सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको सुपा देउराली मन्दिरलाई आस्थाको केन्द्र मानिन्छ। यहाँ सधैँ जसो दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ।
सुपा देउराली मन्दिर समुद्र सतहदेखि करिब ४ हजार ५ सय फिटको उँचाइमा रहेको छ। बाइसे चौबिसे शाहवंशीय राजाहरुको पालामा निर्माण भएको यस मन्दिरमा २०४० सालदेखि नियमित पूजा अर्चना गर्न थालिएको हो।
अर्घाखाँची, गुल्मी र प्युठानका पायक पर्ने गाउँबाट कपिलवस्तुको पथ्थरकोटमा नुन बोक्ने ढाक्रे आवतजावत गर्दा सुपा देउरालीमै बास बस्थे। पहाडको खेपीजस्तोमा देवता भेटिएपछि २०४० सालदेखि त्यहीँ पूजा गर्न थालिएको हो। नर्तनाञ्चल पहाडको बिचबाट सदरमुकाम जोडन पूर्वपश्चिम राजमार्गको ‘गोरुसिंगे–सन्धिखर्क’ सडक निर्माण भएपछि पूजा गर्ने ठाउँलाई तलबाट माथि बाटोको छेउमा सारियो।
खाँचीकोट र नरपानीका स्थानीयवासीले कच्ची मन्दिर बनाए। सुपा देउरालीमा जे माग्यो त्यही पुरा हुने धार्मिक विश्वास रहँदै आएको छ। वि.सं २०६४ सालमा बाबा गुरुको नामबाट चिनिने नरनारायणले करिब ३ करोडको लगानीमा आधुनिक मन्दिर बनाएपछि भक्तजनको आकर्षण थपियो र आम्दानी पनि पहिलेको तुलनामा तेब्बर भएको छ।
यो मन्दिर निर्माण गर्दा प्राचीन निर्माण सामाग्री प्रयोग गरिएको छ। भाकल गर्नेले इच्छा पुरा भएको भन्दै बोका, पाठी, परेवा र भेटी चढाउने गर्छन्। आजभोलि यस क्षेत्रलाई बुटवल, पाल्पा, दाङ, सल्यान, प्युठान, भैरहवा, कपिलवस्तु लगायत जिल्लाका विद्यार्थीले शैक्षिक भ्रमणको केन्द्र पनि बनाएका छन्।
रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान लगायत भारतबाट लुम्बिनी दर्शन गर्न पुगेका केही पर्यटक यहाँसम्म दर्शन गर्न आउँछन्। सरकारले घोषणा गरेका १ सय उत्कृष्ट गन्तव्य सुचीमा सुपा देउराली मन्दिर पनि समावेश छ।
सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ। कडा चट्टानका बिच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ। यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो ओदामा पुगेका व्यक्ति समेतले दर्शन गर्छन्। अप्ठ्यारो समस्या परेकाे बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ। त्यसैले यहाँ पाठी, बोका भाकल गरि बली चढाइन्छ।
शक्ति पीठका रूपमा परिचित सुपा देउराली मन्दिर वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको छ। वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ।
यस मन्दिरमा एकादशी, औँसी र पूर्णिमा बाहेकका दिनमा भाकल गर्न पाइन्छ। विशेष गरी शनिबार भाकल गर्नेहरूको भीड लाग्ने गर्दछ। जे भाकल गर्यो त्यो पुग्ने जनविश्वासले गर्दा पनि यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ।
पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड अन्तर्गत ४७ किमी दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूला-ठूला पहाडको खोँचमा प्राचीन शैलीमा यस मन्दिर निर्माण गरिएको छ।
मन्दिर क्षेत्रमा निर्माण भएका भवनहरूको स्वरूप एकै खालको कायम गर्ने, मन्दिर क्षेत्रमा पार्किङ, पार्क निर्माण, धर्मशाला निर्माण, खाँचीकोटको विकास, मसिनाको लेकमा पर्यटक पुर्याउन आवश्यक पूर्वाधार विकास लगायतका विषयमा गुरुयोजना बनाएर काम अघि बढेको सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले बताए।
मन्दिरको भेटिबाट शिक्षकलाई तलब
सुपा देउराली मन्दिरले त्यहाँ संकलन हुने भेटीले जिल्लाका चार वटा विद्यालयमा निजी शिक्षकहरुको तलब प्रदान गर्दै आएको छ।
मनको इच्छा पुरा हुने विश्वासले मन्दिरको दर्शन गर्न आउने भक्तजनले पूजा गरेपछि भेटी चढाउँछन्। त्यही भेटीबाट विगत उनन्तीस वर्षदेखि सन्धिखर्क नगरपालिका–७, खाँचीकोटको आदर्श माध्यमिक विद्यालय, शितगंगा नगरपालिका–२, सितापुरको शान्ति आधारभूत विद्यालय, सिता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयका १० जना शिक्षकले तलब पाइरहेका छन्।
सन्धिखर्क नगरपालिका-७ को आदर्श माध्यमिक विद्यालयमा मासिक ७० हजार, शितगंगा नगरपालिका-२ को शान्ति आधारभूत विद्यालयमा मासिक ६२ हजार ५ सय, सिता आधारभूत विद्यालयमा मासिक २१ हजार ६ सय तथा देउराली आधारभूत विद्यालयमा मासिक ११ हजार ६ सय रुपैयाँ प्रदान गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितिका कोषाध्यक्ष चेतलाल पुरीले जानकारी दिए।
‘वार्षिक ८० लाख रुपैयाँसम्म जम्मा हुन्छ, कोषाध्यक्ष पुरीले भने,‘ प्रचारप्रसार भएपछि भक्तजन वर्षेनी बढिरहेका छन्। भेटीको पैसा पनि बढेकाले सजिलो भएको छ।’ कुनै-कुनै महिनामा ८ लाख सम्म भेटी उठ्ने गरेको उनको भनाई छ।
प्रायः शनिबार भिडभाड हुने मन्दिरमा वैशाख, जेठ, असोज, कार्तिक र मंसिर महिनामा भक्तजनको घुइँचो लाग्छ। विसं २०५१ सालदेखीनै मन्दिरले विद्यालयलाई सहयोग रकम उपलब्ध गराउँदै आएको छ।
मन्दिर सन्धिखर्क र शितगंगाको सिमानामा रहेकाले आम्दानी दुवै नगरपालिकाले बाँड्दै आएका छन्। अहिलेसम्म मन्दिरको आम्दानीले लाखौंको योजना सम्पन्न भएका छन्।
भेटीको रकम सडक, खानेपानी, बिजुली, भवन निर्माण लगायतका काममा खर्च भइरहेको छ। सितापुरमा विद्युत् विस्तार, सितापुर–घुम्ती मोटरबाटो, देउराली–खर्यान–भुवनडाँडा मोटरबाटो, २०७२ को भूकम्प पीडितका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ सहयोग, जाजरकोटमा हालै गएको भूकम्प पीडितका लागी १ लाख ५१ हजार रुपैयाँ पठाएको लगायतका मुख्य काम आफूहरूले गरेको समितिका अध्यक्ष फर्सबहादुर केसीले बताए।
मन्दिरको चहल–पहलले सयौं रोजगार
दर्शनार्थिको चहलपहलका कारण मन्दिर वरपर विभिन्न किसिमका व्यवसाय सञ्चालन भइरहेका छन्। मन्दिरमा भक्तजनको चहलपहल बढेसँगै सीतापुरदेखि नरपानीसम्म २ सय भन्दा व्यक्तिले व्यवसाय सञ्चालन गरिरहेका छन्।
जसमध्ये फोटो स्टुडियो, पूजा सामग्री, मिष्ठान्न भन्डार तथा होटल व्यवसाय गरेकाहरूले राम्रै कमाइ गर्न सफल भएका छन्। सोही ठाउँमा पूजा सामाग्री पसल चलाउँदै आएका कपिलवस्तुका खिमलाल भुसाल पनि यसबाट सन्तुष्ट देखिन्छन्। ‘कमाई ठिकै छ, सन्तुष्ट नै छु’ उनले भने।
यस्तै अधिकांश दर्शनार्थीले पूजा सामाग्री लैजाने, मन्दिरको दृश्यसँगै फोटो खिचाउने र दर्शन पछि खाना खाने भएकाले त्यहाँका स्थानीय व्यापारीहरू राम्रै आम्दानी गर्न सफल छन्।
मन्दिरका पुजारीको आम्दानीको श्रोत
मन्दिर दर्शन गर्न आउने दर्शनार्थीले चढाएको भेटिबाट १८ जना पुजारीको परिवार पालिएका छन्। सन्धिखर्क र शितगंगाका १८ जना पुजारीले त्यहाँ काम गर्छन्।
बिहान बेलुका आरती गर्न एक जना मूल पुजारी र बाँकी १७ जनाले भित्र बाहिर विभिन्न पूजन कार्य गर्ने गर्दछन्। एक दिनमा २ जनाको दरले त्यहाँ पालो पर्छ।
‘ठिकै छ, गुजारा चलेकै छ, एक पुजारी राम प्रसाद भट्टराई भन्छन्,‘ ८–९ दिनमा एक दिन पालो पर्छ, त्यसै दिनको भेटीले निर्वाह गरेको छु।’ दान पेटिका बाहेकको पैसा त्यहाँ पालो परेका पूजारीले बाँड्ने गरेका छन्।
यस बाहेक उनीहरुले बलि चढाइने बोका र पाठीको टाउको बाट पनि राम्रै आम्दानी गरेका छन्। मन्दिरमा दैनिक औसतमा १८ देखी २२ वटा बली चढ्ने गर्छ। बली दिइएका बोका र पाठीको टाउको मन्दिरमै चढाउनु पर्ने प्रावधान छ।
यस स्थानको महिमा र महत्वबारे अझ बढी प्रचार गर्न सके थप रोजगार, आयआर्जन र पर्यटन व्यवसायको रुपमा विकास हुने विश्वास लिइएको छ।
प्रकाशित: २६ मंसिर २०८० १४:५७ मंगलबार





