७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

जोखिम न्यूनीकरणका लागि जुम्लामा विपद् पूर्वतयारी अभ्यास

सामुदायिक विपद् कार्य अभ्यास गराउँदै नेपाली सेना। तस्बिर : नागरिक

जुम्लास्थित नेपाली सेनाले पातारासी गाउँपालिका-४ डिल्लीचौरमा चारदिने सामुदायिक विपद् अभ्यास सञ्चालन गरेको छ। 

सेनाले हरेक स्थानीय तहमा सामुदायिक विपद् कार्य अभ्यास गर्दै आएको नन्दबक्स गण जुम्लाका गणपति सुमन श्रेष्ठले बताए।

नमुना अभ्यास मंगलबारदेखि सुरू भएको हो। आगलागी, भूकम्प, बाढी, डुबानजस्ता विपद्मा, विपद्को दौरान र विपद्पश्चात् कसरी सर्वसाधारणको उद्धार गर्ने भन्ने विषयमा अभ्यास भइरहेको उनले बताए। सेनाले स्थानीय बासिन्दालाई प्रकोपबाट बच्ने उपायबारेमा पनि जानकारी गराउँदै आएको उनको भनाइ छ।

जुनसुकै विपदमा पनि अग्रस्थानमा हुनुपर्ने विषयलाई मध्यनजर गर्दै सेनाले बाढी, पहिरो, आगलागीलगायत विपत्‌बाट बचाउन ‘डेमो’ प्रदर्शन गरेको हाे।

सेनाका गणपति श्रेष्ठ भन्छन् ‘यस्ता अभ्यासले विपदमा परेका नागरिकको जीउधनको सुरक्षामा ठूलो मद्दत पुर्‍याउने छ। विपद् कसैलाई सोधेर नआउने भएकाले सबैले सावधानी अपनाउन जरुरी छ। त्यसैका लागि यो अभ्यास गरिएको हो।’

गाउँमा हुने विपद्का घटनामा स्थानीय सरकार सबैभन्दा पहिले खट्नुपर्ने भएकाले आवश्यक पर्ने तालिम र स्रोतसाधनका बारेमा जानकारी गराउन खोजिएको गणपति बताउँछन्। यसअघि जुम्लाको अन्य गाउँपालिकामा नमुना अभ्यास गरिसकिएको छ। विपद् परेको अवस्थामा समुदायका जनतालाई नै घाइतेको उद्धार गर्न दक्ष बनाउने उद्देश्यले प्रत्येक स्थानीय तहमा विपद् प्रतिकार्य तालिम आयोजना हुँदै आइरहेको छ। नन्दबक्स गणले चारवटा विपद्का घटनालाई प्राथमिकतामा राखेर सामुदायिक विपद् प्रतिकार्य तालिम दिँदै आएको छ।

पहिलो दिन सडक दुर्घटनाका घाइतेलाई उद्धार, दोस्रो दिन आगलागी नियन्त्रण, तेस्रो दिन भूकम्पका घाइतेको उद्धार, खोंचमा खसेका घाइतेको उद्धार र चौथो दिन बाढी–पहिरोले बगाएका घाइतेलाई उद्धारका बारेमा अभ्यास गराइएको थियो ।

प्रकाशित: ३० मंसिर २०८० १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App