७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

चिसोले रित्तिदै हिमाली बस्ती

मनाङको तापक्रम माइनस १७ डिग्रीसम्म ओर्लियो

मनाङमा अघिल्लो वर्ष जमेको खोला। चिसोले अहिले पनि त्यहाँका खोलानाला जमेका छन्। फाइल तस्बिरः नागरिक

चिसोले हिमाली जिल्लाका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन्। चिसो छल्नका लागि गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन्। तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानी समेत जम्न थालेको छ। चिसोले जमेपछि पाइपको धारामा पानी आउन छाडेको छ। हिमाली जिल्लाको रातीको तापक्रम माइनस १७ डिग्रीसम्म ओर्लेको छ।

मनाङ सदरमुकाम चामे समेत यतिबेला सुनसान बन्दै गएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार सदरमुकाम चामेको तापक्रम रातीको समयमा माइनस १७ डिग्रीमा झर्ने गरेको छ। दिउँसोमा भने तापक्रम शून्यमा झरेको छ।

‘चिसो अधिक बढेको छ। रातीको तापक्रम माइनस १७ डिग्रीमा झर्ने गर्छ,’ लामिछानेले भने, ‘दिउँसोमा भने केही न्यानो हुन्छ। दिउँसोको समयमा घाम लाग्दा केही न्यानो त हुन्छ तर, लामो समय घाम लाग्दैन।’

उनका अनुसार तापक्रम ओरालो लाग्दै गर्दा खोलानालाको पानी पनि जम्न थालेको छ। मुहानमा जमेपछि पाइपबाट पानी आउनै छाडेको छ। ‘मंसिरको तेस्रो साता हिउँ परेपछि चिसो बढेको हो। पानी पनि जम्न थालेको हो। मुहानमै पानी जमेपछि पाइपबाट आउनै पाउँदैन,’ लामिछानेले भने, ‘यो बेला हिउँ त परेको छैन। तर, चिसो भने अधिक नै छ। पानी जमेपछि बरफ नै पगाल्नुपर्ने अवस्था आउँछ। दिनमा घाम लागेको बेला पानी केही आउँछ।’ अबका चार महिना हिमाली जिल्लाको बसोबास कष्टकर बन्ने उनले बताए।

प्रजिअ लामिछानेका अनुसार चिसोका कारण ठाउँ ठाउँको पानी जमेकोले गाडी चल्न पनि मुस्किल हुने गरेको छ। बरफमा चिप्लिएर गाडी उक्लिन पनि सक्ने अवस्था नरहेको उनले बताए। 

‘जनजीवन प्रभावित भएको छ। चिसोका कारण सदरमुकाम नै सुनसान बनेको छ,’ उनले भने, ‘सदरमुकामका स्थानीय पनि बसाई सरेर सहरतिर झर्न थालेका छन्।’

पोखरा, लमजुङ, चितवन काठमाडौं लगायतका सहरमा गाउँलेहरू बसाई सर्छन्। चिसो कम भएपछि बल्ल गाउँलेहरू घर फर्किन थाल्छन्। फागुनपछि बल्ल गाउँलेहरू घर फिर्न थाल्ने उनले बताए।

चिसो बढेपछि पर्यटकीय गतिविधि पनि कम भएका छन्। पर्यटकहरु फाट्टफुट्ट उक्ले पनि उच्च भेगमा नपठाउन र सचेत भएर पदयात्रा गर्न अनुरोध गरेको पनि प्रजिअ लामिछानेले बताए। ‘अप्ठेरो परेमा उद्धारमा जान पनि कठिन छ। किनभने उच्च भेगमा रहेका प्रहरी पनि सदरमुकाम फर्किसकेका छन्। गाउँलेहरू पनि घरमा छैनन्। त्यही भएर सचेत बनाएका छौं,’ उनले भने। 

हिउँमा रमाउने भन्दै उच्च भेगमा उक्लिँदा जोखिम हुन सक्ने भएकोले सचेत बनाएको उनले बताए। प्रजिअ लामिछानेका अनुसार माथिल्लो भेगका प्रहरी चौकीलाई पनि सदरमुकाम चामे झारिएको छ। आवश्यक परेर थप चिसो भएमा अरू चौकी पनि सदरमुकाम झार्ने प्रजिअ लामिछानेले बताए।  

मनाङको माथिल्लो भेग नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार गाउँलेहरू धमाधम अस्थायी बसाई सरिरहेका छन्। अहिले माथिल्लो भेगको तापक्रम रातीको समयमा माइनस १६ र दिउँसोको समयमा पनि माइनस ५ डिग्री हाराहाीमा छ। ‘यो बेला चिसो बढिसकेको छ। चिसो बढेपछि गाउँलेहरू जाडो छल्न तल झरिरहेका छन्। गाउँमा पशु गोठाला र केही बलिया युवा मात्र छन्,’ लामाले भने, ‘अधिक चिसो हुने भएकाले गाउँलेको बसाइ केही महिना सहरमा हुन्छ। चिसो भएपछि माथिल्लो भेगको दैनिकी पनि सुनसान बनेको छ।’

चिसो बढेपछि नार्पा भूमि गाउँपालिकाको कार्यालय पनि अस्थायी रुपमा सदरमुकाम चामेबाट संचालन गरिएको छ। गाउँपालिकाका सबै वडाहरु सदरमुकाम चामेबाट संचालित छन्। गाउँमा बस्ने मान्छे नै कम भएपछि गाउँपालिकाको काम पनि कम हुने गरेको उनले बताए।

‘फागुन मध्यसम्मको बसाई सकसपूर्ण हुन्छ। यो बेला पानी पनि जमेको छ। हिउँ पगालेर पानीको जोहो गर्ने हो। दिउँसोको समयमा घाम लागेको बेलामा पनि पानी भर्ने हो,’ उनले भने, ‘घरभित्रै भाँडोमा राखेको पानी पनि अधिक चिसो हुने गर्छ।’ चिसो बढेपछि विद्यालय पनि अस्थायी रुपमा सहर झारिएको छ। उनका अनुसार गाउँपालिकाका आधा जति बासिन्दा चिसो छल्न सहर झरिसकेका छन् भने बाँकी पनि केही दिनमा झर्नेछन्।

अर्को हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेगको अवस्था पनि उत्तिकै सकसपूर्ण बन्दै गएको छ। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार लोमान्थाङको तापक्रम रातीको समयमा माइनस १२ र दिनमा माइनस ७ डिग्रीमा झर्ने गरेको छ। ‘७० प्रतिशत गाउँले जाडो छल्न सहर झरिसकेका छन्। बाँकी ३० प्रतिशत मात्र होलान्। उनीहरुमध्ये अझै केही गाउँले तल झर्नेछन्,’ गुरुङले भने, ‘माथिल्लो भेग पुरै सुनसान बनेको छ। दैनिकी पनि सुनसान बनेको छ । पर्यटकीय गतिविधि पनि सुस्ताएका छन्।’

पशुको रेखदेख गर्नका लागि गोठाला मात्र घरमा बसेको उनले बताए। अध्यक्ष गुरुङले पनि पानी जमेर समस्या पर्ने गरेका सुनाए। ‘खोलाको पानी भने जम्दैन, त्यही खोलाको पानी ल्याएर खाने हो,’ उनले भने, ‘दिउँसोमा घाम लागेको बेला धारामा पानी आउने गर्छ। नत्र त खोलाको पानीको विकल्प छैन।’

प्रकाशित: २७ मंसिर २०८० १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App