१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

माघ १५सम्म सुब्बाको सरुवा रोकियो

पहुँचवाला कर्मचारीहरू आन्तरिक बढुवा हुनको लागि केही दिन दुर्गममा सरुवा हुने र  दुर्गमबाट फर्कने बित्तिकै बढुवा हुने परम्परा रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी माघ १५सम्म राजपत्र अनंकित प्रथम श्रेणी नायव सुब्बा वा सो सरहका कर्मचारीहरूको सरुवा/ पदस्थापन तथा सरुवा सहमति प्रदान गर्ने काम रोक्न परिपत्र गरेको छ।मन्त्रालयले आज शुक्रवार सबै मन्त्रालय, आयोग, सचिवालय, तथा कार्यालयलाई चिठी लेखी यस्तो परिपत्र गरेको हो।

आन्तरिक बढुवा खुल्नै लाग्दा टाठा बाठा  कर्मचारीहरू केही दिन दुर्गम जिल्ला जाने, दुर्गमबाट फर्कने बित्तिकै शाखा अधिकृत पदमा बढुवा हुने प्रवृत्ति कर्मचारी बृतमा बढेको छ। खाशगरी विभिन्न पार्टीसँग निकट कर्मचारी नेताहरूले यसको फाइदा उठाउने गरेका छन् । निजामती सेवा ऐनमा एक तह बढुवा हुनको लागि अनिवार्य रूपमा दुर्गम जिल्लामा गएको हुनु पर्ने व्यवस्था गरिएको छ। पहुँचवाला कर्मचारीहरू भने  बढुवाको मुखमा एक/ दुई महिना दुर्गममा बस्ने र  छोटो समयमै  काठमाडौँमै फर्कने गरेका छन्।  यो प्रवृत्तिले दुर्गम जिल्लामा लामो समय बसेका कर्मचारीहरू मर्कामा पर्ने मन्त्रालयको भनाइ छ।  

मन्त्रालयले गरेको परिपत्रमा लोक सेवा आयोगको वार्षिक कार्यतालिका बमोजिम राजपत्र अनंकित प्रथम श्रेणी नायव सुब्बा वा सो सरहको पदहरूमा विज्ञापन प्रकाशित हुने दिन भन्दा तत्काल अगाडि कामकाज गरिरहेका कर्मचारीहरू सरुवा भई जाँदा लोकसेवा आयोगले माग गर्ने संख्यामा प्रभाव पर्ने जनाइएको छ ‘खुल्ला प्रतिस्पर्धा तथा बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि सरुवा गरी पठाउँदा लामो समयदेखि एकै ठाँउमा बसी सेवा गरिआएका कर्मचारीहरूलाई बढुवामा मर्का पर्ने भनी विभिन्न सरोकारवाला पक्षबाट गुनासो आएकोले  राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरहको पदको कुनै पनि निकायमा सरुवा/पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने काम २०८० साल माघ १५ गतेसम्मको लागि स्थगित गरिएको छ’ परिपत्रमा भनिएको छ।खरिदार सरहका कर्मचारीहरूमा पनि यही प्रवृत्ति देखिए पछि खरिदार सरहका कर्मचारीहरूको पनि सरुवा रोकिएको छ।

प्रकाशित: २२ मंसिर २०८० १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App