१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

दुई लाख बढी नागरिकको घरमा स्टिकर

कर्णालीको नागरिकको घरघरमा स्टिकर टाँस अभियान सुरु गर्दै । फाइल तस्विर: गोविन्द केसी/नागरिक

२०८० वैशाख १ गतेबाट कर्णाली प्रदेशमा सुरक्षित कर्णाली विशेष अभियान २०८० लागु भएयता शान्ति सुरक्षा तथा घटनाहरुमा कमी आएको छ। अभियान अन्र्तगत कर्णालीका घरघरमा प्रहरी पुगेर नागरिकहरुको समस्या बुझ्नुका साथै परिवारको लगत संकलन र स्टिकर टाँस गरिरहेको छ। असार ३१ गते सुरु गरेको स्टिकर टाँस कार्यक्रममा कर्णाली प्रदेशका २ लाख ३२ हजार ७ सय ७४ घरमा प्रहरी पुगेको हो। नम्वर सहितको सुरक्षा जानकारी सम्वन्धी सुचना भएको स्टिकर सबैले देख्ने ठाउँमा टाँसेर खटिएका प्रहरी टोलीले नागरिकसंग अन्र्तक्रिया गरेर फर्कने गरेको छ। यसरी प्रहरी कर्णालीका दश जिल्लाका टोलटोलमा प्रहरी टोली पुगेर स्टिकर टाँस गरेको हो।

२०८० असार ३१ गते सुरु भएको घरघरमा स्टिकर टाँस अभियानबाट प्रहरी नागरिकको घरमा पुगेर स्टिकर टाँस गरेर परिवारको लगत समेत संकलन गरेको छ। जसका कारण जिल्ला प्रहरी कार्यालयमा विगतभन्दा ५५ प्रतिशत बढी गुनासो र उजुरीका कलहरु आउने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ। समाजमा शान्ति सुरक्षा कायम राख्न तथा शंकास्पद वस्तु र ब्यक्तिहरुका बारेमा प्रहरीसंग सिधा कल गर्नका साथै कुनै घटनाबारे प्रहरीलाई जानकारी दिन स्टिकर टाँस भएपछि नागरिकहरु धेरै जोडिएको छन्। प्रहरीलाई घटना स्थल पुग्न छिटो हुने भएकाले अनुसन्धान प्रभावकारी भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले २०८० वैशाख १ गतेबाट थालेको सुरक्षित कर्णाली विशेष अभियान कार्यक्रम अन्र्तगत अन्तरक्रिया गस्ती २२ हजार ५४ पटक, यात्रुमैत्री अभियान ९ हजार ५ सय ८ पटक भई २ लाख ४३ हजार ५२ जना प्रभावित भएका छन्। त्यस्तै निःशुल्क निवेदन लेखनमा सहजिकरण १ हजार ९ सय ४ वटा, नागरिक सहजकर्ता परिचालन २ लाख ३७ हजार २ सय ५६ जना लाभान्वित, पीडित सहायता कार्यक्रम जाहेरी प्राप्त ३ हजार ७ सय १३ वटा र पीडितलाई फोन गरेर जाहेरीबाटे जानकारी  २ हजार ७ सय १७ जनालाई दिइएको छ। कर्णालीमा लागुऔषध सम्वन्धी लालटिन अभियान अन्र्तगत जिल्ला लालटिन समन्वय डेक्स ६ वटा, पालिका लालटिन समुह गठन ८ वटा, वडा लालटिन समुह ५४ वटा, विद्यालय, कलेट लालटिन समुह ८ वटा गठन गरिएको छ। गठन भएको समुहमा लागुऔषध न्यूनिकरण सम्वन्धी कार्यक्रमहरु तालिम प्राप्त प्रशिक्षकबाट हुनेछन्।

गुनासो व्यवस्थापनमा कर्णाली प्रदेशको क्यूआर कोष प्रयोग गरी मुद्दाहरु दर्ता  गर्ने समेत ब्यवस्था गरिएको छ। २०८० मंसिर ५ गते सुरु भएको यो सेवाबाट ७ वटा गुनासो दर्ता भई ४ वटा सम्वोधन समेत भईसकेको छ। कर्णालीका नागरिकहरुको सुरक्षाका लागि प्रदेश प्रहरीबाट विभिन्न कार्यक्रमहरु कडाईका साथ भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख भिम प्रसाद ढकालले बताए। ‘प्रहरी नागरिकसंग घुलमिल भई नागरिकहरुलाई शान्तिको आभास गराउन दिनरात खटिरहेको छ।’  प्रदेश प्रहरी प्रमुख डिआइजी ढकालले भने, प्रदेशभर प्रहरीले नागरिकमैत्री सेवालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको छ।’

प्रकाशित: २४ मंसिर २०८० ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App