१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘रुकुममा न्याय भयो, मेरा छोराले कहिले पाउला ?’

काभ्रेका अजित मिजार मृत्यु प्रकरण

काभ्रे पाँचखालकी काली मिजार मन भुलाउन कहिले साथीसँगीसँग जंगल जान्छिन्, कहिले घरमै नातिनातिनी हेरेर दिन कटाउँछिन्। यति नगरे उनलाई सात वर्षअघि मारिएका कान्छा छोराको पीडाले घेरिरहन्छ। अन्तरजातीय प्रेम सम्बन्धका कारण मारिएका १८ वर्षीय अजितकी आमा कालीको दैनिकी हो यो। छोरा सम्झिँदा उनको मन थामिँदैन।

अजितकी आमा काली मिजार

काभ्रे पाँचखाल–६, होक्सेका १८ वर्षीय अजितको शव २०७३ असार ३० गते धादिङको गजुरीमा प्रहरीले फेला पारेपछि बेवारिस भन्दै गाडेको थियो। सामाजिक सञ्जालमा मृत छोराको फोटो देखेपछि साउन १ गते राति परिवारका सदस्य गजुरी पुगेका थिए। परिवारले शव मागेपछि प्रहरीले गाडेको शव झिकी साउन २ मा आफन्तलाई बुझाएको थियो। शव पाएपछि परिवारले पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपताल महाराजगन्ज ल्याएका थिए। 

अजितको पोस्टमार्टम पनि भयो तर परिवारका सदस्यले छोराको हत्याको भएको दाबी गर्दै हत्यारालाई कानुनको दायरामा नल्याएसम्म शव नबुझ्ने अडान राखे। अजितको शव अहिलेसम्म त्रिवि शिक्षण अस्पतालको शवगृहमा छ। परिवारले हत्यारा पत्ता लगाउन धादिङ जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए। 

किटानी जाहेरीमा अजितको हत्यामा सम्झना पराजुली, टेकबहादुर पराजुली र ध्रुव पराजुली संलग्न भएको दाबी गरिएको छ।

अजितले २०७३ असार २७ गते पाँचखालस्थ्ति सर्वमंगले उच्च माविमा अध्ययनरत पराजुली थरकी युवतीसँग पे्रम विवाह गरेका थिए। विवाहकै दुई दिनपछि २९ गते नवविवाहित जोडीलाई केटी पक्षको उजुरीका आधारमा प्रहरी चौकीमा लगियो। केटी पक्षले उमेर नपुगीकन छोरीलाई भगाएर जबर्जस्ती बिहे गरेको आरोप अजितमाथि लगाएको थियो। त्यसपछि केटीका आफन्तले प्रहरीको रोहबरमा अजितबाट छुटाएर ती युवतीलाई लगेका थिए। 

अजितलाई केही समय चौकीमा राखेर छाडियो। अर्को दिन अजितलाई अपरिचित व्यक्तिहरूले फोन गरे। फोनमा अजितलाई केटीसँग भेटाइदिने भनिएको थियो। त्यही फोनका आधारमा अजित केटीलाई भेट्न गए। त्यसपछि बेपत्ता भएका उनको शव असार ३० गते धादिङको गजुरीमा झुन्डिएको अवस्थामा फेला पर्‍यो।

अजितका पिता हरिभक्त ढकाल मिजारले अन्तरजातीय बिहे गरेकै कारण छोराको हत्या गरिएको दाबी गर्दै आएका छन्। केटीसँग भेटाइदिने भनेर बोलाएका मान्छेले नै छोराको हत्या गरेको उनले बताए।

पुत्रवियोगमा तडपिएकी कालीको स्मरणशक्ति पहिलाजस्तै छैन। एकातिर पुत्रवियोग र अर्कोतिर अजितले न्याय नपाउँदा उनको मन कुँडिँदै गएको छ। 

उनको मन समाल्न हरिभक्तले जेठा छोरा दीपेन्द्रको विवाह गरिदिइन्। जेठा छोराका एक छोरी र एक छोरा छन्। ‘आमाकै लागि सानैमा बिहे गरेको हुँ’, दीपेन्द्रल भने, ‘नातिनातिना हेरेर आमाले दिन काट्नुहुन्छ। कहिले मन बहलाउन दिदीबहिनीहरूसित जंगल घाँसदाउरा गर्न पनि जानुहुन्छ।’ 

नागरिकले कालीलाई फोन गरेर ‘कता हुनुहुन्छ’ भनेर सोध्दा उनले भनिन्, ‘सानी नातिनी छ, उसलाई सेकताप गर्न दाउरा बटुल्न जंगल गएकी छु, हजुर को बोल्नु भयो।’ 

कुराकानीका क्रममा उनले छोराको पीडाले धेरै कुरा भुल्न थालेको र छोराका हत्यारालाई कारबाही गर्न दिएको मुद्दा पनि कहाँ पुग्यो आफूलाई थाहा नभएको बताइन्। ‘मलाई कसैले केही भन्दैनन्, खै मुद्दा कहाँ पुग्यो कुन्नि ?’ उनले भनिन्।

तर उनी जातीय आधारमा गरिएको हत्या मुद्दामा एक साताअघि जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसलाबारे भने जानकार रहिछन्। नवराज विकसहित ६ जनाको हत्यामा २४ जनालाई अदालतले सुनाएको जन्मकैद, कैद र जरिवाना फैसलाको समाचार पटक–पटक मोबाइलमा हेरेको उनले बताइन्।

उनले त्यो बेला समाचार मात्र हेरिनन्, सात वर्षअघि अन्तरजातीय पे्रम विवाह गरेकै कारण मारिएका कान्छा छोरा अजितको मुहार सम्झिन्। उनले भनिन् ,‘हाम्रा पनि गाउँले मिलेर अदालत गएका भए मेरो छोराका हत्यारालाई कैद सजाय हुन्थ्यो होला ?’ आइतबार उनका पति हरिभक्त अजितको मुद्दाको पेसी प्रक्रिया बुझ्न सर्वोच्च अदालत पुगेका थिए।

गत असारमा सर्वोच्चले अदालतले २० दिनभित्र जिल्ला अदालत धादिङबाट अजितको मुद्दासँग सम्बन्धित मिसिल झिकाउन आदेश गरेको थियो। तर मिसिल आइपुगेको रहेनछ। ‘अदालतको फोन नम्बर राखेको छु, मिसिल आएपछि पेसी तोकिन्छ होला,’ हरिभक्तले भने।

जिल्ला अदालत धादिङ, पुनरावेदन अदालत पाटन हुँदै अजितको हत्यासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुगेको हो। ‘न्यायाधीशले राम्रोसित सोचेर निर्णय लिए त न्याय मिल्छ भन्ने लागेको छ।’ सर्वोच्च अदालतबाट पनि न्याय मिलेन भने त कहाँ जाने होला भन्ने चिन्ता उनलाई छ। ‘हाम्रो भनसुन गरिदिने ठुला मान्छे कोही छैनन्, खै के हुन्छ’ उनले भने।

सर्वोच्च अदालतमा अजितका बुबा हरिभक्त मिजार

अजितको मुद्दामा बहस गरिरहेका अधिवक्ता मोेहन साशंकरका अनुसार २०७९ सालमा उच्च अदालतल पाटनले आरोपितलाई सफाइ दिएको थियो। त्यसभन्दा अघि जिल्ला अदालत धादिङले पनि आरोपितलाई सफाइ दिएको थियो। 

उच्च अदालतको फैसलामा चित्त नबुझेपछि अजित पक्ष गत वैशाखमा सर्वोच्च अदालतमा पुगेको हो। 

मुद्दा परेपछि सर्वोच्चले असारमा धादिङ जिल्ला अदालतबाट मिसिल झिकाउन आदेश दिएको थियो। अहिलेसम्म मिसिल नआइपुगेकाले पेसीमा ढिलाइ भएको छ। सर्वोच्चबाट अजितले न्याय पाउने विश्वास साशंकरको छ।

सर्वोच्चको फैसलापछि न्याय मिल्ने विश्वासमा मिजार परिवार छ। न्याय मिलेसँगै छोराको दाहसंस्कार गर्ने सोच बनाएको छ परिवारले। अजितको हत्यापछि मिजार परिवारले घरमा कुनै पुजापाठ लगाएको छैन, चाडपर्व मनाएका छैन। 

गत दसैमा पाँच वर्षीय नातिले सोधेको प्रश्नले कालीको मन फेरी थप दुख्यो। नातिले सोधेका थिए, ‘आमा हामीले दसैंमा टीका किन नलगाएको ?’ कालीको मन झन् कुँडियो। ‘अर्को वर्ष लगाउँला नि भनेर नातिलाई भनेकी छु, अर्को वर्षसम्म मेरो छोराले न्याय पाउला कि नपाउला ?’ उनले भनिन्। अजित फर्केर आउँदैनन् भन्ने आमा कालीसँगै परिवारका सबै सदस्यलाई थाहा छ। तर पनि उनीहरू सात वर्षदेखि न्यायको पखाईमा छन्।

प्रकाशित: २८ मंसिर २०८० ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App