७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटना घटाउन ‘रिफ्लेक्टर स्टिकर’ टाँस्दै ट्राफिक प्रहरी

सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङ ट्राफिक प्रहरीले सवारी साधनमा रिफ्लेक्टर (टल्कने वस्तु) टाँस्ने, स्पष्ट नम्बर प्लेट बनाउने, चालकले टल्कने पोसाक लगाउने लगायत अभियान सञ्चालन गर्दै आएको छ।

तराईमा चिसो बढेसँगै बाक्लो हुस्सु लाग्न थालेको छ। हुस्सुका कारण हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मोरङ ट्राफिकले अभियान थालेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानका अनुसार दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन विभागले विभिन्न कार्यक्रम गर्दै आएको छ।

 सवारी दुर्घटना न्यूनीकरणका लागि पैदल यात्री, विद्यार्थी तथा सवारी चालकलाई सडक सुशासन, सडक लेन, ट्राफिक नियमबारे जानकारी गराउँदै ट्राफिक प्रमुख न्यौपानेले भने, ‘साँघुरो सडकमा अव्यवस्थित तवरबाट सवारी चलाउने र जथाभावी बाटो काट्ने प्रवृत्तिले दुर्घटना बढेपछि ट्राफिक प्रहरीले ‘अन द स्पट’ कक्षा सञ्चालन थालेको छ।

सडकमै उनीहरूलाई जम्मा गरेर ट्राफिक नियम, जरिवाना, सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता किताबका बारेमा जानकारी दिँदै आएका छौं।’

पछिल्ला केही दिनदेखि तराई क्षेत्रमा चिसो बढेसँगै बाक्लो हुस्सुले गर्दा हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै सवारी साधानहरूमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालिएको छ। ट्राफिक प्रहरी पोस्ट नेमुवाबाट यो ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने अभियानको सुरुवात गरेको बताउँदै ट्राफिक प्रमुख न्यौपानेले भने, ‘रिफ्लेक्टर स्टिकर’ टाँस गर्नुका साथै नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनमा नम्बर लेख्ने अभियान जिल्लाभर सुरु गरेका हौं। हस्सु र रातिको समयमा सवारी साधन स्पष्ट नदेखिँदा दुर्घटना हुने भएकाले ‘रिफ्लेक्टर स्टिकर’ टाँसेपछि परबाटै लाइट पर्दा टक्लने हुँदा दुर्घटनामा कमी हुन्छ।’

ट्राफिक प्रहरी पोस्ट नेमुवाका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असई) तुलामणि आचार्यले हुस्सु लागेका बेला र रातको समयमा दुर्घटनाको जोखिम धेरै हुने भएकाले ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालेको हो।

उनले टल्किएर परबाटै प्रस्ट देखिने हुनाले सवारीसाधनमा ‘रिफ्लेक्टर स्टिकर’ राख्दा दुर्घटना न्यूनीकरणमा मद्दत पुग्छ।

सडकमा छाडिएका चौपायाको घाँटी, सडकबिच भागमा राखिएको डिभाइडर, साइकलको पछाडिको भाग र अन्य सवारीसाधनको पछाडिको भागमा टल्कने ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने, पैदल यात्रुलाई सडक छेउबाट हिँड्न लगाउने, सवारी साधनका बत्ती दुरुस्त बनाउन लगाउने जस्ता अभियान थालेको बताउँदै, असई आचार्यले भने, ‘राति गाईवस्तु नदेखिने, सडकका खाल्डाखुल्डी र अत्यधिक तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढी हुने गरेको पाइएको छ। बत्तीको उज्यालो परेपछि स्टिकर टल्कने हुँदा दुर्घटना कम गर्न सहयोग पुग्ने आशा गरेका छौं।’

‘दिनहुँ सडक दुर्घटनाका खबर सुन्दा र यस्ता दृश्य देख्दा मन नै सिरिङ्ग हुन्छ,’ विराटनगर–७ का अनिष अर्यालले भने, ‘कसरी सुरक्षित सडक यात्रा गर्ने भन्ने चिन्ता हुन्छ। आफू बिस्तारै सुरक्षित तवरले सवारी चलाउँदै गर्दा अन्य तीव्र गतिका सवारीले ठक्कर दिने डर एकातर्फ छ भने अर्कोतर्फ जथाभावी बाटो काट्दा थप समस्या सिर्जना हुने गरेको छ।’

सडकमा सवारी अनुसारको लेन छुट्याउने, तीव्र गतिका सवारीलाई कडा कारबाही गर्ने, जथाभावी बाटो काट्न नदिने जस्ता काम कडाइका साथ सम्बन्धित निकायले कार्यान्वयन गरे दुर्घटनामा केही कमी आउने अर्यालले बताए।

प्रकाशित: २५ मंसिर २०८० ०५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App