घरेलु कामदारका रूपमा भारत हुँदै कुवेतमा बेचिएकी म्याग्दीको बेनी नगरपालिका-९ काउँलेगौडाकी ३३ वर्षीया हिराकुमारी चोखाल बुधबार बिहान घर पुग्दा छोरी पूर्णिमा, छोरा पुरन र श्रीमान् गणेशबहादुरले फूल दिएर स्वागत गरे।
छोराछोरी विद्यालय नै नगई आफ्नो स्वागतमा बसिरहेको देखेर हिराकुमारी गहभरि आँसु बनाउँदै रुन थालिन्। करिब ८ महिनापछि आमाको काख पाउँदा छोराछोरी खुसी देखिए पनि कुवेतमा भोगेको मानसिक र शारीरिक यातनाले हिराकुमारीका आँखा र अनुहार उदास देखिन्थे।
गहभरि भरिएका आँसु, कुवेतीको यातनासँगै भारत हुँदै जाँदा लिएर गएको एउटा सानो झोला बोकेर घर फर्किएकी हिराकुमारीलाई घर पुग्दा केहीबेर सन्नाटा छाएको थियो।
उनलाई देखेर घरपरिवारसँगै आफन्त, छिमेकी सबै स्तब्ध देखिन्थे। हिराकुमारीलाई भेट्दा उनका श्रीमान् र आफन्तले आँसु थाम्न सकेनन्।
जटिल रोगबाट ग्रसित श्रीमान्को उपचारका क्रममा भारतमा नेपाली दलालले आकर्षक तलबको प्रलोभनमा पारेपछि श्रीमान्लाई घर पठाएर उतैबाट कुवेत उडेकी हिराकुमारीलाई विगत पाँच महिनादेखि कुवेतीले भोकभोकै १८ घण्टासम्म काम गराउने, समयमै तलबसुविधा नदिने र कुटपिट गर्ने गरेको बताइन्।
‘मृत्युलाई जितेर स्वर्गजस्तो आफ्नै घरमा फर्केकी छु, मैले भोगेको पीडा बयान गर्न सक्ने अवस्थामा छैन,’ उनले भनिन्। भारतबाट ग्याल्पा लामाले कम्पनीमा काम गर्ने भन्दै पठाएको केही दिनमै एजेन्टले कुवेतमा बिक्री गरेको उनले बताइन्।
‘गैरकानुनी रूपमा विदेश जानु भनेको मृत्युमार्ग रोजेजस्तै हुनेरहेछ। कुवेतीको घरमा काम गर्दा एक दिन पनि राम्रोसँग सुत्न र मिठो खान पाइनँ,’ हिराकुमारीले भनिन्। सडेगलेका खानेकुरा खान दिने, काम नगरेको भन्दै कुटपिट गर्ने, मानसिक यातना दिने जस्ता क्रियाकलाप दिनहुँ हुन थालेपछि बाध्य भएर मिडियाको सहयोग लिएको उनले बताइन्।
उनले मिडियाको सहयोगमा दुई सातामै कुवेतीको घर हुँदै एजेन्टमार्फत नेपाली दूतावासमा नगई घर आइपुगेको बताइन्। कुवेतीका घरमा उद्धारका लागि सञ्चारमाध्यम वा आत्महत्या गर्ने दुईवटा विकल्प मात्रै आफूसँग रहेको बताइन्।
घरमा स्वागतका लागि आएका छिमेकी र आफन्तलाई कुवेतमा पाएको पीडाको बयान गर्दै हिराकुमारी पटकपटक भक्कानिएकी थिइन्। कुवेती एजेन्टले एक हजार दिराममा बजारमा सामान खरिद गरेजस्तै गरी कुवेतीको घरमा बिक्री गरेपछि कुवेतीको चरम यातना सहनुपरेको बताइन्।
‘धेरै नेपाली दिदीबहिनी आँसु पिएर ज्यान पालिरहनुभएको छ।केहीलाई राम्रो भए पनि धेरै दिदीबहिनीको अवस्था निकै नाजुक छ,’ हिराकुमारीले भनिन्। निकै शिथिल र थकित देखिने उनले दलालको प्रलोभनमा भारत हुँदै कुवेत नजानसमेत अपिल गरिन्।
घरमा काम गर्दा कुवेतीहरूले फोन ट्रयाक गर्ने, त्यहाँ रहेका नेपाली बोलेको थाहा पाएमा उसैलाई भगाएको केस लगाएर पक्राउसमेत गर्ने गरेकाले बोल्न र उद्धारमा सक्रिय हुनसमेत नेपालीलाई धेरै समस्या रहेको उनले बताइन्।
साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्नेलाई झनै समस्या रहेको हिराकुमारीको भनाइ छ। ‘मैले कुवेतमा भोगेको दिन सम्झिँदा आङ अझै सिरिङ्ग हुन्छ। सबैको सहयोग नपाएको भए मेरो जीवन घर न घाटको हुने थियो,’ हिराकुमारीले भनिन्।
उद्धारमा सहयोग गर्नेलाई जीवनभर नबिर्सिने बताइन्। उनले कुवेतीले करिब २५ दिनको तलबसमेत नदिएको बताइन्।
एक महिनाको तलबबाट एजेन्टले नेपाल फर्कने टिकट काटिदिएपछि उनीहरूले दिएको १७ हजार नेपाली रूपैयाँ दिएपछि उनी नेपाल फर्केकी थिइन्। यस सन्दर्भमा कुवेती एजेन्ट कार्यालयमा कार्यरत सरिता शर्माले कुवेतमा हिराकुमारी आफूखुसी आएकी तथा बेचबिखनमा नपरेकी बताइन्।
बुधबार नै हिराकुमारीलाई कतारमा रहेका म्याग्देलीहरूको संस्था मोना कतार बहुउद्देश्यीय अक्षय कोषले १५ हजार ५ सय ५५, मोना कतारका निर्वतमान अध्यक्ष नरेन्द्र फगामीले ५ हजार आर्थिक सहयोगसमेत गरेका थिए।
पीडित हिराकुमारीको उद्धारका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना कुवेत), मोना अन्तर्राष्ट्रिय, गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले समेत लगातार सक्रियता देखाएका थिए।
म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटकी एक महिलासमेत अहिले उद्धारको पखाईमा छिन्। भारतमा रहेका नेपाली एजेन्टहरूले कुवेत जाँदा अन्य युरोपियन मुलुकमा जान सकिने, पिआर पाइने, राम्रो काम र कमाइ हुने प्रलोभन दिने गरेको पाइएको छ।
सरकारले खाडी मुलुकमा घरेलु कामदार लैजान २०७२ जेठमै प्रतिबन्ध लगाए पनि विभिन्न बाटो हुँदै दैनिक नेपाली महिलाहरू जाने गरेका छन्। भारतका दिल्लीलगायत एयरपोर्टमा सेटिङ मिलाएर नेपाली महिलालाई खाडी मुलुक पठाउने गरिएको छ।
सरकारले खाडी मुलुकमा घरेलु कामदार लैजान २०७२ जेठमै प्रतिबन्ध लगाए पनि विभिन्न बाटो हुँदै अहिले पनि नेपाली महिलाहरू ती मुलुकमा पुगिरहेका छन्। भारतका विभिन्न विमानस्थलहरूमा सेटिङ मिलाएर नेपाली महिलाहरूलाई खाडी मुलुक पठाउने क्रम पछिल्लो समय बढ्दै गएको देखिन्छ।
प्रकाशित: २१ मंसिर २०८० ०३:५१ बिहीबार