१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

काठमाडौं महानगरको स्वर्णिम योजना कार्यान्वयनको चरणमा

काठमाडौं महानगरपालिकाले स्वर्णिम योजना अन्तर्गतको परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले बाँसुरी वादन प्रतियोगिता आयोजन गर्ने भएको छ।

कामपाले आफ्नो २९ औँ वार्षिकोत्सवका अवसरमा महानगरस्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजन गर्न लागेको हो।

यही मङ्सिर २७ गते राष्ट्रिय सभागृहमा आयोजना हुने प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई एक लाख ५० हजारका साथै शिल्डमा चाँदीको ठूलो बाँसुरी प्रदान गरिने कामपाको स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकारले जानकारी दिए।

दोस्रो हुनेलाई एक लाख नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रोलाई ५० हजार नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिने उनले बताए। प्रतियोगितामा सहभागी हुन कामपाको सम्पदा तथा पर्यटन विभागले दर्ता फाराम उपलब्ध गराएको छ।

मुनिकारका अनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन्। यसमा आठ जनाले बाँसुरीमात्र वादन गर्नुपर्नेछ। सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्ने उनले बताए। यो सम्भव नभए कम्तीमा ठूलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्ने उनले जानकारी दिए।

यस्तै, दुई जनाले नेवार समुदायमा बजाइने धातुबाट बनेका बाजा सहायक बाजाका रुपमा बजाउन पाउने मुनिकारले बताए।

एउटा धुन पाँच मिनेटभित्र सक्नु पर्ने भन्दै मुनिकारले चार मिनेटमा सङ्केत बज्ने जानकारी दिए। यदि छोटा धुन भए दुई वटासम्म मिलाएर बजाउन पाइन्छ। जसका लागि गीत नेपाल भाषाकै हुनुपर्छ।

कार्यक्रममा सहभागी सबैलाई प्रोत्साहन स्वरूप १० हजार नगद र प्रमाण दिने कामपाको तयारी छ। कामपाले यस वर्ष स्वर्णिम योजनाअन्तर्गत २५ विषयगत क्षेत्रका योजना छनोट गरेको छ। जसका लागि दुई अर्ब रकम विनियोजन गरिएको छ।

प्रकाशित: १६ मंसिर २०८० १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App