१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

श्रमिक कल्याण कोषको रकम वैदेशिक रोजगार विभागको सफ्टवेयरमा खर्च

वैदेशिक रोजगारीमा रहेका र फर्केका श्रमिकका निम्ति मात्र खर्च गरिने कल्याणकारी कोषको रकम अन्यत्र खर्च गर्ने बाटो बनाउँदै गरेको पाइएको छ। श्रमिकसम्बन्धी विभिन्न निकायले वैदेशिक रोजगार विभागको सफ्टवेयर खरिद वा अद्यावधिक गर्ने नाममा १० करोड रूपैयाँ कोषबाट खर्च गर्ने भएपछि त्यसबारे प्रश्न उठेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा हालै भएको वैदेशिक रोजगार बोर्ड बैठकले गरेको निर्णयबाट यस्तो खर्च गर्न लागिएको हो।

कल्याणकारी कोषमा जम्मा भएको रकम वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु भए, बिरामी तथा अंगभंग र स्वास्थ्य उपचार तथा अन्य कार्यमा आर्थिक सहायताका लागि प्रदान गर्नुपर्ने कानुनी व्यवस्था छ। तर उक्त व्यवस्थाविपरीत विभागको सफ्टवेयरमा खर्च गर्नुलाई कोषको रकम दुरूपयोगका रूपमा लिइएको छ। वैदेशिक रोजगार संघ, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डको सफ्टवेयर खरिद वा अद्यावधिक के हो भन्नेमा समेत प्रस्ट पारिएको छैन।

बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीका अनुसार विभागमा रहेको सफ्टवेयर ‘अपडेट’ मात्र गर्ने हो। संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार विभागमा रहेको सफ्टवेयर ‘पुरानो भएको हुदाँ नयाँ भर्सनको ल्याउने’ हो।

त्यस्तै विभागका सूचना अधिकारी भन्छन्, ‘बोर्डबाट आएको १० करोडबाट पुरानो सफ्टवेयर मर्मत पनि हुन सक्छ, अपडेट पनि हुन सक्छ र नयाँ पनि किन्न सकिन्छ।’

यसरी श्रम मन्त्रालय अन्तर्गतका तीन निकायका फरकफरक धार रहेको देखिन्छ। कल्याणकारी कोषको १० करोड रकम विभागको सफ्टवेयरको कुनकुन पक्षका निम्ति खर्च हुन लागेको हो भन्नेमा उनीहरू नै अन्योलग्रस्त छन्।

बोर्डका कार्यकारी निर्देशक उप्रेतीले भने, ‘विभागको सफ्टवेयर अपडेट गर्ने कुरा हो। त्यो सफ्टवेयर धेरै वर्ष अगाडिको भएकाले अलि पुरानो भर्जनको भयो,’ उनले भने, ‘त्यसैले विभागको सफ्टवेयरलाई अपडेट गर्नुपर्ने भएकाले बोर्डबाट १० करोड बजेट छुट्याइएको हो। सफ्टवेयरलाई अपडेट गर्न प्रक्रियाअनुसार विभागलाई पत्र लेखिसकेको छौं। अब विभागले त्यो प्रक्रियालाई अगाडि बढाउँछ।’

उनले थपे, ‘जो विदेश जाँदै हुनुहुन्छ, उहाँहरूकै लागि प्रयोग हुने सफ्टवेयर भएकाले कल्याणकारी कोषको पैसा चलाउन मिल्छ। कल्याणकारी कोषको रकम वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि नै खर्च गर्ने हो। श्रमिककै हितका लागि भनेर त्यो विभागको सफ्टवेयर अपडेट गर्न लागिएको हो।’

वैदेशिक रोजगार संघका राजेन्द्र भण्डारीका अनुसार सरकारले प्रत्येक वर्ष बजेट छुट्याउने गरेको थियो। तर यसपालि सरकारले बजेट छुट्याएको छैन। ‘मन्त्रालयमा बजेट नभएरै होला। कल्याणकारी कोषबाट विभागको सफ्टवेयरका लागि रकम छुट्याइएको हो,’ उनले भने, ‘पुरानो सफ्टवेयर काम नलाग्ने भएको छ। त्यसैले हाई भर्जनको नयाँ सफ्टवेयर किन्न लागेको हो। त्यही सफ्टवेयरलाई अपडेट भने गर्ने होइन। त्यो कल्याणकारी कोषको पैसा कामदारकै हो। तर त्यो सफ्टवेयर पनि कामदारकै लागि त हो नि ! पहिलो प्राथमिकता कामदारलाई नै दिने हो।’ उनले थपे, ‘श्रमिकका लागि अनलाइनमार्फत नै सबै काम हुन्छ। यो पुरानो सफ्टवेयरले गर्दा काम समयमा नै नहुने।’

पुरानो सफ्टवेयरद्वारा काम गर्नुपरेको हुँदा धेरै बन्द हुने भएकाले बलियो तथा नयाँ भर्जनको सफ्टवेयर हाल्न निर्णय भएको उनले बताए। विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार वैदेशिक रोजगार विभागले सेवा प्रवाह गर्ने भनेकै श्रमिकलाई नै हो। श्रमिककै हितमा यो खर्च गर्ने हो।

‘विभागबाट करोडौं पैसा बोर्डमा जान्छन्। म्यानपावर व्यवसायीको धरौटी रकम र म्यानपावरहरूको नवीकरण गरेको पैसा सबै कल्याणकारी कोषमा जाने हो। त्यसैले पनि कल्याणकारी कोषको रकम यहाँको सफ्टवेयरलाई खर्च गर्न लागेका हौं,’ उनले भने।

वैदेशिक रोजगार ऐनको दफा ३२ मा वैदेशिक रोजगारीमा गएका तथा वैदेशिक रोजगारबाट फर्किआएका कामदार तथा परिवारको सामाजिक सुरक्षा तथा कल्याणका लागि कोषको स्थापना गरिएको उल्लेख छ।

वैदेशिक रोजगार कल्याणकारी कोषसम्बन्धी व्यवस्था गरेको वैदेशिक रोजगार ऐन, २०७६ को दफा ३३ मा कोषको रकम नितान्त श्रमिकका लागि मात्रै खर्च गरिने स्पष्ट व्यवस्था छ।

बोर्डको कल्याणकारी कोषले हालसम्म ५ अर्ब ५१ करोड २९ लाख ६० हजार ३१७ रूपैयाँ विभिन्न सहायता शीर्षकमा खर्च गरेको छ। त्यसबाट बाँकी रकम हाल वैदेशिक रोजगारीमा रहेका श्रमिकको कल्याणकारी कोषमा ५ अर्ब ३५ करोडभन्दा बढी छ। त्यही बाँकी १० करोड रूपैयाँ विभागको सफ्टवेयरलाई खर्च गर्ने निर्णय गरिएको दाबी छ।

वैदेशिक रोजगार विभागले सफ्टवेयरका लागि खर्च गर्नु भनेको श्रमिकको कल्याणकारी कोषको सदुपयोग नभएको जानकारहरूले बताएका छन्। सरकारले बजेट नदिएको भन्दै बोर्ड सञ्चालक समितिले सफ्टवेयर मर्मत गर्न कोषबाट १० करोड विभागलाई दिने निर्णय गरेको छ।

वैदेशिक रोजगारबाट फर्केका कामदारका लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न, रोजगारका लागि विदेश गएको अवस्थामा मृत्यु भएका कामदारको शव नेपाल ल्याउन र निजको परिवारलाई आर्थिक सहयोग गर्न, वैदेशिक रोजगार प्रवद्र्धनसम्बन्धी कार्य गर्न कोषको रकम प्रयोग गरिने ऐनमा उल्लेख छ।

त्यस्तै कामदारको अंगभंग भई स्वदेश फिर्ता गराउँदा, वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्न, क्षतिपूर्ति दिन र फिर्ता आएका श्रमिकको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न कोषको रकम प्रयोग गर्ने उल्लेख छ।

त्यति मात्र होइन, रोजगारका लागि विदेश गएको अवस्थामा गम्भीर प्रकृतिको फौजदारी कसुर अभियोग लागे प्रतिरक्षा तथा बहस पैरवी गर्न, वैदेशिक रोजगारमा जाने कामदारको अधिकार र सम्भावित जोखिमबारे प्रचारप्रसार गर्न कोषको रकम खर्च गर्ने हो।

हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १२ हजार ७३० जना कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट ४ अर्ब ९३ करोड ६६ लाख ६९ हजार रूपैयाँ प्रदान गरिएको छ।

वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु, छात्रवृत्ति, अंगभंग बिरामीको अवस्था हेरेर बोर्डले कल्याणकारी कोषबाट आर्थिक सहायता प्रदान गर्ने गरेको छ। हालसम्म बिरामी तथा अंगभंग भएका कामदारलाई ६५ करोड १३ लाख ६५ हजार ३ सय १७ रूपैयाँ बोर्डले कल्याणकारी कोषबाट खर्च गरेको छ।

प्रकाशित: २९ मंसिर २०८० ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App