१७ फाल्गुन २०८० बिहीबार
समाज

घुमुवा र सुराकी प्रहरी खटाउने कानुनै छैन

प्रहरीले सादा पोसाकमा घुमुवा र सुराकी खटाउने कुनै पनि कानुनी व्यवस्था नभएको भेटिएको छ। घुमुवामा रहेका एक प्रहरीले अन्य व्यक्तिसँग मिलेर आफूसँग नभएको अधिकार प्रयोग गरेर बुद्ध चित्त लुटेपछि अदालतमा डाँका मुद्दा दर्ता भएको थियो।

२०७१ साल असार २९ मा राज दोङले काभ्रेपलान्चोकको मेच्छेबाट भक्तपुरतर्फ टिपरमा बुद्ध चित्त माला बेच्नका लागि ल्याएका थिए। एक मालामा १०८ दानाको दरले हुने ७२ थान बुद्ध चित्त मालाको दाना रहेका थिए। काभ्रेको साबिकको मेच्छे गाविस ८ बाट काइला लामासँग बुद्ध चित्त मालाको दाना खरिद गरी ल्याएका थिए।

बाटोमा आउँदै गर्दा घुमुवामा रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी हवल्दार रविन चौगुठीले स्कूटीमा चढी आएका लोकेन्द्र तोलाङ्गे, म्यान्डम नाम बताउने व्यक्ति, राजु लामा, जयकृष्ण श्रेष्ठसँग मिलेर टिपरलाई जबरजस्ती रोकेर डर त्रासमा पारी बुद्ध चित्त माला चोरी गरेका थिए।

सर्वोच्च अदालतले नेपाल प्रहरीमा अपराध अनुसन्धान लगायतमा घुमुवा वा सुराकी परिचालनका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने फैसला गरेको छ। कायममुकायम प्रधानन्यायाधीश (हाल प्रधानन्यायाधीश) विश्म्भरप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद फुयालको संयुक्त इजलासले घुमुवा वा सुराकी परिचालन गर्न आवश्यक कानुनी प्रबन्धको व्यवस्था गर्न नेपाल प्रहरीलाई ध्यानाकर्षण गराउने फैसला गरेको हो।

तत्कालीन पुनरावेदन अदालत पाटनले प्रतिवादीहरुलाई चोरीको महलको १२ नम्बर बमोजिम बिगो ९१ हजार ६२५ रुपैयाँको बुद्ध चित्त माला चोरी गरेकोमा जनही बिगो बराबर जरिवाना र एक महिना कैद हुने ठहर गरेको थियो। सर्वोच्च अदालतले सोही फैसला सदर गरेको हो। सर्वोच्च अदालतले डाँका मुद्दाको फैसला २०८० भदौ ३ मा गरेको थियो।

प्रहरीको आन्तरिक निर्देशन, मापदण्ड वा कुनै कार्यविधि नबनेको सर्वोच्चले फैसलामा उल्लेख गरेको छ। घुमुवा प्रहरी को हो होइन, यकिन गर्ने, अधिकार प्रत्यायोजन गर्ने, लिखित रुपमा त्यस कार्यमा खटाउने, त्यस्ता व्यक्तिहरूको कार्यादेश परिभाषित गर्ने सम्बन्धमा कानुनी व्यवस्था छैन।

‘विद्यमान प्रहरी सम्बन्धी कानुनी व्यवस्था र अन्य कुनै कानुनी व्यवस्थामा घुमुवा वा सुराकी प्रहरीको परिभाषा गरिएको र त्यस सम्बन्धी कानुनी व्यवस्था गरेको देखिँदैन’ सर्वोच्चले भनेको छ।

अपराधको वस्तुगत अवस्था र सूचना पत्ता लगाउन घुमुवा, सुराकीको प्रयोग एक सामान्य अभ्यास हो। प्रस्तुत मुद्दामा प्रतिवादी रविन चौगुठीले आफू मौखिक रुपमा कार्यालयबाट त्यस्तो कार्यमा खटिएको भन्ने उल्लेख गरेको पाइन्छ। ‘अपराध अनुसन्धान र त्यसको वस्तुगत अवस्था बुझ्न घुमुवा वा सुराकीको रुपमा परिचालन गर्नुपर्ने प्रहरी कर्मचारीहरू कानुनले परिकल्पना गरेको परिधिभित्र रही परिभाषित रुपमा त्यस्तो कार्यमा संलग्न भएको देखिनुपर्छ’ फैसलामा भनिएको छ।

सामान्यतः घुमुवा अर्थात् सादा पोसाकका प्रहरी कर्मचारीले शंकास्पद व्यक्तिलाई आफै नियन्त्रण गर्ने चेकजाँच गर्दैनन्। घुमुवाको मुख्य जिम्मेवारी नै गोप्य रुपमा सूचना संकलन गरी जिम्मेवार निकायमा जानकारी गराउने अभ्यास पाइन्छ। तिनै घुमुवाले दिएको सूचनाको आधारमा सम्बन्धित निकायले कारबाही वा अनुसन्धान प्रक्रिया अघि बढाउने गर्छन्।

पुनरावेदक प्रतिवादी रविन चौगुठीलाई शंकास्पद व्यक्तिलाई आफै नियन्त्रण गर्ने, चेकजाँच गर्ने अख्तियारप्राप्त भएको खुल्न सकेको देखिँदैन। उनले सिभिल ड्रेसमा गएर सबै अपराध सम्बन्धी जानकारी लिन मौखिक आदेश हुने भनी उल्लेख गरेका थिए। उनले बाटोमा हिँडिरहेको व्यक्तिलाई नियन्त्रणमै लिई चेकजाँच गर्ने गरेका थिए। तर, त्यो अख्तियारी उनमा थिएन।

प्रकाशित: ३ मंसिर २०८० १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App