१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

प्राधिकरणले उपमहानगर क्षेत्रका रुख काटेपछि विरोध

हरियाली प्रवर्द्धनका लागि नेपालगन्ज उपमहानगर क्षेत्रमा रोपिएका रुख, बिरुवा नेपाल विद्युत् प्राधिकरणले अन्धाधुन्ध रुपमा काटेपछि विरोध भएको छ।

प्राधिकरणले सदरलाईन रोडस्थित तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलास, बाँके जिल्ला अदालत र भेरी अस्पताल क्षेत्रका रुख बिरुवा शनिबार दिउँसो काटेको थियो। प्राधिकरणले तार व्यवस्थापन गर्ने निहुँमा कसैसँग पनि समन्वय नगरेर रुख काटेपछि अहिले चौतर्फी रुपमा विरोध भएको हो।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले दुःख गरेर हुर्काएका रुख, बिरुवालाई बिद्युत् प्राधिकरणले काटेको बताए। प्राधिकरणले स्थानीय सरकार, डिभिजन वन लगायत कुनैपनि निकायसँग समन्वय नगरेको उनले सुनाए।

‘बिद्युत् प्राधिकरणलाई कारबाहीका लागि हामी सिफारिस गर्छौ, हामीले दुःख गरेर हुर्काएका रुखहरू यसरी काटिएको छ कि आँखाबाट आँसु आउँछ,’ उनले भने।

यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले रुख, बिरुवा काटेको दृश्य हेर्दा विवेक नभएको व्यक्तिले गरेको जस्तो देखिएको बताए। ‘यो राम्रो गतिविधि होइन, हामीसँग प्राधिकरणले कुनै समन्वय गरेको छैन,’ पोखरेलले भने।

क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अध्यक्ष एवम् अभियन्ता डा. विनोद कर्णले प्राधिकरणले गैर कानुनी रुपमा रुख काटेको बताएका छन्। ‘यो कानून विपरीत हो, रुख काट्नेलाई  हदैसम्मको कारबाहीको माग गर्दछु,’ डा. कर्णले सामाजिक सञ्जालमा लेखेका छन्।

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले सम्भावित दुर्घटनाबाट जोगाउन नाङ्गो तारलाई छोएका रुख र हाँगाहरू काटिएको बताएका छन्। 

‘नाङ्गो तारहरुलाई छोएका रुखहरुलाई व्यवस्थापन गरेका हौं,’ उनले भने। रुख काट्नु अघि प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको वितरण केन्द्रले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०८० १५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App