४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

ताजपुरिया संस्कृति जगेर्ना गर्न माग

ताजपुरिया समुदायका अगुवाहरूले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनका लागि राज्यका तर्फबाट पहल गर्नुपर्ने माग गरेका छन्।

संविधानको भावना र मर्म अनुसार आदिवासी जनजातिको कला, संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्नुपर्ने भन्दै उनीहरुले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। ताजपुरिया समाज कल्याण परिषद्को २८ औं स्थापना दिवसका अवसरमा मोरङको रङेली नगरपालिका–८ दर्बेशा बजारमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष पुर्णलाल ताजपुरियाले समुदायको परम्परागत संस्कृति जोगाउनुपर्ने बताए। ताज पुरिया समुदायको संस्कृति जोगाउन स्थापना दिवसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो।  

परिषद्का पूर्व अध्यक्ष एवम् आदिवासी जनजाति महासंघका पूर्व महासचिव नित्यानन्द ताजपुरियाले नटुवा, हुदुरधुरा, ढोलसोना लगायत सांस्कृतिक नाचहरू पछिल्लो समय लोप हुने अवस्थामा पुगेको बताए। पूर्वी तराईको झापा र मोरङमा बसोबास गर्दै आएका ताजपुरिया जातिले संविधानले दिएको अधिकारको महसुस गर्न नपाएको उनले उल्लेख गर्नुभयो।  

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य ऋषि केश पोखरेलले ताज पुरिया जातिलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्न संसदमा माग गर्ने प्रतिवद्धता जनाए। संविधानले दिएको अधिकारबाट संरक्षित क्षेत्र घोषणा गरिए ताज पुरिया समुदाय अघि बढ्न सक्ने बताउँदै सांसद पोखरेलले परिषद्ले लिएको लक्ष्य छिट्टै पुरा हुनेमा विश्वस्त रहेको बताए।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा झापा र मोरङबाट प्रतिनिधित्व गरेका टोलीहरूले नटुवा, हुदुरधुरा, ढोलसोना लगायत सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। साथै जातीय पहिचानका केही परम्परागत र आधुनिक गीतको प्रस्तुति गरिएको थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार ताजपुरिया जातिको संख्या २० हजार ९ सय ८९ छ।  

प्रकाशित: २५ मंसिर २०८० १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App