४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

साना उद्यमीका लागि डिजिटल साक्षरता सुरु

तालिमका सहभागी तस्बिर: भीम/नागरिक।

उद्यमशीलता प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्र स्थापित गर्ने उद्देश्यले उद्यमीका लागि डिजिटल साक्षरता सुरु गरिएको छ। साना उद्यमीले उत्पादन गरेका गुणस्तरीय वस्तुको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि उद्यमीलाई नै डिजिटल माध्यमबाट उत्पादनको बजार विस्तारमा सहयोग गर्न थालिएको हो।

आन्तरिक उत्पादनको बजार प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा साना उद्यमीको पहुँच अभिवृद्धि गर्न इलाममा तालिम आयोजना गरिएको छ। स्थानीय उद्यमी महिलालाई लक्षित गरी दुई दिने ‘डिजिटल लिटरेसी तथा लेबलिङ, प्याकेजिङ’ तालिम सुरु भएको हो।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत साना उद्यमीको पहुँच पुर्‍याउनु यसको उद्देश्य रहेको तालिम आयोजनामा सहकार्य गरिरहेको महिला उद्यमी महासंघले जनाएको छ।

महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीले साना उद्यमीको उत्पादनमा गुणस्तर कायम गर्न र ग्राहकले खोजे अनुसारका वस्तु उत्पादनमा प्रोत्साहन गर्न पनि डिजिटल साक्षरता आवश्यक रहेको बताइन्।

‘पोहोर साल म इलाम आउँदा यहाँका उद्यमी महिलाको मेहनत निकै उदाहरणीय लागेको थियो,’ उनले भनिन्, ‘तर, स्थानीय उत्पादनको बजारीकरणमा डिजिटल सिस्टम प्रयोग हुन नसकेको देखेर यो तालिम सुरुमै इलाममा राखिएको हो। यो तालिम सैद्धान्तिक हो।’

अध्यक्ष ज्ञवालीले वस्तुको गुणस्तर पहिलो सर्त भएपनि लेबलिङ र प्याकेजिङले गुणस्तरमा सघाउने बताइन्।

‘वस्तुको लेबलिङ र प्याकेजिङले गुणस्तरमा टेवा दिन्छ,’ उनले भनिन्, ‘साना उद्यमीलाई लेबलिङ र प्याकेजिङको ज्ञान–सीप आवश्यक छ।’

महिला उद्यमी महासङ्घले विभिन्न जिल्लाहरूमा उद्योग तथा वाणिज्य आपूर्ति  मन्त्रालय अन्तर्गतकाे साना घरेलु तथा प्रवद्र्घन विभागसँग सहकार्य गर्दै दक्ष उद्यमी बनाउने उद्देश्यले यस्ता सिपमूलक तालिम सञ्चालन गर्दै आएको आएको छ। 

महासंघले इलामपछि नवलपरासी, धनगढी, पाल्पालगायत जिल्लामा सीपमूलक तालिम सञ्चालन गर्नेछ।

‘महिला उद्यमी महासंघले चाहिँ विशेष गरी सानो लगानी गरी जीविकोपार्जन र रोजगारी सिर्जना गरिरहेका उद्यमीलाई माथि उकास्ने लक्ष्य राखेको छ,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘तीनै तहका सरकारले आवश्यक प्रोत्साहनका कार्यक्रम दिन पनि एकले अर्कालाई देखाउने गरेकाले साना उद्यमी मारमा छन्। उनीहरूसँग तीनै तहका सरकारको समन्वय गराउने प्रयास पनि हामीले गरिरहेका छौं।’

उनले महासंघले साना उद्यमको लगानीमा सघाउन इच्छुक दातासँग पनि त्यस्ता उद्यमीलाई समन्वय गराउने बताइन्।

महासंघलाई लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले सघाइरहेको छ। केन्द्रका कार्यकारी अधिकृत दीपक घिमिरेले आवश्यकता र मागका आधारमा केन्द्रले विभिन्न सैद्धान्तिक र सीपमूलक तालिम सञ्चालन गरेको बताए।

‘महिला उद्यमी महासंघले साना उद्यमीको डिजिटल लिटरेसीका कार्यक्रम सञ्चालन गर्न निकै चासोपूर्वक माग गरेपछि हामीले जिल्ला–जिल्लामा तालिम गराउँदैछौं,’ घिमिरेले भने, ‘लागत सहभागितामा केन्द्रले यस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ।’

अनलाइनमार्फत हुने व्यापारलाई तालिमले बढावा दिने घिमिरेले बताए।

‘अनलाइनमार्फत सामान खरिद गर्नेको संख्या धेरै हुनसक्छ तर अनलाइनमार्फत उत्पादन विक्री गर्ने उद्यमीको संख्या बढाउन यो तालिम आयोजना गरिएको हो,’ घिमिरेले भने, ‘स्थानीय तहको सिफारिस र स्थानीय मागका आधारमा तालिम सञ्चालन गर्ने गरिएको छ।’

तालिममा उद्योग मन्त्रालयकी पूर्वसचिव यामकुमारी खतिवडा ‘कि नोट स्पिकर’ का रूपमा छिन्। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर अमित आचार्य, चन्द्रदेव जोशी र विकी झा तालिममा सहभागी छन् भने बासन्ती प्रधान र महालक्ष्मी श्रेष्ठले सहजीकरण गरिरहेका छन्। 

प्रकाशित: १६ मंसिर २०८० १३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App