२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

छतमै मनाइयो छठ

छठ पूजा जलाशयमै गएर गर्नुपर्ने सांस्कृतिक परम्परा भए पनि पछिल्लो समय घरका छतमै मनाउने चलन बढ्न थालेको छ। आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिन काठमाडौंको टंकेश्वरस्थित विष्णुमती नदीमा देखिने छठ व्रतालुको भिड कम थियो भने आफ्नै घरका छतमा पूजा गर्नेहरू उल्लेख्य देखिन्थे।

जलाशायहरू फोहोर, दुर्गन्धित र ज्यादै भिडभाड हुने भएकाले विकल्पका रूपमा छतमै छठ मनाउने चलन बढ्न थालेको काठमाडौं वाफलकी पुनम रौनियारले बताइन्। उनी आठ वर्षदेखि छठको व्रत बस्दै आएकी छिन्। विगतमा नदी किनारमा गएर पूजा गर्ने गरेको भए पनि कोरोनाकालमा घरको छतमै छठ मनाउन सुरु गरेको उनको भनाइ छ। उनले मन चोखो भए बाँटाको पानीमै भगवान् भेटिने बताउँदै भोजपुरी भाषाको प्रचलित भनाइ राखिन्, ‘मन चंगा त कठौतीमें गंगा। चोखो मनले पूजा गरे घरमै  भगवान् भेटिन्छन्।’

उनको घरको छतमा इँटा र सिमेन्टले बारेर पोखरीजस्तै छतमा बनाई गंगाजल मिसाएर पवित्र जलाशय बनाइएको थियो। त्यसमा फूल र रंगीचंगी कपडाले सजाइएर घाटको स्वरूप दिइयो। त्यसैलाई जलाशाय मानेर विधिपूर्वक पूजा गरेको उनले बताइन्। ‘एक त विष्ण्ुमती नदीमा ढल बग्ने भएर धेरै फोहोर र दुर्गन्धित छ, अर्कातिर नदी किनारमा बस्ने ठाउँसमेत व्यवस्थित छैन,’ उनले विगतको भोगाइ सुनाइन्, ‘जलशायमा नुहाएर खुट्टा डुबाई चिसो शरीरले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने छठको मुख्य चलन हो। तर, प्रदूषित नदीको पानी खुटामा पर्दा खुट्टा चिलाउने र एलर्जी हुन्छ।’  

यस पटक कालिमाटी क्षेत्रका विष्णुमती किनारमा व्रतालुको भिड कम थियो। लगनटोलकी बेवी गुप्ताले पनि नदी फोहोर र अव्यवस्थित भएकै कारण घरको छतमै जलाशय बनाएर छठ मनाएको बताइन्। ‘खासमा छठ व्रतमा भनेको नदी, तलाउ तथा जलशालयमै गएर पानीमा खुट्टा डुबाएर उभिएर पूजा गर्नु पर्छ। पर्वकै बाहनामा भए पनि वर्षभरि भेट नभएका इष्टभित्र भेट हुने र एक अर्कासँग खुसीयाली साट्न पनि परिवारसहित जलशायमा पुग्ने गरिन्थ्यो।’

विगत ६० वर्षदेखि छठ व्रत बस्दै आएकी सुन्धाराकी ७३ वर्षीय मायादेवी रौनियार पनि अचेल नदी तलाउ फोहोर हुँदै गएका कारण घरको छतमै पूजा गरेको बताइन्। ‘५० वर्षअघि विष्णुमती किनारमा छठ व्रत बस्दा कति आनन्द महसुस हुन्थ्यो, स्वच्छ पानी बग्थ्यो। हामी जलशालयमै नुहाएर पानीमा डुबुल्की लगाएर चिसो शारीरमै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ मनाउने गथ्र्यौं,’ उनले भनिन्, ‘यति मात्र होइन सबै परिवार आउँदा छोराछोरीलाई चिनाउने माध्यम पनि थियो। यहीँबाटै विवाहसमेत तय हुन्थ्यो। रातभर घाटमै जागराम बसेरसमेत व्रत बस्थ्यौं। तर आज दुर्गन्धित भएकै कारण नदी किनारमा उभिन सक्ने पनि अवस्था छैन। त्यही भएर बुहारीलाई पनि मैले छतमै छठ पूजा गर्न लगाएँ।’

केही व्रतालुले भने फोहोर नै भए पनि खोला किनारमै गएर व्रत सम्पन्न गरेका थिए। अरू समयमा विष्णुमती किनारमा जानसमेत त्रास मन्ने छठ परमेश्वरीप्रतिको आस्था र विश्वासकै कारण आफूहरू खोला किनारमै आएर बसेर धर्मको मर्मअनुसार व्रत पूजा गरेको निर्मलादेवी रौनियारले बताइन्। ५५ वर्षीय निर्मला विगत ३५ वर्षदेखि छठ व्रत बस्दै आएकी छिन्। ‘कोरोनो कालमा मैले पनि छतमा गरे तर मनै मानेन,’ निर्मलाले सोमबार उदाउँदो सूर्यलाई विष्णुमति किनारमै अर्घ दिएसँगै भनिन्, ‘जलशालय जति फोहोर भए पनि हाम्रो आस्था र विश्वासका कारण हामीलाई यही पानी गंगा लाग्ने।’

संस्कृतिविद् रामभरोस कापडी (भ्रमर)ले छठ पर्व लोक आस्था र संस्कृतिसँग जोडिएको हुनाले परम्परा र विधिविधानपूर्वक गर्नुपर्ने पर्व रहेको बताउँछन्। यसमा पवित्रता र शुद्धताको विशेष ख्याल राख्नु पर्ने भन्दै उनले छठ प्रकृति पूजासँग जोएिकाले पर्वकै निहुँमा भए पनि नदी, तलाउ तथा पोखरी स्वच्छ , सफा र पवित्र गर्ने परम्परा छरहेको बताउँछन्। कम्तीमा वर्षको एकपटक छठकै निहुँमा देशभरिका व्रतालु, जनसमुदाय, टोल, छिमेक र स्थानीय मिलेर नजिकैको जलशालय सफा गर्ने, पानी स्वच्छ पार्ने, घाट सिंगार्ने काम गर्ने गरेको कापडको भनाइ छ। 

उनले नगरपालिका, गाउँपालिका, स्थानीय सरकार, समुदाय तथा केन्द्र सरकारले बजेट छुटाएर नदि खोला सफाइ गर्नुपर्नेमा जोड दिए। ‘सांस्कृतिक दृष्टिले छतमा छठ उचित होइन। छठ पर्व कृषितन्त्रमा आधारित पर्व हो,’ उनले भने, ‘जसरी दिपावलीमा दियो बालेर उमंगसाथ मनाउँदा हानिकारण किटाणु मरेर स्वच्छता आउँछ त्यसरी नै छठ जलाशयमा मनाउँदा जलाशय सफा, स्वच्छ र पवित्र बन्छ। नदी जीवन पद्धतिको प्रमुख स्रोत भएकाले पनि राज्यले छठ पर्वकै निहुँमा सरसफाइ गरी पूजाको वातारण बनाउनुपर्छ।’

प्रकाशित: ५ मंसिर २०८० ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App