१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नियम मिचेर विदेश भ्रमणमा कर्मचारी

सरकारले बनाएको कार्यविधि लत्त्याउँदै निजामती कर्मचारी विदेश भ्रमणमा सहभागी हुन थालेका छन्।

सहरी विकास मन्त्रालयका सहसचिव तथा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ तथा मन्त्रालयका सहसचिव विनु बज्राचार्य एक हप्ता लामो जापान भ्रमण पूरा गरेर मंगलबार मात्र स्वदेश फर्किएका छन्।

स्मार्ट सिटीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा भाग लिन उनीहरू जापान पुगेका थिए। यो कार्यक्रमको सबै खर्च नेपाल सरकारले नै व्यहोरेको थियो। आगामी फागुनमा ५८ वर्षीय उमेर हदको कारण श्रेष्ठ अनिवार्य अवकाशमा जाँदैछन्। 

कार्यविधिअनुसार अवकाश पाउनै लागेको कर्मचारीले सामान्यता विदेश भ्रमण गर्न पाउँदैनन्। अवकाश पाउन लागेका कर्मचारीको विदेश भ्रमण राज्यका लागि अनुत्पादक खर्च हो। यस नियमलाई मन्त्रालयका अन्य उच्च कर्मचारीहरूले पनि बारम्बार उल्लंघन गर्ने गरेका छन्।

तत्कालीन सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ पनि अवकाशको एक साताअघि मात्र असोजमा सरकारी खर्चबाट विदेश भ्रमणमा गएका थिए। उनी सहरी विकासमन्त्री सीता गुरुङको नेतृत्वमा नेदरल्याण्ड, जर्मनी, फ्रान्स लगायतका देशमा भ्रमण गर्न गएका हुन्।

भ्रमणमा मन्त्रालयका सहसचिव दिलीप भण्डारी, नगर विकास कोषका कृष्णप्रसाद सापकोटालगायतका कर्मचारी पनि सहभागी थिए। त्यस भ्रमणको करिब एक महिनापछि सहरी विकासमन्त्री गुरुङको नेतृत्वमा अर्को टोलीले यही कात्तिक महिनाको पहिलो साता मलेसिया भ्रमण गरेको थियो। 

टोलीमा मन्त्रालयका अर्का सहसचिव पदम मैनालीलगायतका कर्मचारी सहभागी भएका थिए। एक महिनाबीचमा मैनालीले दोस्रो पटक विदेश भ्रमण गरेका छन्। तिहारको संघारमा उनी इन्डोनेसियासम्म पुगेका थिए। दसैंका संघारमा मन्त्रालयका अर्का सहसचिव तथा अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका सदस्यसचिव चक्रवर्ती कण्ठ युरोप भ्रमणमा गएका थिए।

मन्त्रालय स्रोतका अनुसार अबको एक सातामा मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर चन्द्र शेखर महतोको नेतृत्वमा कर्मचारीहरूको अर्को एउटा टोली चीन भ्रमण गर्न जाने भएको छ। यस भ्रमणलाई मन्त्रालयले स्वीकृति दिइसकेको छ।

मन्त्रालयका एक उपसचिवले भने, ‘विशेष गरी माथिल्लो तहका कर्मचारीमा विदेश भ्रमण गर्ने लोभ यसरी बढेको छ कि आवश्यक नभएका कार्यक्रममा पनि सरकारी खर्चबाट विदेश भ्रमण गर्न गएको देखिएको छ। यहाँसम्मकी, विषयगत ज्ञान एउटा कर्मचारीसँग हुन्छ तर अर्को कर्मचारी ज्ञान नै नभएको कार्यक्रममा विदेश भ्रमणमा गएको देखिन्छ।’

मन्त्रालयकी सहसचिव तथा प्रवक्ता विनु बज्राचार्य भने कर्मचारीले गर्ने विदेश भ्रमणको बचाउ गरिन्। आवश्यक कार्यक्रममा मात्र सहरी विकास मन्त्रालयका कर्मचारीहरू विदेश भ्रमणमा जाने गरेको उनको भनाइ छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि यस्तै अवस्था छ। मन्त्रालयका उच्च कर्मचारीहरू धेरैजसो विदेश भ्रमणमै व्यस्त हुने गरेका छन्। मन्त्रालयका सहसचिव सुमन दाहाल यति बेला अमेरिका भ्रमणमा व्यस्त छन्।

सरकारले सार्वजनिक खर्च घटाउन कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्दै कार्यविधि बनाएको छ। सरकारले बनाएको कार्यविधिलाई उच्च कर्मचारीहरू तथा संघीय सरकारका मन्त्रीहरूले नै बारम्बार उल्लंघन गर्दै आएका छन्।

प्रकाशित: ५ मंसिर २०८० १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App