जाजरकोटमा चार दर्जन संघ संस्थाले भूकम्प पीडितका लागि अल्पकालीन राहतका सामाग्री बाढिरहे पनि पीडितका पहुँच पुग्न नसकेको पाइएको छ।
म्याट, टेन्ट, त्रिपाल, कम्मल, खाने बस्ने अत्यावश्यक सामाग्री, पनि पर्याप्त जिल्ला नपुगेको हो। जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार निश्चित मोडलमा उपलब्ध राहत सामाग्री स्थानीय वडामार्फत् पीडितको हातमा पुर्याउने व्यवस्था मिलाइएको जनाएको छ।
ठूलो संख्यामा भूकम्प पीडित जिल्लामा रहेको र राहत निकै थोरै मात्रै ती संघ संस्थाबाट आएकाले वितरणमा सकस परिरहेको जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिश चन्द्र शर्माले बताए।
आएको राहत जिल्ला स्थित विपत् व्यवस्थापन समिति मार्फत स्थानीय तहको आवश्यकताका आधारमा हस्तान्तरण गरी सम्बन्धित वडा मार्फत पीडितको हातसम्म पुर्याउने व्यवस्था मिलाए पनि पीडितको पहुँच राहतमा नपुगेको सहायक प्रमुख जिल्ला अधिकारी हरिश चन्द्र शर्माले बताए।
जाजरकोट जिल्लाका सहायक प्रजिअ हरिशचन्द्र शर्माका अनुसार युनिसेफ, स्वीस दूतावास, प्लान इन्टरनेशनल लगायतले स्वास्थ्य साथै खाद्यान्न, टेन्ट त्रिपाल कम्मल, म्याट दिइरहेका छन्।
४२ वटा विभिन्न स्वदेशी र आधा दर्जन विदेशी संघ संस्था राहत सामाग्री सहित जिल्ला आएको उनले जानकारी दिए। ती सामाग्री जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण भएको छ। ती संघ संस्थाहरू मनोपरामर्श सेवा, स्वास्थ्य सामाग्री, खाद्यान्न, लत्ताकपडा र अस्थायी बसोबासका सरसामाग्री थोरै मात्रामा मात्रै पीडितलाई वितरण गरिरहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।
‘संघ संस्थाबाट प्राप्त हुने राहतका सामाग्री विपत् व्यवस्थापन समितिको राहत बुझ्न पालिकाका प्रतिनिधि राखिएको छ। क्षतिको प्रारम्भिक आँकडा अनुसार कहाँ – कहाँ राहत आवश्यक छ त्यस अनुरूप क्षतिको प्रारम्भिक आँकडा अनुसार आपत्कालीन राहत पुर्याउने काम भएको छ। तर पीडित धेरै भएकाले आवश्यक राहत पुर्याउन सकिएको छैन’, शर्माले भने।
प्रारम्भिक भौतिक क्षतिको आधारमा स्थानीय तहमा राहत वितरण भइरहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका अधिकारीहरूको भनाइ छ। ‘राहत नै पूर्ण प्याकेजमा नआउँदा एकै साथ दिन पाइएको छैन’,उनले भने।
बलाङकेट २० हजार, टेन्ट र कम्बल ३/३ हजार चामल ३८ सय बोरा, म्याट २ हजार ३ सय, पि फर्म १२ सय थान, चाउचाउ १ हजार १ सय ७० पेटी, पोषणयुक्त बिस्कुट ४ मेट्रिकटन, त्रिपाल २० हजार, र होम टेन्ट १ सय ७० हजार वितरण भएको छ।
‘आएका सामाग्री सबै वितरण भइसक्यो पीडित अरू राहतको पर्खाइँमा छन्’, सहायक प्रजि शर्माले भने।
छ दिन अगाडि ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि जाजरकोटमा १ सय १ जनाको मृत्यु भएको थियो। भूकम्पबाट जाजरकोटमा मात्रै ९ हजार २४ घर पूर्ण क्षति हुँदा ६६ हजार परिवार विस्थापित छन्। १ लाख ७९ हजार ८ सय जना भूकम्पबाट प्रभावित छन्।
रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको थियो। पश्चिम रुकुममा १६ हजार ५ सय ७० घर पूर्ण क्षति भएको छ। भने ९ हजार ९ सय ६५ घर आंशिक क्षति भएको छ।
रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार जिल्ला विपत् व्यवस्थापन समिति मार्फत स्थानीय तहमा राहत वितरण भइरहेको छ। तर पर्याप्त राहत नपाउँदा पीडितहरू चिसोमा रात काट्नु परेको उनले सुनाए।
‘पीडितको लागि एकद्धार प्रणालीबाट सर्वदलीय बैठक मार्फत आपत्कालीन राहत बाढिए पनि सबैको पहुँचसम्म पुगेको छैन। राहत नै थोरै आउँदा सबैको हात हातमा पुर्याउन हामीलाई सकस भइरहेको छ’, उनले भने।
प्रकाशित: २२ कार्तिक २०८० १३:५१ बुधबार





