हतोभागी पानीजहाज होऊन् या जानाजान डुबाइएका, तिनले एउटा गज्जबको काम गरिरहेका छन्। तिनले विभिन्न जलचरलाई संरक्षण गरिरहेका छन्। संसारभर सामुद्रिक भोजनको माग बढ्दै जाँदा टाढाटाढा गएर जलचरको शिकार गर्ने दबाब पनि बढ्दै जान थालेको छ। जति जति सामुद्रिक माछा वा अन्य जीवको माग बढ्दै जान्छ, त्यतित्यति गहिरो ठाउँमा गएर बढीभन्दा बढी माछा वा अन्य जीव पक्रने क्रम बढ्छ।
यसरी पक्रंदा अवाञ्छित वा अनिच्छित जन्तुहरू पनि जालमा पर्छन्। तिनले न त मान्छेको आहारा बन्ने अवसर पाउँछन् न त खुला रूपमा विचरण गर्न पाउँछन्। बिनाकारण तिनको ज्यान जान्छ। समुद्रमा यसरी हरेक दिन क्विन्टलका क्विन्टल अनिच्छित जन्तु मरिरहेका हुन्छन्।
यस्तो अवस्थामा समुद्रमा डुबेका पानीजहाज संकटापन्न जलचरको लुक्ने, आफ्ना सन्तान हुर्काउने र आकस्मिक समस्याबाट जुने ठाउँ बन्न पुगेको एउटा अध्ययनमा देखिएको छ। यस्तो किन हुन्छ त? कसरी डुबेका पानीजहाज जलचर बच्ने ठाउँ भइरहेको छ त? अध्येताहरू भन्छन्, ‘प्रायः जलचरको शिकार गर्न आएका शिकारी पानीजहाजहरू डुबेका पानीजहाज बरपर जान रुचाउँदैनन्।’
बेलायतको प्लाइमाउथ विश्वविद्यालयकी अध्येता जेनिफर हिकम्यान र उनको टोलीले स्कटल्याण्डको पूर्वी किनारस्थित समुद्रमा डुबेका पाँच वटा ठूला पानीजहाजमा आश्रित साना जीवहरूको अध्ययनबाट सो निष्कर्षमा पुगेको हो।
सामान्य समुद्र र पानी जहाजको चिहान भएका समुद्र वरपर सामुद्रिक जीवहरू हुर्कने र फैलने प्रतिशत निकै बृहद् देखिएको जेनिफर बताउँछिन्। पानीजहाज वरपर २४० प्रतिशत बढी जनावरहरू पन्पिएको उनले पाएकी छन्। रोचक त के छ भने माछा मार्न प्रतिबन्ध लगाइएका ठाउँभन्दा यस्ता पानीजहाजको चिहानतिर बढी जन्तु पाइएको थियो। जेनिफर भन्छिन्,‘यदि साँच्चिकै हामी जलचरप्रति गम्भीर छौं, तिनको रक्षाका लागि सचेत छौं भने बढीभन्दा बढी जहाज डुबाउनु जरुरी छ।’
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: २८ मंसिर २०८० ०५:५१ बिहीबार