१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सपना बेलायतको: लामा दम्पतीबाट ठगिए ५० भन्दा बढी व्यक्ति

उत्कृष्ट सेवा सुविधा र तलबसहित बेलायतमा जागिर मिलाइदिने प्रलोभनमा पारेर काभ्रेका अमृत लामाले आफूहरूबाट करोडौँ रुपैयाँ उठाएको पीडितहरू गुनासो गरेका छन्।

बेलायत पुग्ने सपनाले गर्दा ५० जना भन्दा बढी व्यक्ति ठगिएका छन्। लामा विरुद्ध उजुरी दिन ती पीडित बुधवारदेखि वैदेशिक रोजगार विभाग धाउन सुरु गरेका छन्।

लामाको फन्दामा पर्ने प्रायः युवा काभ्रेका हुन्। ‘विदेशी सपनाले नराम्रोसँग फसियो। काम गरेर बिहान बेलुका छाक टार्नु पर्ने गरिबलाई विभाग धाइरहनु परेको छ। लामाको मिठो बोलीमा सहजै फसेँ। अहिले लामा सम्पर्क विहीन छ,’ काभ्रेकै एक पीडित भन्छन्, ‘सामाजिक सञ्जालबाट सहजै फस्यौँ। फेसबुक चलाउनाले आज ४ लाख रुपैयाँ गयो। सामाजिक सञ्जालकै कारण आज घर न घाटको भइयो। बेलायत जाने सपनाले ऋण काढेर लाखौँ लाख पैसा लामालाई बुझाएको आज उसले यो दिन देखायो। न्याय माग्न विभागको ढोकामा आएका छौँ, के हुन्छ थाहा छैन ?’

लामाले आफ्नै काभ्रेवासीसँग त छलकपट गरे गरे हुँदाहुँदै ललितपुर, मकवानपुर, भक्तपुर, बारा र बागलुङका युवाबाट डेढदेखि चार लाख रुपैयाँ सम्म लामाले उठाएको पीडितको दाबी छ। बेलायतमा कमाई राम्रो छ, घण्टा बराबरको दश पाउन्ड हुन्छ, पिर चिन्ता केही लिनु पर्दैन। बेलायतमा आफ्नै भतिजो रहेको भन्दै लामाले ती युवालाई मक्ख पारेको विवरण पीडितहरूले दिए।

‘हेर्दामा लामा धेरै सोझा थिए। उनको भित्री वास्तविकता हामीले पहिचान गर्न सकेनौँ। सबैलाई कुराले मक्ख बनाउने उसको बानी थियो। ५०–६० जना युवा माझमा लामा साह्रै प्रिय थिए। हामीबिच लामाले शङ्का गर्ने ठाउँ एक प्रतिशत पनि छोडेन। उसको बोलीमा दम थियो। हाम्रो पैसा कसरी फुत्कियो चाल पाएनौँ,’ विभाग धाएका युवाहरू मध्ये एक पीडितले भने। 

पीडितहरूले भनेअनुसार लामा दसैँ अगाडि नै उनीहरूबाट सम्पर्कविहीन भएका थिए। कलंकीस्थित खसिबजार नजिक दुई कोठा भाडामा लिई बेलायत पठाउने भन्दै प्राय युवालाई त्यहाँ बोलाएको जानकारी पीडितहरूले दिए। 

‘दसैँ अगाडि नै बेलायत उडाउने भनेका लामाले आज तिहार सकिदा विभागमा धाउने बनाएको छ,’ मकवानपुरका पीडितले भने, ‘बेलायत पठाउने भन्दै खसी बजारमा खोलिएको त्यो कोठामा केही थिएन। दुई वटा सोफा र दुईचार वटा कुर्सी बाहेक अन्य केही थिएनन्। त्यही कोठामा बसेर पनि लामाले ठुलै गफ छाँट्थ्यो। उसले दिएको गफ नेताले दिएको भाषण भन्दा ठुलो थियो। होला त भन्ने पनि लाग्यो। आज लामाले यस्तो हालतमा पारी ऊ सम्पर्क विहीन छ।’

लामालाई हेर्दा, बोल्दा र बुझ्दा सबैले सोझो ठान्ने गरेको पीडितहरूले बताए। ‘बेलायत जान दुईचार जनाले मात्र पैसा दिएका भए पनि पत्याउन सकिँदैनथ्यो। ४०–५० जना साथी सबैले पैसा दिँदा कसरी विश्वास नगर्नुरु लामाले फेरी पैसा दिने जति सबैको धमाधम काम भइरहेको छ भन्दै सुनाउँथ्यो। मैले पनि डेढ लाख दिएको छु,’ लामाकै जिल्लावासी छिमेकी एक पीडितले भने।

बेलायत उडाउने भनेर लाखौँ लाख पैसा उठाएका लामा दसैँ अगाडि नै बेपत्ता भएको पीडितले बताए। लामालाई खोज्ने क्रममा उसको घर पुग्दा समेत फेला नपरेपछि ठगीको पन्जामा परेका युवाहरू न्याय माग्दै विभाग आएका थिए। लामालाई कानुनबमोजिमको सजाय र बेलायत पठाउने भन्दै असुल गरिएको पैसाको माग गर्दै पीडितहरू विभाग पुगेका थिए।

यी सबै युवाहरूलाई ठगी गर्ने लामा मात्र नभएर उनकी पत्नी चमेलीमाया सिङताङ पनि रहेकी छिन्। बेलायतको सपना देखाई ठगी गर्दै आएका लामाको बैङ्क खातामा केही युवाले मोटो रकम हालेका थिए भने प्राय पीडितले लामाकी पत्नी सिङताङको बैङ्क खातामा पनि लाखौँ लाख रुपैयाँ हालिदिएको बताए।

म्यानपावर तथा दलालहरूले वैदेशिक रोजगारीमा पठाउने विभिन्न प्रलोभन दिई आर्थिक रूपले कमजोर वर्गका युवालाई ठग्ने प्रवृत्ति भयावह छ। स्वदेशमा बेरोजगारीले छटपटिएका युवालाई दिनप्रतिदिन ठग्ने झन् धेरै चलाख मानिसहरू पाइलैपिच्छे रहेका छन्।

बेरोजगारीले पिरोलिएका सर्वसाधारण युवा सचेत नहुँदा वैदेशिक रोजगारीको बहानामा ठगीको सिकार बन्ने क्रम बढ्दै गइरहेको छ। ठगी गर्नेलाई कानुनी कारबाही फितलो भइरहेको पीडितहरूको गुनासो छ।

विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार विदेश पठाउने नाममा अचाक्ली रकम असुल्ने तर नपठाउने गरेका छन्। त्यो मात्रै होइन, धेरै पारिश्रमिक तोक्ने तर न्यून मात्रै उपलब्ध गराउने गरेको उनले बताए। यस्तै एउटा काम भनी अर्कोमा लगाउने, सम्झौताबेगर अर्कै कम्पनीको भिसा दिने, विकसित मुलुक भनेर धेरै रकम असुली गरी त्यहाँ नपठाएका उजुरी परेको उप्रेती बताउँछन्।

‘निवेदक र पिडकबिच छलफल गराउँछौँ’, निर्देशक उप्रेती भन्छन्, ‘दुवैको कुरा सुनी मिलापत्र भए मिलापत्र गराएर टुङ्ग्याउँछौ। पीडितले चित्त नबुझाए मुद्दा दायर गर्छौ ।’ धेरै दलाल र म्यानपावरले कमाऊ धन्दा अँगालेकाले वैदेशिक रोजगारीमा विकृति बढ्दै गएको अधिवक्ता सोम लुइँटेलले बताए।

श्रम मन्त्रालयले २०७२ सालमा फ्री भिसा, फ्री टिकटको व्यवस्था ल्याएको थियो। यसमा सेवा शुल्क १० हजारभन्दा बढी लिन नपाइने भनियो। तर, व्यवसायीले २० गुणाभन्दा बढी रकम कामदारबाट असुल्ने गरेका छन्। १ लाख आसपास त प्रायले तिरिरहेका छन्।

तर, सरकारले व्यवसायीलाई कारबाही गर्न सकेको छैन,’ अधिवक्ता लुइँटेल भन्छन्, ‘प्रभावकारी कार्यान्वयन हुन सकेको भए यसरी ठगी, बाध्यकारी श्रम शोषण, बेचबिखन हुने थिएन।’ अधिवक्ता लुइँटेल पीडितलाई कानुनी अधिकार थाहा नहुँदा पनि धेरै ठगी भएको बताउँछन्। ‘यथेष्ट प्रमाण देखिए मात्रै कार्यान्वयन हुने भएकाले धेरै श्रमिकसँग प्रमाण सुरक्षित नहुँदा ठगिएका छन्,’ उनी भन्छन् ।

‘ऐन, नियम कार्यान्वयन नहुने, छिटोछरितो न्याय प्राप्त नहुने, पर्याप्त अनुसन्धान नहुने भएकाले पनि श्रमिक ठगीमा परेका छन्। ‘विभागले प्रभावकारी अनुसन्धान गरे मात्रै पीडितले न्याय पाउँछन्,’ लुइँटेलले भने।

सूचना अधिकारी उप्रेतीका अनुसार विभागमा धेरै व्यक्तिगत उजुरी आउने गरेका छन्। गत आर्थिक वर्ष २०७९/८० मा विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा करिब ४४ हजार ५ सय उजुरी परेका छन्। ‘वैदेशिक रोजगारीमा अशिक्षित भन्दा शिक्षित युवा धेरै ठगीमा पर्ने गरेका छन्,’ उनले भने, ‘पढेलेखेका युवाहरू खाडी भन्दा युरोप जान इच्छुक हुने गरेका छन्। सामाजिक सञ्जालबाट अत्यधिक युवाहरू ठगिएका छन्। खाडीमा गएका नेपाली युवाहरूले पनि युरोपलाई लक्षित गरिरहेका छन्। जसका कारण ठगीमा धेरै पर्छन्।’

वैदेशिक रोजगारीमा जान लागेका व्यक्ति र उसको परिवार बेलैमा सचेत हुने हो भने ठगीको सम्भावना नरहने निर्देशक उप्रेतीले जानकारी गराए। पैसा बुझाउने बेलामा कागज नगरिएका धेरै घटना पाइएका छन्। वैदेशिक रोजगारी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार यस क्षेत्रमा नियतवश ठगी हुने गरेको बताए।

प्रकाशित: ८ मंसिर २०८० ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App