१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सेताम्य डाँडाकाँडा, तापक्रम माइनस नौ (फोटोसहित)

हिमपातले सेताम्य भएको हिमाली जिल्ला मनाङको मनाङ गाउँ। तस्बिर सौजन्यः बिनोद गुरुङ

सिजनको पहिलो हिमपातले हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। उच्च हिमाली भेगको तापक्रम हिमपात पछि निकै नै घटेको छ। हिमपातका कारण हिमाली जिल्लाको माथिल्लो भेग सेताम्य भएका छन्। चिसो बढेका कारण पर्यटकीय गतिविधि पनि कमजोर बनेका छन्।

चिसोका कारण त्यहाँको तापक्रम पनि घटेको छ। रातीको समयमा तापक्रम माइनस ९ डिग्रीसम्म ओर्लेको स्थानीयले बताएका छन्। केहीदिन अघिसम्म खचाखच रहेका हिमाली भेगका पर्यटकीय क्षेत्रमा अहिले पाहुना घट्दै गएको उनीहरुले बताए।

अन्नपूर्ण फेरो पदमार्गको माथिल्लो मनाङका पर्यटन व्यवसायी बिनोद गुरुङका अनुसार सोमबार दिनभरको हिमपातले त्यहाँका डाँडाँकाँडा सेताम्य भएका छन्। मंगलबार बिहान मौसम खुलेपनि दिउँसोदेखि पुन बिग्रन थालेको छ। ‘सोमबार दिनभर हिमपात भयो। पाँच इन्च जति हिउँ जमेको छ,’ गुरुङले भने, ‘सिजनको पहिलो हिमपात हो। मनाङ क्षेत्र सेताम्य भएका छन्।’

अन्नपूर्ण फेरो पदमार्गमा पर्ने मनाङमा केहीदिन अघिसम्म पाहुना खचाखच थिए। आन्तरिक र बाह्य पाहुना खचाखच थिए। तर, चिसो बढ्दै जाँदा पाहुना पनि घटेका छन्। ‘पाहुनाको आकार कम छ । फ्याट्ट-फुट्ट पाहुना छन्। केही विदेशी र नेपाली छन्, उनले भने । उनका अनुसार रातीको समयमा मनाङको तापक्रम माइनस ९ सम्ममा ओर्लिन्छ। बिहान ४ बजेसम्मको तापक्रम निकै नै कम हुने र त्यसपछि घट्दै जाने उनले बताए। ‘बिहान मौसम खुलेर घाम लागेपछि केही न्यानो भएको छ। दिउँसोको तापक्रम केही बढेको छ, हिउँ परेको बेला चिसो कम हुन्छ,’ उनले भने।

उनका अनुसार घरका छल, बारी, पार्किङमा राखिएका गाडी सबै हिउँले ढाकिएका छन्। बिहान घाम लागेपछि रोकिएका गाडी पनि सुचारु भएका छन्। ‘हिमपातको सिजन हो। त्यसैले आगामी दिनमा यो भन्दा अझै भारी हिउँ पर्न सक्छ,’ उनले भने, ‘हिमपातमा रमाउन पाएका पर्यटक भने खुसी भएका छन्।’

मनाङको माथिल्लो भेग नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार माथिल्लो भेग नार र फू गाउँमा पनि बाक्लो हिउँ परेको छ। ‘दिउँसोमा त खासै चिसो छैन, तर, बिहान–बेलुकी र राती भने धेरै नै जाडो हुन्छ,’ उनले भने, ‘रातीको समयमा त माइनस १० को हाराहारीमा चिसो हुन्छ ।’ उनका अनुसार चिसो बढ्दै गएपछि माथिल्लो भेगका बासिन्दा जाडो छल्न तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालेका छन्। सोमबार मात्र २२ घरका बासिन्दाले घर छाडेको उनले बताए।

‘भेडा बाख्रा,याकचौरी हेर्ने र हिँडडुल गर्न सक्ने युवा मात्र गाउँमा बस्ने हुन। नत्र धेरैजसो गाउँलेले घर छाडेका हुन्छन्,’ अध्यक्ष लामाले भने, ‘गाउँका अधिकांश बासिन्दाले यो बेला घर छाड्छन। तल झर्ने क्रम केहीदिन चलिरहन्छ। फागुन अन्तिम पछि बल्ल गाउँले घर फर्किन्छन्। यो बेला चिसोका कारण पर्यटकीय गतिविधि पनि हुँदैन।’ उनका अनुसार गाउँमा बासिन्दा नहुने र आउजाउको सहजता नभएकोले गाउँपालिकाको काम समेत सदरमुकाम चामेबाटै संचालन हुने गर्छ।

अन्नपूर्ण आधार शिविर पदमार्गमा पनि उत्तिकै हिमपात भएको छ। माछापुच्छ्रे आधार शिविर (एमबिसी) का पर्यटन व्यवसायी मनप्रसाद गुरुङका अनुसार हिमपातले गर्दा एबिसी क्षेत्रमा पनि उत्तिकै चिसो बढेको छ। त्यहाँको तापक्रम माइनस ८ सम्म ओर्लेको उनले बताए। ‘एमबिसीमा ६ इन्च जति हिउँ जमेको छ। माथि एबिसी त झनै बढी हिउँ जमेको छ। चिसोका कारण पर्यटकीय गतिविधि पनि सुस्ताएको छ,’ उनले भने, ‘यो बेला निकै नै कम आन्तरिक र केही विदेशी पाहुना मात्र छन्।’

अर्को हिमाली जिल्ला मुस्ताङमा पनि उत्तिकै हिमपात छ। मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले पनि लोमान्थाङ क्षेत्रमा केही हिमपात भएको बताए। ‘मुस्ताङको उच्च भेगमा हिमपात त भएको छ। तर, लोमान्थाङमा सोचेजति हिउँ परेको छैन,’ उनले भने, ‘चिसो भने बढेको छ। घाम लागेको बेला त कमै चिसो हुन्छ। रातीमा बढी चिसो छ।’

प्रकाशित: १९ मंसिर २०८० ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App