२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्वदेश फर्किए प्रहरी महानिरीक्षक, इन्टरपोलको ९२ औँ महासभा ग्लास्गोमा हुने

अस्ट्रियाको भियनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९१औं महासभामा सहभागी भई स्वदेश फर्किएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अस्ट्रियाको भियनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९१ औं महासभामा सहभागी भई स्वदेश फर्किएका छन्।

इन्टरपोल सचिवालयको आयोजनामा मंसिर १२ देखि १५ सम्म सञ्चालित महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासहितको टोली पनि स्वदेश फर्किएको छ।

टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गरे।

महासभामा सहभागी हुने क्रममा नेसनल सेन्ट्रल ब्युरो नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधिमण्डल तथा इन्टरपोलका अध्यक्षबीच शिष्टाचार भेट भएको थियो।

महासभामा सहभागी एक सय ९५ इन्टरपोल सदस्य राष्ट्रका नेसनल सेन्ट्रल ब्युरोका प्रमुखबीच विश्वलाई सुरक्षित बनाउन सहकार्य गर्नेबारेमा छलफल भएको प्रहरी महानिरीक्षक कुँवरको सचिवालयले जनाएको छ।

महासभाले इन्टरपोलको ९२औं महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औं महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ।

इन्टरपोल स्थापनाको सय वर्षका अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झन्डा, इन्टरपोलको झन्डा र नेपाल प्रहरीको झन्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई महासभामा सम्मान गरिएको थियो।

–रासस

प्रकाशित: २१ मंसिर २०८० ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App