चितवन – जाडो छल्न पानीमा आश्रित चरा साइबेरियाजस्ता चिसा ठाउँबाट हिउँदको समयमा नेपालका नदी, खोला, पोखरी, तालतलैया र सिमसार क्षेत्रमा आउँछन् । बासस्थान राम्रो भएमा र पानीमा माछा, कीरा फट्यांग्रा र लेउ तथा झ्याउजस्ता आहारा प्रशस्त भएमा उनीहरु हिमालय शृंखलासमेत पार गरेर नेपाल आउने हुन्।
मानव चाप नबढे चराको बासस्थान सुरक्षित हुन्छ । प्रदूषणको मार नपरेको खोला र नदीमा माछालगायतका आहारा हुन्छन् । त्यसैले हिमाल नाघेर नेपाल आउने चराले यहाँको वातावरणको अवस्थाबारे संकेत गरिरहेका हुन्छन् । चराहरु केकति आउँछन् भन्ने जानकारी लिन जनवरी ६ देखि २१ सम्म नेपालमा पनि पानी चरा गणना हुने गर्छ । यसपटक चितवन निकुञ्जको राप्ती क्षेत्रमा भएको गणनामा सन्तोषजनक अवस्था देखिएन।
जलस्रोतमा प्रदूषण तथा मानव चाप बढ्दै जाँदा वातावरण चराका लागि प्रतिकूल बन्दै जान्छ र तिनको संख्या पातलिन थाल्छ।
चितवन निकुञ्जको पूर्वी र पश्चिमी सेक्टरमा छुट्टाछुट्टै टोलीले चरा गणना गर्छ । पूर्वी सेक्टरमा राप्ती नदी, ढुङ्ग्रे खोला, बुढी रापती खोलालगायत निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रका तालतलैया, सिमसार र निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाहिरका सम्भावित स्थानमा चरा गणना भएको थियो । त्यस क्रममा ४८ प्रजातिका पानी चरा फेला परेको गणनामा संलग्न बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष बासु बिडारीले जानकारी दिए।
‘गत वर्ष ५४ प्रजातिका पानी चरा फेला परेकोमा यसपटक छवटा प्रजाति देखिएनन्’, चराविद् बिडारीले भने । सिन्दुरे हाँस, फुर्के हाँस, हरी हाँस, सुइरोपुच्छ«े हाँस, सुनचोरे हाँसजस्ता पानी चराका प्रजाति यसपटक देखा नपरेको उनले बताए । गत वर्ष नदेखिएको कमन सेल्ट डक यसपटक देखिएको उनले बताए । चितवनमा तीन वर्षपछि यो चरा फेला परेको उनको भनाइ छ।
नदी प्रदूषण र मानव चापको असर
प्रजातिमात्रै होइन, यसपटक चराको संख्या पनि कम भएको बिडारीले बताए । यो वर्षको गणनामा पानी चरा पाँच हजार ५ सय ७६ वटा फेला गरे । अघिल्लो वर्ष छ हजारभन्दा धेरै भेटिएको उनको भनाइ छ । प्रदूषण र नदी आसपासमा मानव चाप बढेका कारण नै यसो चराको संख्या कम भएको बिडारीले बताए । खेतीपातीमा विषादी प्रयोग बढेका कारण पनि चरालाई समस्या परेको उनको भनाइ छ।
‘अहिले पनि जहाँ मान्छेको कम चाप छ, प्रदूषणको मार खासै छैन, त्यहाँ चराको संख्या राम्रै देखियो’, बिडारीले भने । यसपटक चितवनमा भएको चरा गणनामा प्रख्यात बेलयती चरा विज्ञ क्यारोल इन्स्किप पनि दुई दिन हिँडिन् । सुरुको दिन उनी निकै खुसी देखिएकी थिइन् । त्यो दिन चितवनको लोथर हुँदै सौराहासम्मको राप्ती नदीमा पानी चरा गणना भएको थियो । त्यस क्षेत्रमा चरा र गोहीको संख्या उल्लेख्य थियो । चितवनमा राप्ती नदीको लोथर कुचकुचेदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म दुई दिन लगाएर चरा गणना भएको थियो । लोथरदेखि सौराहासम्म राप्ती नदीवरपर बस्ती पनि कमै छ । नदीको पानी प्रदूषण हुने सम्भावना पनि कम नै छ । त्यसैले त्यहाँ चरा प्रशस्तै पाइए । भोलिपल्ट सौराहादेखि कसरासम्म जाँदा चरा खासै देखिएनन्।
राप्ती नदीका साथै बुढी रापती र ढुंग्रे खोला अनि निकुञ्जभित्रका लामिताल, तमोर ताल, गरुडा ताल, मध्यवर्ती क्षेत्रका २० हजारी ताल र बाटुली ताल तथा भण्डाराको मत्स्य विकास केन्द्रमा पानी चरा गणना भएको थियो । गणनामा ४० जना खटेका थिए। तालमा पनि जहाँ मान्छेको आवतजावत कम छ, फोहर कम छ, त्यहाँ नै धेरै चरा भेटिएको बिडारीले जानकारी दिए।
‘बाटुली ताल नयाँ हो । त्यहाँ मान्छे पनि खासै ओहोरदोहोर गर्दैनन् । प्रदूषण पनि छैन त्यसैले त्यहाँ प्रसस्त चराहरु भेटिए । सिलसिले हाँस त्यहीं मात्रै चार सय पाँचवटा भेटिए । अन्यत्र भने जम्मा पाँचवटा भेटिए । त्यसैले प्रदूषण र मानवको चाप नै चरा कम हुनुको कारण हो’, बिडारीले भने।
यस पटक चखेवाचखेवी सबैभन्दा धेरै भेटिएको बिडारीले जानकारी दिए । ‘चखेवाचखेवी जहाँत्यहीं हुन्छन् । यी चरा नै सधैं सबैभन्दा धेरै भेटिन्छन् । यो वर्ष हामीले गणना गरेको क्षेत्रमा दुई हजार ८ सय ४९ वटा चखेवाचखेवी फेला परे । यो संख्या अघिल्लो वर्षको भन्दा पनि धेरै हो’, बिडारीले भने । अघिल्लो वर्ष २४ सयको हाराहारीमा चखेवा भेटिएका थिए ।
प्रकाशित: ९ माघ २०७४ ०२:०९ मंगलबार