२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विपद्को पूर्वतयारीबारे अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा हुने

विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने भएको छ । आउँदो डिसेम्बर १–३ अर्थात् मङ्सिर १५ देखि १७ गतेसम्म धुलिखेल सामुदायिक अस्पतालमा सम्मेलनको आयोजना गरिने भएको हो।

सम्मेलनमा विभिन्न मुलुकका विपद्का विशेषज्ञ सहभागी हुने र तीन दिनसम्म विश्वका विभिन्न मुलुकमा भएका विपद् पूर्वतयारीका विषयमा बृहत् छलफल हुने जनाइएको छ।

छलफलपछि विपद् पूर्वतयारी तथा व्यवस्थापनका नयाँ विधि एवं तरिका धुलिखेललगायत नेपालका अन्य अस्पतालमा अपनाइने  सम्मेलनको पूर्वतयारीस्वरुप अस्पतालमा भएको सरोकारवालासँगको छलफलमा आयोजक समितिका संयोजक प्रो डा बलराम मल्लले बताए।

उनका अनुसार प्रकोप, त्यसको असर तथा आघात, आपत्कालीन उद्धार तथा त्यसको सञ्चार, प्रकोपमा हेरचाहको बिन्दु अर्थात् विभिन्न तयारी, अन्तर विभाग, अन्तर अस्पताल र सञ्चार समन्वयबारे बृहत् छलफल हुनेछ।

सम्मेलनमा सामरिक चिकित्सा, उपचारका लागि आवश्यकपर्ने अन्य उपकरण तथा सामग्री, सङ्क्रमण रोकथाम र नियन्त्रण, अस्पतालमा हुने नेतृत्वदायी भूमिका तथा निर्देशन र संयोजन, प्रकोपमा नेतृत्व, विपद् व्यवस्थापन अनुभव साझेदारी, अभ्यास तथा प्रकोपमा औषधिको व्यवस्थापन र सूचना सञ्चार, सङ्क्रामक रोगको प्रकोप, ठूलो भूकम्प, विमान दुर्घटना, अस्पतालको भवन भत्किएको अवस्थामा उपलब्ध गराउनुपर्ने स्वास्थ्य सेवा तथा अन्य प्रकोपमा खेल्नुपर्ने भूमिकाबारेमा बृहत् छलफल हुने जनाइएको छ।

सम्मेलनमा विभिन्न देशका विशेषज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । छलफलमा विसं २०७२ को भूकम्पमा एकैपटक चार हजारभन्दा धेरै बिरामीको उपचार गराएको अनुभव तथा अभ्यासका आधारमा अस्पतालले सुरु गरेको विपद् पूर्वतयारीबाट ठूला घटनामा स्वास्थ्य संस्थाले अपनाउनुपर्ने पूर्वतयारी र सरोकारवालाको भूमिकाका बारेमा सम्मेलन महत्वपूर्ण हुने बताइयो।

सम्मेलनले हुनसक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी योजनासमेत निर्माण गर्ने जनाइएको छ । अस्पतालले काभ्रेपलाञ्चोकको केही स्थानबाहेक अन्यत्रबाट विपद्को केही घण्टामै बिरामी अस्पताल ल्याउँदा सहजरुपले उपचार गर्न सक्नेगरी तयारी गर्नेगरी तयारी गरिरहेको जनायो।

प्रकाशित: २३ कार्तिक २०८० ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App