२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

जगदीशपुर तालमा छाडिए १० हजार माछाका भुरा

विश्व मत्स्यपालन दिवसका अवसरमा कपिलवस्तु नगरपालिकास्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा १० हजार माछाका भुरा हालिएको छ। ‘जलीय जैविक विविधताको संरक्षण गरी आश्रित समुदायको रोजगारी सुनिश्चित गरौं’ भन्ने नारासहित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दिवसका अवसरमा तालमा स्थानीय र विकासी जातका माछाका भुरा हालेको हो।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङ, विज्ञ केन्द्रका प्रमुख डा. परवेज आलमलगायतले तालमा भुरा हालेका थिए।

तालमा कमन, सिल्भर, रहु र नैनीका भुरा अढाई हजारका दरले हालिएको विज्ञ केन्द्रका प्रमुख आलमले बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख आचार्यले व्यावसायिक माछापालनमा कृषकलाई आकर्षित गर्ने खालका कार्यत्रलम ल्याउनुपर्ने बताए।

उत्पादन गरेका माछाको बजारीकरणका लागि सरकारले पहल गर्नुपर्ने आचार्यले बताए। उनले भारतबाट अवैधरूपमा आयात हुने माछालाई रोक्न सीमा नाकामै कडाइ गर्नुपर्नेमा जोड दिए।

बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङले मनोरम तालमा विज्ञ केन्द्रले माछाका भुरा हाल्नु राम्रो भएको बताए। उनले एक सय ५७ हेक्टरमा फैलिएको तालमा ३० किलो बढीका माछा र विभिन्न पक्षी समेत रहेको बताए। उनले तालमा रहेका माछालाई सरकारले व्यवस्थापन गर्न दिनुपर्ने माग गरे।

कार्यक्रममा विज्ञ केन्द्रका प्रमुख आलमले माछामा प्रोटिनको मात्रा बढी पाइने, आयआर्जनको माध्यम, औषधीय गुणले भरिपूर्ण रहेको तथा पर्यटन र मनोरञ्जनको साधन भएकाले माछाको महत्व रहेको बताए। उनले तालमा रहेका माछाको संरक्षण र प्रवद्र्धनका लागि भुरा हालिएको बताए।

कपिलवस्तुमा माछाको व्यावसायिक प्रवद्र्धन गरी आयआर्जन गर्ने प्रशस्त सम्भावना रहेको बताए। उनले देशमा ९१ हजार आठ सय ३२ र कपिलवस्तुमा दुई हजार ३४ मेट्रिक टन माछा उत्पादन हुने गरेको बताए। मत्स्य विकास अधिकृत रामकेश यादवले माछा उत्पादनमा जिल्ला आत्मनिर्भर रहेको बताए।

जिल्लामा ३७ वटा तालतलैया र चार सय ८० हेक्टर प्राकृतिक जलाशय रहेका छन्। प्राकृतिक जलाशयबाट जिल्लाको कुल उत्पादनमध्ये ३० प्रतिशत हिस्सा त्यहींबाट आउने गर्छ। उनले कपिलवस्तुलाई माछाको पकेट क्षेत्र बनाउनका लागि कृषकलाई माछापालनतर्फ आकर्षित गराउन अनुदान दिनुपर्ने बताए।

प्रकाशित: ६ मंसिर २०८० ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App