४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

वैदेशिक रोजगारी ठगी रोक्न सरकार किन असफल ?

ठगिएपछि बल्ल सरकारी निकायको खोजी

तपाईं वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ? त्यसको प्रक्रियाबारे सोध्न तपाईं सरकारी निकायमा जानुहुन्छ वा कुनै दलालकहाँ? यसको प्रस्ट जवाफ आउँछ, दलालकहाँ।  

आखिर किन सरकारी निकाय सोधपुछको पहिलो गन्तव्य बन्न पुगेनन्? बरु पाइलैपिच्छे ठग्न बसेकाहरूको जालमा वैदेशिक रोजगारीका आकांक्षी फस्ने गरेका छन्। वैदेशिक रोजगारीका निम्ति सोच बनाएका युवाको प्रत्यक्ष सम्पर्क साथीभाइ, आफन्त र गल्लीगल्लीमा ठग्न बसेका दलालसँग हुन्छ। यस्ता व्यक्तिलाई पाएपछि तिनले सिकार आएको झैं ठान्छन्। आफूले ठगी गर्न यस्ता सम्भावित व्यक्तिलाई अनेकन जाल विछ्याउँछन्।  

विदेश जाने सुरक्षित माध्यम तथा जानकारीबारे सरकारले प्रचारप्रसार गरेको देखिँदैन। प्रचार गरे पनि प्रभावकारी नहुँदा एउटै विधि र प्रक्रियाबाट ठगीमा परिरहेका हुन्छन्।  

वैदेशिक रोजगारीको सिलसिलामा ठगिने व्यक्तिको मात्र भूमिका हुन्न। वास्तवमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि आफू यसका निम्ति आधिकारिक निकाय भएको प्रचार रोजगारीका आकांक्षीको कानसम्म पुर्‍याउन सकेको छैन। यससम्बन्धी निकायको प्रभावकारिताको अभावमा यस्तो भइरहेको हो।  

वैदेशिक रोजगारीमा जति आकर्षण छ, त्यति नै जोखिम पनि। गाउँका कुनै युवा विदेश गएको देखेपछि अरूलाई पनि त्यसै गर्ने सोच आउँछ। कसरी विदेश जाँदा ठगको फन्दामा परिँदैन भन्ने जानकारी तिनलाई हुने हो भने केही सुधार हुन्थ्यो। सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ग्रामीण भेगसम्म चेतना फैलाउन नसकेकाले युवाहरू ठगीमा परेका हुन्।  

खासमा सरकारको भन्दा ठगी गर्नेको प्रभाव बढी देखिन्छ। वैदेशिक रोजगारीका निम्ति दुबई जान खोज्दा पटक–पटक ठगीमा परेका युवा हुन्, झापा विर्तामोडका विवेक पाठक। कसरी विदेश जान सकिन्छ भन्ने ज्ञान उनमा नभएकैले यस्तो अवस्था आएको उनी बताउँछन्। उनी आफूले कहिल्यै वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सजगताबारे जानकारी नपाएको बताउँछन्।  

‘वैदेशिक रोजगारीमा जाँदा सुरक्षित हुने जनचेतना सरकारबाट हामीसम्म आएको छैन,’ उनले नागरिकसँग भने, ‘विदेश जाने सुरक्षित प्रक्रिया सरकारबाट सहजै पाउन सकेको भए आज दोहोर्‍याई तेहेर्‍याई ठगीमा पर्ने थिएनौं।’

प्रायः यस्ता युवा वैदेशिक रोजगारीमा जाने जानकारी पाउनुअघि नै ठगीमा परिसकेका हुन्छन्। तिनीहरू ठगिएपछि मात्र वैदेशिक रोजगार विभागमा उजुरी दिन पुग्छन्। ‘विदेश जाने उद्देश्यले ठगीमा परेपछि वैदेशिक रोजगार विभागको बारेमा थाहा पाएका हौँ,’ पाठकले भने, ‘विदेश कहाँबाट जाने, कसरी जाने भन्ने जानकारी युवालाई छैन।’  

धेरैजसोलाई विदेश जानुअघि आधारभूत पक्षको ज्ञान नहुँदा रोजगारीमा गइसकेपछि समस्या पर्ने गरेको छ। अझ कतिपय त ठगिएर विदेश जानै नपाउने अवस्था आउन सक्छ। भविष्यमा ठुलो दुःख पाउने सम्भावना हुन्छ। त्यसैले आफ्नो वैदेशिक रोजगार यात्रालाई सुरक्षित र सुखद बनाउन कामदार आफैं पनि सचेत हुनुपर्छ ।

समस्या परेपछि उद्धार र सहयोगका लागि हारगुहार आउनुपूर्व रोजगारी र श्रम स्वीकृतिबारे जनचेतना जगाए मात्र वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित हुन्छ तर यस्तो भएको छैन। वैदेशिक रोजगारीको क्रममा ठगीमा परेपछि मात्र श्रम मन्त्रालय, विभाग र वैदेशिक रोजगार बोर्डबारे पीडितले थाहा पाउँछन्।  

वैदेशिक रोजगारीको अवस्था, श्रम स्वीकृति प्रक्रिया, यसमा सुधार तथा विदेश जानुपूर्व, गइसकेपछि र फर्केपछि थाहा पाउनुपर्ने अनेकन पक्ष छन्। अवैधानिक रूपमा वैदेशिक रोजगारी जान नदिन सरकारले जस्ता नीति बनाए पनि ती व्यावहारिक रूपमा प्रयोगमा नआउँदा समस्या पर्ने गरेको पीडितहरू बताउँछन्।  

वैदेशिक रोजगारीमा गएका वा जान चाहनेले पाइरहेको दुःख भने अझै अकल्पनीय छ। त्यो दुःख कम गर्न र यसलाई व्यवस्थित पार्न सरकार प्रभावकारी भएको छैन। वैदेशिक रोजगारीमा ठगी निरुत्साहित गर्न सरकारले आफ्नो भूमिका सशक्त पार्न ढिला भएको छ।  

केहीका लागि वैदेशिक रोजगार रहरको विषय भए तापनि अधिकांशका लागि यो बाध्यता हो। बाध्यतावश चर्को ब्याजमा ऋण लिएर विदेश जान चाहने र गएका युवा वैदेशिक रोजगारी र श्रम स्वीकृतिको प्रक्रिया थाहा नहुँदा ठगिएका हुन्।  

श्रम मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसालका अनुसार अहिलेको ठगीको स्थिति वैदेशिक रोजगारसम्बन्धी जनचेतनाको अभाव हो। देशका गाउँमा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी प्रचारप्रसार हुन सकेको छैन। जसकारण धेरै युवा बिदेसिने क्रममा ठगीमा पर्ने गरेका हुन्।  

वैदेशिक रोजगारीलाई सुरक्षित पार्न श्रम मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनचेतना फैलाएको उनले बताए। ‘जनचेतनाका लािग सञ्चारका विभिन्न माध्यम प्रयोग गरेका छौं। वैदेशिक रोजगारसम्बन्धी निकाय श्रम मन्त्रालय, विभाग र बोर्डले आ–आफ्नै ढंगबाट ठगीबाट बच्न विभिन्न तरिकाले प्रचारप्रसार गरेका छन्। वैदेशिक रोजगारीको ठगीबाट बच्न अनुगमन पनि एक हो। कुन क्षेत्रमा कस्ता मानिस ठगीमा पर्ने गरेका छन्। त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर अनुगम गरेका छौं,’ उनले भने।  

सूचना अधिकारी भूसालका अनुसार, वैदेशिक रोजगारीमा जान खोज्नेमाथि ठगी गर्ने म्यानपावर कम्पनीलाई विगत गतिविधिका आधारमा कारबाही भइरहेको छ। श्रम मन्त्रालयको नीति, योजना र बजेटअनुसार कार्य अघि बढाइरेको छ। अब आउँदो बजेटमा सञ्चारमाध्यमलाई पहिलो प्राथमिकता राखेर ठगी निर्मूल पार्ने उद्देश्यले काम भइरहेको छ।  

‘वैदेशिक रोजगारीमा हुने ठगी निर्मूल पार्न सकिँदैन,’ भुसालले भने, ‘यसलाई घटाउन भने सकिन्छ।’

वैदेशिक रोजगारीको क्रममा बुझ्ने सर्वसाधारण पनि ठगीमा परेका छन्। बुझ्दै नबुझ्ने सर्वसाधारण ठगीमा पर्ने संख्या ठूलो छ। भुसाल भन्छन्, ‘विदेश पठाउने म्यानपावर कम्पनी आधिकारिक हुन् कि हैनन् भन्ने बुझ्नुपर्छ। कुनै म्यानपावर शंकास्पद लागेमा वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न सकिन्छ।’

‘कतिपय म्यानपावर इजाजत पाएर पनि कारबाहीमा परेका हुन सक्छन्,’ भुसालले भने, ‘रोक्का भएका म्यानपावरबाट वैदेशिक रोजगारीमा जानुहुँदैन। कुनै म्यानपावर खारेजीमा पनि परेका हुन सक्छन्।  यस्तो सामान्य जानकारी युवा वर्गमा हुनु जरुरी छ।’

वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार युवालाई सरकारले व्यापक रुपमा सीपमूलक तालिम दिनुपर्छ। विदेश जानुपूर्व भाषाको ज्ञान अनिवार्य हुन्छ। कुन देश जाने हो, त्यो देशको धर्म, भाषा र वातावरणसम्बन्धी जानकारी युवालाई उपलब्ध गराउन सके ठगी हुने क्रम कम हुन्छ।  

वैदेशिक रोजगारीमा ठगीबाट बच्न सही सूचना पाउने आधिकारिक क्षेत्र राज्यका निकायमा धेरै रहेको उप्रेतीले बताए। ‘देशका ३९ जिल्लाका एक सय ५६ वटा पालिकामा सुरक्षित आप्रवासन कार्याक्रमसँगै सूचना केन्द्रहरू रहेका छन्। त्यहाँ गएर कसरी विदेश जाने भनेर सूचना लिन सकिन्छ,’ उनले भने, ‘चिनेजानेका मानिसले विदेश पठाउने भन्दैमा तिनीहरूको भर गर्नुभएन। आफू कुन देश जान लागेको हो, त्यसका लागि कस्ताकस्ता प्रावधान छन् भन्ने विषयमा वैदेशिक रोजगार बोर्डको सचिवालयले प्रकाशित गरेका सूचनाप्रधान हाते पुस्तक धेरै रहेका छन्।’

वैदेशिक रोजगारीमा ठगीबाट बच्न वा कानुनी सहायता वा मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) सँग पनि सम्पर्क गर्न उप्रेतीले जानकारी दिए। ‘साथै वैदेशिक रोजगारसम्बन्धी सूचना जानकारीका लागि उज्यालो नेटवर्क ९० एफएमबाट प्रत्येक मंगलबार बिहान ८ः३० बजे कार्यक्रम प्रसारण हुने गरेको छ। उक्त एफएमबाट श्रम मन्त्रालय, विभाग र बोर्डबाट भइरहेका सबै गतिविधि कार्य, ठगी र कारबाही सम्बन्धित कथा, समाचार, नाटकको रुपमा प्रसारण भइरहेका छन्,’ उनले भने।

राज्यका निकायले विभिन्न गतिविधि भइरहेको दाबी गरे पनि सूचना पाउनुपर्ने वास्तविक सर्वसाधारण भने यसबाट विमुख छन्। त्यसैको परिणामस्वरुप ठगीमा पर्ने गरेका हुन्।  

विदेश जानुभन्दा पहिले राम्रोसँग अभिमुखीकरण तालिम दिई चाहेको रोजगारीअनुसार नै सिप विकास गराएर मात्र विदेश पठाउने व्यवस्था भएमा अवश्य पनि वैदेशिक रोजगारीमा हुने जोखिम कम हुने उप्रेतीको भनाइ छ।  

वैदेशिक रोजगारीका लागि श्रम इजाजत भएको देशमा मात्र जानुपर्छ, तब मात्र सम्झौताबमोजिम कार्य गर्ने अवसर प्राप्त गर्न सकिन्छ। लुकीछिपी गलत प्रक्रियाबाट बिदेसिने युवाले झनै पीडादायी अवस्थाको सामना गर्नुपर्ने देखिन्छ।

विदेशमा रोजगारीका लागि सिप सिकेर मात्र जाने, श्रम सम्झौता गरेर भरपर्दो म्यानपावरबाट मात्र कार्य गर्नेजस्ता पक्षमा ध्यान दिनुपर्छ। सम्झौताअनुरूपको तलब, सेवासुविधा र सुरक्षा प्रत्याभूति गर्ने जस्ता कुरामा विशेष ध्यान दिनुपर्छ। तसर्थ, वैदेशिक रोजगारीमा जानुभन्दा पहिले यस्ता कुरामा ध्यान दिन सकियो भने वैदेशिक रोजगारीमा देखिएका समस्यालाई न्यूनीकरण गर्न सकिन्छ।

वैदेशिक रोजगारीमा पहिलो प्राथमिकता सिप हो। विनासिप विदेश जानु जोखिमपूर्ण छ। ‘अधिकांश नेपाली गाउँबाट सहर आई १/२ महिना सिप सिकेर गाउँतिरैका एजेन्ट वा सहरिया एजेन्टलाई सिधै पासपोर्ट बुझाएर विदेश जान पाइन्छ भन्ने भ्रममा हुन्छन्,’ वैदेशिक रोजगारी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने।

एजेन्टलाई त्यतिकै विश्वास गर्दा प्रायः व्यक्ति घर न घाटका भएका छन्। वैदेशिक रोजगारीमा जाँदा संस्थागत श्रम स्वीकृति लिनुपर्छ। तर यहाँ वैदेशिक रोजगारीमा एजेन्टसँग जोडिनु भनेको चर्को शुल्कमा पर्नु हो। त्यो कुरा थाहा पाउँदापाउँदै पनि एजेन्टको भर पर्दा राम्रो देश र टन्न पैसा कमाइन्छ भन्ने सोच हुने गरेको अध्यक्ष भण्डारीले बताए।  

नेपाल सरकारका नीतिनियम बुझेर विदेश जाँदा ठगीमा पर्ने युवा कम हुन्छन्। कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर, दलाल, एजेन्ट वा अन्य कुनै पनि संस्थालाई वैदेशिक रोजगारीमा पठाउने अधिकार नहुने हुँदा यस्ताको भरमा रोजगारीमा जानु राम्रो होइन,’  भण्डारीले सुझाव दिए। उनले थपे, ‘ठगिनुको दोस्रो कारण एजेन्टलाई कुनै लिखित प्रमाणबिना पैसा दिनु हो। बैंकमार्फत दिने वा नगदै दिँदा पनि पाँच जना जति साक्षी राखेर दिने हो भने फिर्ता लिन सजिलो हुन्छ। यहाँ त विश्वासका भरमा एजेन्टलाई नै दुई–तीन लाख रुपैयाँ दिन्छन्। पछि एजेन्टले प्रमाण देखाऊ भन्छ।’ सोझै मेनपावर कम्पनी नभएर एजेन्टकहाँ जानु ठगिनुको तेस्रो कारण रहेको सरकारी अधिकारीको सुझाव छ। 

प्रकाशित: २१ मंसिर २०८० ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App