१ असार २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा गर्मीकै बिच १५ राज्यमा प्रि-मनसुनको कहर : आँधीबेहरी र चट्याङबाट ४८ जनाको मृत्यु

एकातर्फ चर्को गर्मीको लहर (लु) चलिरहेका बेला भारतका १५ भन्दा बढी राज्यहरूमा प्रि-मनसुन वर्षा र आँधीबेहरीले वितण्डा मच्चाएको छ। 

पछिल्लो २४ घण्टामा मात्रै बिहार र उत्तर प्रदेशमा आएको भीषण आँधीबेहरी, वर्षा र चट्याङका कारण ४८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जानकारी दिएको छ। मौसम पूर्वानुमान विभागले भारतका विभिन्न राज्यहरूमा प्रि-मनसुनको चेतावनी जारी गरेको छ भने आगामी सात दिनभित्र मुख्य मनसुन केरला आइपुग्ने अनुमान गरेको छ।

आँधीबेहरी र चट्याङका कारण सबैभन्दा बढी क्षति उत्तर प्रदेश र बिहारमा भएको छ। उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा गरी ३१ जनाको ज्यान गएको छ। त्यहाँको सहारनपुरमा भारी वर्षाका कारण पहाडबाट आएको आकस्मिक बाढीले एउटा इनोभा कार र ट्रयाक्टरसहित १० वटा सवारी साधन बगाएको छ। मौसम विभागले उत्तर प्रदेशका सबै ७५ वटै जिल्लामा वर्षाको चेतावनी (अलर्ट) जारी गरेको छ।

यस्तै, बिहारमा चट्याङ र आँधीका कारण १७ जनाको मृत्यु भएको छ। खराब मौसमका कारण बिहारको राजधानी पटनामा हवाई उडानहरू नराम्ररी प्रभावित भएका छन्। त्यहाँ चारवटा उडानलाई अन्यत्रै डाइभर्ट गरिएको छ भने १८ वटा उडान ढिलाइ हुँदा ५०० भन्दा बढी यात्रु अलपत्र परेका छन्। आज बिहारका २५ जिल्लामा वर्षाको अनुमान गरिएको छ।

गर्मीले सताइरहेको बेला प्रि-मनसुनले केही राहत दिएको छ। भारतका धेरैजसो सहरहरूमा अझै पनि तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि रहेको छ। यस्तो अवस्थामा मौसममा आएको उतारचढावले विशेष गरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्। यो मौसममा सामान्य लापरवाहीले पनि बालबालिकालाई 'हिट स्ट्रोक' (लु लाग्ने) हुन सक्ने भएकाले उनीहरूको आहार र दैनिक दिनचर्यामा ध्यान दिन सुझाव दिइएको छ।

भारतीय मौसम विज्ञान विभागका अनुसार आगामी सात दिनभित्र मनसुन केरला प्रवेश गर्ने भए पनि यस वर्षको मनसुन सामान्यभन्दा कमजोर रहने अनुमान गरिएको छ। जुनदेखि सेप्टेम्बरसम्म चल्ने यस वर्षको मनसुन सिजनमा देशभर औसत ७८ सेन्टिमिटर मात्र वर्षा हुने अपेक्षा गरिएको छ, जबकि भारतको राष्ट्रिय औसत वर्षा ८७ सेन्टिमिटर मानिन्छ।

मौसम विभागले बिहार र उत्तर प्रदेशमा सामान्य वर्षा हुन सक्ने बताए पनि भारतका अन्य धेरै भागहरूमा सामान्यभन्दा कम पानी पर्नेछ। मनसुन कमजोर हुँदा विशेष गरी वर्षामा निर्भर रहने भारतको कृषि क्षेत्र र किसानहरू बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: १६ जेष्ठ २०८३ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App