१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

उजाड बन्दै बञ्चरेडाँडा, समाधान तर्फ राज्य मौन

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित गर्न नसक्दा बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रमा मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ।

करिव १२ वर्षदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित, प्रतिफलमुखी र वातावरणमैत्री बनाउने सरकारी प्रयास अहिलेसम्म पूर्ण हुन सकेको छैन।

त्यहाँँका स्थानीयहरुले बञ्चरेडाँडामा फोहोर फाल्न थाल्नुअघि नै जग्गा अधिग्रहण गरेर बस्ति स्थानान्तरण गर्नुपर्ने माग राख्दै आएका छन्। तर सरकारले अहिलेसम्म त्यस्तो तयारी गरेको पाइँदैन। 

नुवाकोटको ओखरपौवा र बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्र उजाड बन्ने अवस्थामा पुगेको स्थानीयवासीहरुले बताएका छन्। उनीहरुले काठमाडौं उपत्यकाको फोहोर उचित रुपमा दीर्घकालिन व्यवस्थापन सरकारले गर्न नसक्दा बञ्चरेडाँडा क्षेत्रमा मानव बस्ती बस्न सक्ने अवस्था नभएको उनीहरुले बताए।

फोहोर व्यवस्थापनको जिम्मेवारी लिएका सम्बन्धित निकाय र सरकार फोहोर व्यवस्थापनप्रतिको बेवास्ता हुँदा नागरिकहरुले बसोवास छोड्नुपर्ने अवस्था आएको उनीहरले सुनाए।

सरकारले बारम्बार स्थानीयहरुसँग गरेका सम्झौताहरू कार्यान्वयनमा इमान्दारिताका साथ पालना समेत नगरेको स्थानीयहरुको भनाई छ।

बञ्चरेडाँडाका स्थानीय प्रकाश घिमिरेले सरकारले फोहोर व्यवस्थापनलाई वैज्ञानिक बनाउन नसक्दा बञ्चरेडाँडाका स्थानीयहरुको स्वास्थमा समस्या आउन थालेको बताए।

उनले हरेक वर्ष ५ देखि १० जना मानिसहरु र पशुपंक्षीहरुको समेत क्यान्सरको कारण मुत्यु हुन थालेको जिकिर गरे। फोहोरको गन्ध पुग्ने जति स्थानमा खेती समेत हुन छोडेको उनको भनाइ थियो।  

स्थानीयवासी घिमिरेले फोहोरको दुषित गन्धको हावाको कारण मानिसहरुलाई श्वासप्रश्वासमा नै समस्या परेको दुखेसो पोखे। उनले फोहोरको गन्धको कारण घरभित्र बसेर खाना खान समेत सक्ने अवस्था नभएको बताए।

उनले वातावरण प्रभाव मूल्यांकन टोलीहरु आएर फोहोरबाट निस्कने मिथेन ग्यासको असरको कारण यो क्षेत्रमा मानिसहरु बस्न नहुने भने पनि सरकारले उचित कदम अहिलेसम्म नचालेको गुनासो गरे।  

उनले सिसडोल र बञ्चरेडाँडामा फोहोर विसर्जन गरी सरकारले मानव स्वास्थ्यमाथि खेलवाड गरिरहेको बताए। 

त्यस्तै, अर्का स्थानीय शिवराम घिमिरेको पनि भनाई पनि उस्तै छ। उनले बञ्चरेडाँडामा उपत्यकाको फोहोर विसर्जन क्षेत्रका मानिसहरुमा फोहोरको गन्धको कारण मानव स्वास्थ्यमा ठूलो असर पर्दा समेत राज्य मौन बसेको बताए।

उनले ओखरपौवा, सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्र स्थानीयहरुले बाच्न पाउने अधिकार समेत गुमाएको जस्तो भान भइरहेको उल्लेख गरे। उपत्यकाको फोहोर व्यवस्थापन कुन निकायले गर्ने भन्ने नै अन्योल देखिएको पाएको उनले सुनाए।

त्यस्तै, अर्का स्थानीयवासी नारायणप्रसाद घिमिरेले सरकारले एक घर एक रोजगार दिने भनेर फकाएर बञ्चरेडाँडामा उपत्यकाको फोहोर ल्याएर फालेको भन्दै सरकारले बस्तीलाई स्थानान्तरण गर्न आवश्यक रहेको बताए।

उनले सोझा जनतालाई ललिपप्प देखाएर फोहोर जहाँ त्यहाँ मोहर भने पनि अहिलेसम्म केही नभएको गुनासो गरे। उनले सरकारले मुआब्जा दिएर बस्ती स्थानान्तरण तत्काल नगरे फोहोर फाल्न बन्द गर्नुपर्ने माग राखे।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन वैज्ञानिक हुन नसक्दा समय–समयमा फोहोर व्यवस्थापनमा समस्या आउने गरेको छ। वैज्ञानिक फोहोर व्यवस्थापन गरी फोहोरबाट प्रभावित जनताको माग सम्बोधन गर्ने काममा सबै पक्ष मौन छन्।

सिसडोल बञ्चरेडाँडा व्यवस्थापन सरोकार समिति अध्यक्ष नवराज ढुङ्गानाले राज्यले वैज्ञानिक फोहोर व्यवस्थापनमा खासै चासो नदिएको बताए। उनले फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने विषय नेपालको मात्रै नभएर विश्वका धेरै देशमा समस्या रहेको भन्दै वैज्ञानिक व्यवस्थापन गर्ने तरिका सिकाउन विदेश पठाएका विज्ञ समेत सिकेको सिप आफूमा मात्रै सिमित राख्ने काम गरेको बताए।

उनले फोहोर प्रशोधन गर्ने उद्योग स्थापना समेत गरेर फोहोर व्यवस्थापन गर्न सकिने अवस्था रहेको बताए। मानव बस्तीबाट फोहोर व्यवस्थापन गर्ने सेनेटरी ल्याण्डफिल्ड साइट कति किलोमिटर टाढा हुनुपर्छ भन्ने कुरा थाहा हुँदा हुँदै पनि सरकारले त्यो काम गर्न नखाजेको उनकाे जिकिर थियाे। सरकारले फोहोर व्यवस्थापन गर्न अर्बौंको बजेट बनाउने तर काम नगर्ने अवस्था रहेको उनले बताए।

वैज्ञानिक फोहोर व्यवस्थापन गर्न नेपालमा ठूलो समस्या र चुनौति रहेको पूर्वाधार विज्ञ आशिष गजुरेलले बताउँछन्। उनले सार्वजनिक निजी साझेदारीमार्फत वैज्ञानिक रुपमा फोहोरको व्यवस्थापन गर्ने भनेर राज्य अगाडि बढेको भन्दै प्रारम्भिक रुपमा हस्ताक्षर समेत भएको सुनाए।

उनले २००९ देखि २०२३ सम्मको परिवर्तनलाई विश्लेषण गरेर कसरी सामधान गर्ने भन्ने विषयमा अगाडि बढ्नुपर्ने बताए। वास्तविक अवस्थाको विश्लेषण गरेर समाधान गर्ने भन्दा पनि अनेक किसिमका उपायहरु खोज्दा प्रक्रिया लामो हुँदै गएको उनको भनाइ थियो।

प्रकाशित: ११ मंसिर २०८० १२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App