१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्थानीय तहमा दमकल छैन तर, जनप्रतिनिधिलाई महँगा गाडी

विपद् व्यवस्थापन समिति बैठकमा सहभागीहरू। तस्बिर : अनिल भण्डारी

झन्डै तीन साताअघि सिन्धुलीको फिक्कल गाउँपालिकामा आगलागी हुँदा निभाउने क्रममा घाइते भएका एक स्थानीयको उपचारकै क्रममा मृत्यु भयो। फिक्कल गाउँपालिका २ डाङ्सेमा गत मंसिर ४ मा स्थानीय ५५ वर्षीय रामजी बोगटीको घरको छानो भएको गोठमा आगलागी भएको थियो। आगोमा परी बोगटी गम्भीर घाइते भएका थिए।

घाइते बोगटीको मंसिर २७ मा उपचारकै क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यो एउटा उदाहरण हो। यस्ता घटना जिल्लामा बर्सेनि दर्जनौं संख्यामा हुने गरेका छन्। मानवीय क्षति कमै भए पनि धनमाल र पशु चौपायाको क्षति तीव्र छ।

जिल्लामा दैनिक आगलागीका घटना हुन्छन्, तर पनि स्थानीय तहमध्ये दुई नगरपालिकाबाहेक अन्य स्थानीय तहमा आगो निभाउने वारुणयन्त्र दमकल छैन। देश संघीयतामा गएसँगै स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको सात वर्ष पुग्न थाल्यो। तर पनि जनताले स्थानीय सरकारको अनुभूति गर्न पाएका छैनन्।

स्थानीय सरकारको अनुभूति होला भन्ने जनअपेक्षा पूरा हुन सकेको छैन। जिल्लाका सबै पालिकामा प्रमुख र उपप्रमुखलाई सुविधासम्पन्न महँगा गाडीको व्यवस्था छ। धेरै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई समेत सवारी छ। वडाध्यक्षहरूलाई हेभी मोटसाइकल छन्।

विभिन्न आश्वासन बाँडेर निर्वाचनमा होमिएका जनप्रतिनिधिले विपद् पर्दा चाहिने आवश्यक सामग्रीसमेत खरिद गरेको पाइएको छैन। सिन्धुलीका सातवटा पालिकामा दमकल खरिद भएको छैन। गत आर्थिक वर्षमा गोलञ्जोर गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षलाई झन्डै करोड खर्च गरेर दुईवटा गाडी खरिद गर्‍यो, तर जनताका अत्यावश्यक सामग्री खरिदमा ध्यान नदिएको स्थानीय बताउँछन्।

सिन्धुली उद्योग वाणिज्य संघले अत्याधुनिक दमकल खरिद गर्न महोत्सव लगाएको थियो। कमलामाई नगरपालिकाले ३० लाख, मरिण र हरिहरपुरगढी गाउँपालिकाले पाँच लाख र तीनपाटन गाउँपालिकाले दुई लाख ५० हजार दिए पनि अन्य पालिकाले हालसम्म दमकल खरिदलाई बजेट नदिएकोमा विपद् व्यवस्थापन समितिको बैठकमै उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले आक्रोश पोखे।

‘हामीले हाम्रा लागि पैसा मागेका होइनौं, जिल्लामै सुविधासम्पन्न दमकल खरिदका लागि सबै स्थानीय तहसँग अनुरोध गरेका थियौं, तर धेरैले बजेट दिन हिच्किचाएको पाइयो’, उनले भने, ‘विपद् जुनसुकै समयमा आउन सक्छ भन्ने स्थानीय सरकारले बुझ्नुपर्छ।

जनप्रतिनिधिका लागि करोडौं खर्च हुने गरेको छ, तर कमलामाई नगरपालिका दुधौली नगरपालिकामा दमकल भए पनि सिन्धुलीका अन्य सात गाउँपालिकामा दमकल छैन।

दुईवटा नगरपालिकाबाहेक अन्य पालिकामा हालसम्म दमकल खरिद गरेको पाइएको छैन, प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले भनिन्, ‘हामीले सबै पालिकामा विपद्मा आवश्यक सामग्री खरिद गरेर तयारी रहनुस् भनेका छौं।’

जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकामा आफूखुसी सुविधा प्रयोग गर्ने बेतिथि बढेको छ। सवारीको दुरुपायोग तीव्र रूपमा हँुदै गएको भए पनि त्यसको नियन्त्रणतर्फ कसैको ध्यान गएको छैन। अत्यावश्यक सवारी साधनभन्दा बढी सुविधाका लागि महँगा स्कार्पियो खरिद गरी जनप्रतिनिधिले मस्ती गरेका छन्।

जनप्रतिनिधिहरूले आफूहरू निर्वाचित भएपछि जनताको मुहार फेर्ने तथा आफ्नो क्षेत्रलाई कायापलट बनाउने आश्वासन बाँड्ने तर सुविधा उपभोगमै वर्षौं बिताउने गर्दा जनता निराश हुँदै गएको स्थानीयको भनाइ छ। सिन्धुलीका ९ वटा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले भ्रमण भत्ता मात्रै करोडौं विनियोजन गरी खर्च गरेको सर्वसाधारणको आरोप छ।

प्रकाशित: २९ मंसिर २०८० ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App