१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

चिसोले रित्तिंदै हिमाली बस्ती

मनाङ र मुस्ताङको तापक्रम माइनस १७ र १२ डिग्री

करिब दुई साताअघि हिमपातले सेताम्य हिमाली जिल्ला मनाङको मनाङ गाउँ। हिमपातसँगै मनाङमा चिसो ह्वात्तै बढेको छ।तस्बिर सौजन्य: विनोद गुरुङ

चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन्। चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन्।

तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानीसमेत जम्न थालेको छ। चिसोले जमेपछि पाइपको धारामा पानी आउन छाडेको छ। हिमाली जिल्ला मनाङमा रातिको तापक्रम माइनस १७ डिग्रीसम्म ओर्लेको छ।  

मनाङ सदरमुकाम चामेसमेत यतिबेला सुनसान बन्दै गएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार अहिले सदरमुकाम चामेको तापक्रम रातिको समयमा माइनस १७ डिग्रीमा झर्ने गरेको छ। दिउँसोमा भने तापक्रम शून्यमा झरेको छ।

‘चिसो अधिक बढेको छ। रातिको तापक्रम माइनस १७ डिग्रीमा झर्ने गर्छ,’ लामिछानेले भने, ‘दिउँसोमा भने केही न्यानो हुन्छ। दिउँसोको समयमा घाम लाग्दा केही न्यानो त हुन्छ तर लामो समय घाम लाग्दैन।’

उनका अनुसार मुहानमा जमेपछि पाइपबाट पानी आउनै छाडेको छ। ‘मंसिरको तेस्रो साता हिउँ परेपछि चिसो बढेको हो। पानी पनि जम्न थालेको हो। मुहानमै पानी जमेपछि पाइपबाट आउनै पाउँदैन,’ लामिछानेले भने, ‘यो बेला हिउँ त परेको छैन। तर चिसो भने अधिक नै छ। पानी जमेपछि बरफ नै पगाल्नुपर्ने अवस्था आउँछ। दिनमा घाम लागेका बेला पानी केही आउँछ।’

अबका चार महिना हिमाली जिल्लाको बसोबास कष्टकर बन्ने उनले बताए।

प्रजिअ लामिछानेका अनुसार चिसोका कारण ठाउँठाउँको पानी जमेकाले गाडी चल्न पनि मुस्किल हुने गरेको छ। बरफमा चिप्लिएर गाडी उक्लिन पनि सक्ने अवस्था नरहेको उनले बताए। ‘जनजीवन प्रभावित भएको छ। चिसोका कारण सदरमुकाम नै सुनसान बनेको छ,’ उनले भने, ‘सदरमुकामका स्थानीय पनि बसाइ सरेर सहरतिर झर्न थालेका छन्।’

पोखरा, लमजुङ, चितवन काठमाडौंलगायत सहरमा गाउँलेहरू बसाइँ सर्छन्। चिसो कम भएपछि बल्ल गाउँलेहरू घर फर्किन थाल्छन्। फागुनपछि बल्ल गाउँलेहरू घर फिर्न थाल्ने उनले बताए।

चिसो बढेपछि पर्यटकीय गतिविधि पनि कम भएका छन्। पर्यटकहरू फाट्टफुट्ट उक्ले पनि उच्च भेगमा नपठाउन र सचेत भएर पदयात्रा गर्न अनुरोध गरेको पनि प्रजिअ लामिछानेले बताए। ‘अप्ठेरो परे उद्धारमा जान पनि कठिन छ। किनभने उच्च भेगमा रहेका प्रहरी पनि सदरमुकाम फर्किसकेका छन्। गाउँलेहरू पनि घरमा छैनन्। त्यही भएर सचेत बनाएका छौं,’ उनले भने।

हिउँमा रमाउने भन्दै उच्च भेगमा उक्लिँदा जोखिम हुन सक्ने भएकाले सचेत बनाएको उनले बताए। प्रजिअ लामिछानेका अनुसार माथिल्लो भेगका प्रहरी चौकीलाई पनि सदरमुकाम चामे झारिएको छ। थप चिसो भए अरू चौकी पनि सदरमुकाम झार्ने प्रजिअ लामिछानेले बताए।

मनाङको माथिल्लो भेग नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार गाउँलेहरू धमाधम अस्थायी बसाइँ सरिरहेका छन्। अहिले माथिल्लो भेगको तापक्रम रातिको समयमा माइनस १६ र दिउँसोको समयमा पनि माइनस ५ डिग्रीको हाराहाीमा छ। 

यो बेला चिसो बढिसकेको छ। चिसो बढेपछि गाउँलेहरू जाडो छल्न तल झरिरहेका छन्। गाउँमा पशु गोठाला र केही बलिया युवा मात्र छन्,’ लामाले भने, ‘अधिक चिसो हुने भएकाले गाउँलेको बसाइ केही महिना सहरमा हुन्छ। चिसो भएपछि माथिल्लो भेगको दैनिकी पनि सुनसान बनेको छ।’

चिसो बढेपछि नार्पा भूमि गाउँपालिकाको कार्यालय पनि अस्थायी रूपमा सदरमुकाम चामेबाट सञ्चालन गरिएको छ। गाउँपालिकाका सबै वडा सदरमुकाम चामेबाट सञ्चालित छन्। गाउँमा बस्ने मान्छे नै कम भएपछि गाउँपालिकाको काम पनि कम हुने गरेको उनले बताए।

‘फागुनको मध्यसम्मको बसाइ सकसपूर्ण हुन्छ। यो बेला पानी पनि जमेको छ। हिउँ पगालेर पानीको जोहो गर्ने हो। दिउँसोको समयमा घाम लागेको बेलामा पनि पानी भर्ने हो,’ उनले भने, ‘घरभित्रै भाँडोमा राखेको पानी पनि अधिक चिसो हुने गर्छ।’

चिसो बढेपछि विद्यालय पनि अस्थायी रूपमा सहर झारिएको छ। उनका अनुसार गाउँपालिकाका आधाजति बासिन्दा चिसो छल्न सहर झरिसकेका छन् भने बाँकी पनि केही दिनमा झर्नेछन्।

अर्काे हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेगको अवस्था पनि उत्तिकै सकसपूर्ण बन्दै गएको छ। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्बु गुरुङका अनुसार लोमान्थाङको तापक्रम रातमा माइनस १२ र दिनमा माइनस ७ डिग्रीमा झर्ने गरेको छ।

‘७० प्रतिशत गाउँले जाडो छल्न सहर झरिसकेका छन्। बाँकी ३० प्रतिशत मात्र होलान्। उनीहरूमध्ये अझै केही गाउँले तल झर्नेछन्,’ गुरुङले भने, ‘माथिल्लो भेग पुरै सुनसान बनेको छ। दैनिकी पनि सुनसान बनेको छ। पर्यटकीय गतिविधि पनि सुस्ताएका छन्।’ पशुको रेखदेख गर्न गोठाला मात्र घरमा बसेको उनले बताए।

प्रकाशित: ३० मंसिर २०८० ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App