२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लुम्बिनी प्रदेशको दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको मर्मत संभारको शुभारम्भ

लुम्बिनी प्रदेश अन्तर्गत नेपाल –भारतको दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको मर्मत संभार कार्यको शुक्रवार शुभारम्भ गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुको आयोजनामा सीमा स्तम्भका मर्मत संभारको काम शुभारम्भ गरिएको हो। मधेस प्रदेशमा भने एक महिना अघि देखि नै सशस्त्र प्रहरीको अगुवाइमा सीमा स्तम्भ मर्मत संभारको काम सुरु भई सकेको छ।

 कपिलवस्तुको कृष्ण नगर नगरपालिका वडा नम्बर २ लिङ्क गेटको किनारमा रहेको ५ सय ६७ ( १ ) नम्बरको सहायक सीमा स्तम्भको मर्मत गरी कामको शुभारम्भ गरिएको हो। बाहिनी पति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री, कृष्ण नगर नगरपालिकाका मेयर रतज प्रताप शाह, भारतको बलरामपुर जिल्लाका सेक्सन ईन कमान्डका प्रमुख विकास राय सिंह, सहायक प्रजिअ अनिल पौडेलले सीमा स्तम्भमा करनीले मसला र पेन्ट लगाईकन मर्मत संभारको काम शुभारम्भ गरेका थिए। 

बिजोर नम्बरको नेपाल र जोर नम्बरको भारतले मर्मत सम्भारको जिम्मा पाएको छ। लुम्बिनी प्रदेशको कुल ४ सय ३५ किलो मिटर सीमा भारतसँग जोडिएको छ। जसमा ८ सय ८८ वटा सीमा स्तम्भ रहेको नापी विभागका पवन कुमार खत्रीले बताए। जस मध्ये ५ सय ६ वटा बिजोर नम्बरको मर्मत नेपालले गर्नेछ। लुम्बिनी प्रदेशको कपिलवस्तु नवलपरासी रुपन्देही, दाङ, बाँके र बर्दियामा रहेका सीमा  स्तम्भहरुको मर्मतको काम सुरु हुने बाहिनी पति खत्रीले बताए। नेपालमा भने कुल ८ हजार ५५३ सीमा स्तम्भ छन। कपिलवस्तुमा ठुलो सहायक र साना गरी कुल २ सय ७७ वटा सीमा स्तम्भको मर्मत गरिने सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले बताए।

कपिलवस्तुको ९३ किलो मिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ। जुन लुम्बिनी प्रदेश मै सबैभन्दा बढी हो। सीमा स्तम्भ पनि कपिलवस्तु मै सबै भन्दा बढी छन। रंग रोगन, २५ प्रतिशत क्षति भएको आंशिक, २५ देखि ५० प्रतिशत क्षति भएको मध्य र ५० प्रतिशत क्षति भएका सीमा स्तम्भहरुको  पूर्ण मर्मत गरिनेछ। सो अवसरमा बाहिनी पति खत्रीले लुम्बिनी प्रदेशमा रहेको सीमा स्तम्भहरूको मर्मत संभार कार्य सुरु भएको र यसमा सबैले साथ दिनु पर्ने बताए। उनले सीमा स्तम्भ देश कै लागि संवेदनशील विषय भएकाले यो कार्यमा सरोकारवाला सबै गम्भीर हुनु पर्ने बताए। सो अवसरमा सहायक प्रजिअ पौडेलले सीमा स्तम्भको मर्मत कार्यको सुरु हुनु खुसीको विषय भएकाले यसमा सबैले चासो दिनु पर्ने बताए। कपिलवस्तुमा रहेको ७ सीमा स्तम्भ भने हराएका छन।   

प्रकाशित: १५ मंसिर २०८० १५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App