१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तिहारमा सडक दुर्घटनाबाट १७ जनाको मृत्यु

तिहारको समयमा सुदूर पश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार दीपावलीको अवधिमा सुदूर पश्चिमका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको हो।

गत कात्तिक १२ देखि ३० सम्म सुदूर पश्चिम प्रदेशमा २२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १७ जनाको मृत्यु भएको थियो भने ५४ जना घाइते भएका थिए। तिहारको समयमा प्रदेशभर चार हजार एक सय २३ वटा सवारी साधन कारबाहीमा परे।

तिहारको समयमा मात्र २६ लाख ८१ हजार रूपैयाँ जरिवानावापत राजस्व असुल गरिएको छ। यसअघि दसैंमा सुदूर पश्चिममा सडक दुर्घटनामा परेर नौ जनाको मृत्यु भएको थियो। दसैं अवधिमा भन्दा दीपावली समयमा दोब्बर बढीको सडक दुर्घटनाबाट मृत्यु भएको तथ्यांकले देखाएको छ।

घटस्थापनादेखि पूर्णिमासम्म भएका दुर्घटनामा नौजनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए। सुदूर पश्चिमका नौ जिल्लामध्ये दसैंको समयमा सबैभन्दा बढी कैलालीमा सडक दुर्घटना भएका थिए।

कैलालीमा १० वटा दुर्घटना भएका थिए। घटनामा परेर पाँच जनाको मृत्यु भएको थियो। डडेल्धुरा, अछाम, बझाङ र बाजुरामा एकएक जनाको मृत्यु भएको थियो।

यस्तै गत वर्षको दसैं र तिहारको समयमा भने सुदूर पश्चिम प्रदेशमा सडक दुर्घटनाबाट आठजनाको मृत्यु भएको थियो। गत वर्षभन्दा यस वर्ष दसैं–तिहारमा सडक दुर्घटनामा परेर मृत्यु हुनेको दर बढेको देखिन्छ।

प्रकाशित: २ मंसिर २०८० ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App