७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

बहुविवाह गर्ने धेरै

घरेलु हिंसाका उजुरी गाउँमै मिलापत्र हुने गरेको पाइएको छ। प्रहरी कार्यालय कालिकोटको महिला तथा बालबालिका सेलका अुनसार कालिकोटमा अधिकांश घरेलु हिंसाका मुद्दा मिलापत्रमै समाधान गर्ने गरिएको जनाएको छ। उजुरी परेका ८५ प्रतिशत मुद्दाको छिनोफानो मिलापत्रबाटै गर्ने गरिएको हो।

खानबस्न नदिएको, गालीगलौज गरिएको, कुटपिट, विवाह दर्ता नगराएकोलगातयमा उजुरी पर्ने गरेका छन्। महिलाहरू आर्थिक र सामाजिक रूपमा सशक्त नबनाउँदासम्म उनीहरूमाथि परिवार र समाजका सदस्यले हिंसा गर्ने अवस्थाको अन्त्य हुन नसक्ने जनाकारहरूको भनाइ छ।

जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा बालबालिका तथा महिला सेलमा कुल ४२ घरेलु हिंसाका उजुरी परेका थिए। जसमध्ये ३८ वटा मिलापत्र गरी समाधान गरिएको महिला तथा बालबालिका सेलले जनाएको छ। चारवटा कानुनी प्रक्रियामा रहेको प्रहरीको भनाइ छ। आव २०८०/८१ को हालसम्म १७ वटा उजुरी परेको बताइएको छ।

घरायसी झगडा, कुटपिट तथा घाउ केस फारम, मादक पदार्थ सेवन गरी गालीगलोज गरेको अनेक प्रकारका हिंसा र दुव्र्यवहारका गुनासो र समस्याहरू समाधान हुने गरेको प्रहरीको भनाइ छ। सक्दो प्रयास गर्दा पनि नमिल्ने उजुरी मात्र अदालतसम्म पुग्ने गरेको बताइएको छ। हरेक वर्ष यस्तो गुनासो र उजुरीको संख्या बढदै गए पनि पछि आएर समाधान हुने गरेको छ।

घरेलु हिंसाका निवेदन मिलापत्रमै टुंगिने गरेको र पीडितहरू अदातल जान नचाहेकाले मिलापत्रको माग आउने गरेको छ। घर सम्हाल्ने र चलाउने महिला नै अन्यायमा परे घर परिवार बिग्रने हुँदा समाजलाई नराम्रो असर पर्ने र फेरि फर्केर त्यही घरमा बस्नुपर्ने बाध्यताले धेरै मुद्दा दर्ता नहुने गरेको प्रहरीको महिला तथा बालबालिका सेलले जनाएको छ।

पीडकले बारम्बार धम्की दिने वा कुटपिट गर्ने बानी र व्यवहार अनि बालबालिका र परिवारको मायाका कारण महिला प्रायः घरेलु हिंसाकै चक्रमा अल्झिरहन्छन्।

पुरुषले पनि माफी माग्ने, दोष मेरो हो भनी कबुल गर्ने, परिवर्तन हुने वाचा गर्ने, उपहार दिने क्रियाकलाप कतिपय अवस्थामा हृदयदेखि चाहेरै गरेका हुन्छन् किनकि घरेलु हिंसाले पुरुषलाई पनि असर गर्छ। तर, जब फेरि परिवारमा तनावको वातावरण सिर्जना हुन्छ, हिंसाको चक्र दोहोरिन्छ। कतिपय मानिसको जीवनमा घट्ने दुःखदायी घटना बाह्य रूपमा धेरैले थाहा नपाउन सक्छन् तर त्यसबाट भित्री रूपमा परेको असर गहिरो हुने गरेको जानकारहरूको भनाइ छ।

शारीरिक वा मानसिक अवस्था कमजोर रहँदा अरू थप जोखिममा पर्नसक्ने सम्भावना बढी हुने पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष नमराज योगीले बताए। उनले भने, ‘महिला कमजोर हुन्छन् भन्ने सोच, मादकपदार्थ र लागुपदार्थ सेवन, सांस्कृतिक रीतिरिवाज, हिंसात्मक वातावरणमा बालबालिकाको सामाजिकीकरण, मानसिक स्वास्थ्य समस्या आदि कारणले घरेलु हिंसालाई बढावा दिइरहेको छ। प्रायः महिला आफूमाथि हिंसा भएको सहजै कसैलाई भन्न सक्दैनन्। हिंसाविरुद्ध क्रियाकलापमा मात्रै सीमित नरहेर हरेक व्यक्ति र समुदायमा जनचेतनामूलक क्रियाकलाप गर्नु जरुरी देखिन्छ।’

घरेलु हिंसा भएमा घरेलु हिंसा ऐन, ०६६ को दफा १७ अनुसार ३ हजार रूपैयाँदेखि २५ हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ। देशमा कानुन बनाएर मात्रै हुँदैन, कार्यान्वयन पक्ष बलियो हुनुपर्छ।

महिलाको तुलनामा धेरै पुरुषले मदिराजन्य र लागुपदार्थ सेवन गर्ने हुनाले अधिकांश हिंसाका घटना पुरुषसिर्जित हुने गरेका छन्। त्यसैले समाजमा व्याप्त पुरुषप्रधान मानसिकतामा परिवर्तन हुनुपर्छ। महिलाका श्रम, विनयशीलता, सहनशीलता, लगनशील र मिहिनेती गुणको कदर गरिनुपर्छ।

कालिकोटमा पछिल्लो समय शिक्षित परिवारका महिला पनि हिंसामा पर्ने गरेका छन्। कालिकोटको महावै गाउँपालिका–७ की एक शिक्षित महिला नै हिंसामा परेकी हुन्। उनका पतिले मदिरापान गरी गाली गरेपछि जिल्ला प्रहरी कार्यालयमै पुगेर मिलापत्र गरिएको छ। उनी, उनका पति र माइती पक्षबिच मिलापत्र गरिएको प्रहरीले जनाएको छ।

बहुविवाह गर्ने धेरै

शुभकालिका–४ की सरी (परिवर्तित नाम) ले सानै उमेरमा सोही गाउँपालिका–३ का युवकसँग विवाह गरिन्। पहिले पहिले घरपरिवारसँग राम्रो सम्बन्ध रह्यो। एक वर्षपछि एक छोरा पनि जन्मियो अहिले उनको परिवारमा वज्रपात परेको छ।

पतिले दोस्रो विवाह गरेर फरार भएका छन्। उनी अहिले माइतीघरमा बस्न बाध्य छिन्। उनले भनिन्, ‘बहुविवाहको मुद्दा दर्ता गरूँ भने पतिले अर्को विवाह गरेर फरार छन्। मुद्दा दर्ता नगरूँ छोरा कसरी पाल्ने? माइतीघरमा बसेको पनि धेरै भयो। उनी जस्तै बहुविवाहको पीडामा पर्ने महिलाहरू पनि धेरै छन्। कतिपयले बहुविवाहको मुद्दा दर्ता गरी अदालतीय प्रक्रिया सुरु गरेका छन् त कतिपय हिंसा सहेर बसेका छन्।

प्रकाशित: १९ मंसिर २०८० ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App