१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

पाँच करोड बढी खर्चेर दिवा खाजा खुवाउँदै इटहरी उपमहानगर

दिवा खाजा कार्यक्रमको उद्घाटनका क्रममा विद्यार्थीलाई खाजाको मेन्यु अनुसार फलफूल प्रदान गर्दै नगरप्रमुख हेमकर्ण पौडेल। तस्बिर: अमर/नागरिक।

इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई उपमहानगरपालिकाले यस वर्ष पाँच करोड भन्दा बढी खर्चेर दिवा खाजा प्रभावकारी बनाउन थालेको छ।

विद्यार्थीले ‘जङ्क फुड’ खाने गरेकोमा उपमहानगरले विद्यालयमै पकाएर खुवाउनुपर्ने अनिवार्य नियम बनाएर दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन थालेको हो।

दिवा खाजा कार्यक्रमका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीका लागि एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ। तर, यो बजेट पर्याप्त नहुने हुँदा उपमहानगरपालिकाले थप तीन करोड ६६ लाख १६ हजार रुपैयाँ थप गरि कुल पाँच करोड ६५ लाख रुपैयाँमा टेण्डरमार्फत ठेक्का लगाएर प्रभावकारी बनाउन थालेको हो।

दिवा खाजा कार्यक्रमको आइतबार इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाएर नगरप्रमुख हेमकर्ण पौडेलले सुरुवात गरे।

सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न सङ्घीय सरकारले बालदेखि पाँच कक्षासम्मका लागि दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो।

इटहरी उपमहानगरले बालदेखि ६ कक्षासम्मका लागि विद्यालयमै पौष्टिक दिवा खाजा खुवाउने व्यवस्था मिलाएको छ।

‘हाम्रो खाजा खोसिएको थियो, फेरि इटहरी उपमहानगरपालिकाबाट दिन थालिएको छ,’ राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत प्रद्युम्न दाहालले भने, ‘यो दिवा खाजा कार्यक्रमले हामी सबै विद्यार्थीमा एकरूपता ल्याएको छ।’

उपमहानगरले पहिलो पटक दिवा खाजा पकाएरै खुवाउने निर्णय गरेकोमा थुप्रै चुनौती भएपनि सफल हुने र नेपालमै नौलो हुने नगरप्रमुख पौडेलको दाबी छ। उनले बालबालिकालाई पौष्टिक आहार खुवाउन नगरको योजना सफल भएको बताउँदै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सक्रिय भएर लाग्ने बताए।

‘इटहरी क्षेत्रको गुणस्तर बढाउन सुरुवात गर्न हामीले गरेका छौं,’ उनले भने, ‘सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नकै लागि चालु आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता राखिएको छ।’

उनका अनुसार सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न अब सबै विद्यालयलाई सिसिटिभीबाट निगरानी गर्ने, शिक्षक–कर्मचारीको ई–हाजिरी लगायतलाई प्रभावकारी बनाउने उपमहानगरपालिकाको योजना छ।

सो क्रममा अधिकतर विद्यालयमा पकाउने व्यवस्था भइसकेको र केहीमा बाँकी रहे पनि चाडै पूरा हुने हुँदा व्यवस्थापन पक्ष मजबुत बनाएर अघि बढ्ने खाजा व्यवस्थापनका जिम्मा लिएको एरिना टिफिनका समीर कार्कीले बताए।

राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले उपमहानगरपालिकाले थालेको दिवा खाजा कार्यक्रमले दिवा खाजामा एकरूपता ल्याएको बताए।

दिवा खाजा कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरले बार अनुसारको मेन्यु बनाएर कार्यान्वयन थालेको छ। जसमा आइतबार प्रति विद्यार्थी दुई सय १० ग्रामको तीन किसिमका फलफूल खुवाउन थालिएको छ।

सोमबार विद्यार्थीहरूलाई भुटेको अण्डा र चिउरा, मङ्गलबार मिक्स गेडागुडीसँगै चिउरा, बुधबार चामलको खीर र तरकारी, बिहीबार दही, चिउरा र तरकारी, शुक्रबार खसी वा कुखुराको मासु र चिउरा/साहाकारीका लागि मटर–पनिर र चिउरा खुवाउन थालिएको छ।

दिवा खाजा कार्यक्रमबाट उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार २८ जना लाभान्वित हुनेछन्।

इटहरी उपमहानगर क्षेत्रमा बालविकास, धार्मिक सामुदायिक विद्यालय गरी ५० ओटा विद्यालय रहेका छन्। दिवा खाजा कार्यक्रमको उद्घाटन राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षतामा भएको थियो।

प्रकाशित: २४ मंसिर २०८० ०९:३९ आइतबार