३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

डोल्पाबाट मुस्ताङ आउँदै गर्दा हराएका पर्यटक र गाईडको सकुशल उद्धार

मुस्ताङमा उद्धार गरिएका पर्यटक। तस्बिरः नागरिक

डोल्पाबाट पदयात्रा गर्दै मुस्ताङ आउने क्रममा पाँचदिनदेखि सम्पर्कविहीन बनेका विदेशी पर्यटक सहितको समूहलाई मुस्ताङ प्रहरीले सकुशल उद्धार गरेको छ। पदयात्राको क्रममा डोल्पाबाट पसेर मुस्ताङ निस्कने क्रममा उनीहरुले बाटो बिराएका थिए।  

पाँचदिनदेखि सम्पर्कविहीन भएका उनीहरु तीनदिनदेखि भोकभोकै परेका थिए। बीचमा संचार सम्पर्क टुट्दा दुइजना नेपाली सहयोगी र दुइजना विदेशी पर्यटक गरि चारजना समस्यामा परेका थिए। मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीस्थित घारगुम्बा माथिको खोँचबाट ती पर्यटक र नेपाली सहयोगीलाई सकुशल उद्धार गरेको प्रहरीले बताएको छ।  

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार इटालियन नागरिक वर्ष ४५ की एरिआना रेजिस र स्वीटजरल्याण्डका ४५ वर्षि मार्काे गाजोला र नेपाली गाइडहरु पेम्बा शेर्पा र नांखा शेर्पालाई उद्धार गरिएको हो। ‘तीनदिनदेखि उनीहरु भोकै रहेछन्। डोल्पाबाट मुस्ताङ आउँदै गर्दा उनीहरुले बाटो बिराएछन,’ पाण्डेले भने, ‘बीचमा टेलिफोन सम्पर्क पनि टुटेछ। त्यसले गर्दा समस्यामा परेछन्।’ खानेकुरा नपाउँदा बरफ खानुपरेको पनि उनीहरुले प्रहरीलाई जानकारी दिएका थिए।

बीचमा सम्पर्कविहीन भएका उनीहरु मध्ये गाइड पेम्बा शेर्पाले बोकेको मोवाइलको लोकेसन पत्ता लागेपछि पदयात्रा कम्पनिमार्फत खोजीमा गएको हेलिकप्टर र प्रहरीलाई उनीहरुलाई उद्धार गरेको डिएसपी पाण्डेले जानकारी दिए। अल्टिच्यूड हेलिकप्टरमा खटिएको टोलीले उनीहरुलाई फेला पारेर पोखरा पठाएको डिएसपी पाण्डेले जानकारी दिए । ‘पोखरा पुगेपछि उनीहरुको अवस्था सामान्य भएको थाहा पाएका छौं,’ पाण्डेले भने। पाँचदिनसम्म सम्पर्कविहीन भएका पर्यटक र नेपाली गाइड शारिरिक रुपमा कमजोर बनेको उनले बताए।  

प्रकाशित: ८ मंसिर २०८० ०९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App