र ५३० रोपनी अफिम खेती पनि प्रहरीले नष्ट गरेको छ। 

‘कर्णालीमा गाँजा, चरेस, अफिम, हेरोइन, ब्राउन सुगर, ट्याब्लेट, कोकिन, कोरेक्सलगायतका लागूऔषधहरु प्रयोग हुने गरेका छन्,’ उनले भने, ‘बढी प्रयोग हुने स्थान, उत्पादन हुने क्षेत्र र भित्रिने नाकाहरूलाई केन्द्रमा राखेर यो अभियानको सुरुवात गरेका हौँ।’

प्रहरीले लागूऔषध प्रयोगकर्ताहरू गाउँभन्दा सहरमा धेरै भए पनि अहिले गाउँ गाउँसम्म लागूऔषध पुग्ने गरेको देखिन्छ। ‘कर्णालीमा विशेषगरी प्रदेश राजधानी वीरेन्द्रनगर, कर्णाली भित्रिने मुख्य नाका भेरीगंगा, दैलेखको नारायण र दुल्लु नगरपालिका, सल्यानको शारदा, जाजरकोटको भेरी, रुकुम पश्चिमको मुसिकोट र चौरजहारी, कालिकोटको खाडाचक्र र तिलागुफा, जुम्लाको चन्दननाथm राराको छायानाथ रारा नगरपालिकामा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या अधिक छ ।

‘पहिलो चरणमा लागूऔषधको धेरै कारोबार र प्रयोग हुने जिल्ला, पालिका, वडा, टोल, कलेज र विद्यालयहरूमा लालटिन समूह गठन गरेका छौँ, यसको सकारात्मक प्रभाव पनि देखिन थालेको छ,’ डिआइजी ढकालले भने, ‘यो अभियानलाई कर्णालीका सबै टोलटोल र विद्यालय तहसम्म पुर्‍याउने लक्ष्य छ ।’

प्रहरीले यो अवधिमा सुर्खेत र जाजरकोटबाहेक कर्णालीका आठ जिल्लामा लागूऔषधविरुद्ध जिल्ला समन्वय लालटिन समूह, चार नगरपालिका, आठ गाउँपालिकामा गाउँ/नगर लालटिन समूह, ८६ वडा, १३ टोल, एक कलेज र १६ विद्यालयमा लागूऔषधविरुद्ध लालटिन समूह गठन गरिसकेको छ। 

प्रहरीले लागूऔषधको बढी प्रभाव रहेका टोल, वडा र पालिकाबाट युवाहरूलाई छनोट गरेर लागूऔषधविरुद्ध प्रशिक्षण दिने तयारी थालेको छ । ‘टोल, वडा र पालिकाबाट छनोट गरिएका युवाहरूलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयले प्रशिक्षक–प्रशिक्षण तालिम दिने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘प्रशिक्षण दिइएका युवाहरूले आफ्नो गाउँ, टोल र पालिकामा लागूऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन्।’

प्रकाशित: १ पुस २०८० ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App