१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

लथालिङ्ग सिम्रौनगढ नगर, तलब माग गर्दै ४ सय बढी कर्मचारी आन्दोलित

लामो समय देखि नपाएको तलबको माग गर्दै अनशनमा बसेका शिक्षक, स्वास्थ्यकर्मी लगायत नगरपालिका मातहतका कर्मचारीहरू।

देशको उप-राष्ट्रपति र मधेश प्रदेशको मुख्यमन्त्रीको गृह नगरपालिका समेत रहेको सिम्रौनगढ नगरपालिकाको अवस्था लथालिङ्ग बनेको छ।

स्थानीयहरूलाई सेवा सुविधा दिएर सरकारको अनुभूति दिलाउने जिम्मेवारी लिएका जनप्रतिनिधीहरुले नै अनियमितता लुकाउन खोज्दा सिम्रौनगढ नगरपालिकाको अवस्था लथालिङ्ग हुन पुगेको हो।

नगरपालिकाको कार्यालयमा ताला।

सिम्रौनगढ नगरपालिकाको कार्यालयमा विगत तीन हप्ता देखि ताला लागेको छ। दैनिक सयौँको संख्यामा बिरामीलाई सेवा दिने नगर अस्पताल चार महिना देखि बन्द छ। यसै गरी समयमै तलब नपाएर साढे चार सय कर्मचारीहरू तलबको माग राख्दै आन्दोलनमा उत्रिएका छन्।

नगरपालिकाको ताला खुलाएर कर्मचारीहरूलाई तलब सुविधा दिनेप्रति नगर प्रमुख किशोरी प्रसाद कलवारले कुनै चासो नदेखाएको कर्मचारीहरूको गुनासो छ।

गत आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले गरेको खर्चहरू सार्वजनिक गर्न वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरूले माग गर्दा नगर प्रमुखले खर्चहरुको विवरण सार्वजनिक नगरेपछि उप–प्रमुख सहित अधिकांश वडा अध्यक्ष र कार्यपालिका सदस्यहरू विरोधमा उत्रेका थिए।

बहुमत कार्यपालिका सदस्यहरूले विरोधमा उत्रेपछि नगर प्रमुख कालवारले खर्च विवरण सार्वजनिक नगरी बाहिरबाट नगरपालिका सञ्चालन गराउन खोज्दा यो अवस्था आएको असन्तुष्ट वडा अध्यक्षहरूले गुनासो गरे।

यता नगर प्रमुख कलवारले विरोधी पार्टीका वडा अध्यक्षहरूले बिना कारण पटक/पटक नगरपालिकामा तालाबन्दी गराउने र प्रमुख प्रशासकीय अधिकृतलाई बस्न नदिने गरेकाले नगरपालिका सञ्चालनमा समस्या भएको बताए।

विरोधी पार्टीका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले खर्च विवरण सार्वजनिक गर्न माग गर्दा तपाईँले खर्च विवरण सार्वजनिक किन नगर्नुभएको ? भन्ने हाम्रो प्रश्नमा प्रमुख कलवारले यो आन्तरिक कुरा भएकोले खर्च सार्वजनिक गर्न नसकिएको स्वीकार गरेका छन्।

गत आर्थिक वर्ष २०७९/८० को बजेट रकम खर्चका लागि छैँठाैँ नगर सभाबाट एक वर्षको लागि इन्धनमा ६० लाख रुपैयाँ छुट्टाइएकोमा दुई करोड जति खर्च देखाइ बजेटमा नगर प्रमुखले अनियमित गरेका वडा नम्बर-४ का वडा अध्यक्ष अवधेक सहनीले आरोप लगाए।

‘उप-राष्ट्रपति राम सहायक यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको सम्मान र सत्कारको नाममा पनि १४/१४ लाख रुपैयाँ खर्च देखाइएको छ,’ सहनीले भने ‘खर्च गरिएको रकम न त कार्यपालिका बैठकबाट नै निर्णय गरिएको छ न त नगर सभाबाट नै विनियोजित भएकाे छ।’

नगर प्रमुख कलवारले आफुलाई मन लागेको शीर्षकमा निर्णय बिना नै करोडौँ रकम अनियमितता गरेको र साे अनियमितता ढाकछोप गर्न खर्च सार्वजनिक नगरी भाग्दै हिँडेको आरोप सहनीले लगाए।

नगरपालिकालाई पोखरीको ठेक्काबाट आउने वार्षिक एक करोड भन्दा बढी रकम समेत नगरपालिकाको खातामा जम्मा गरी बाहिरबाटै हिनामिना गरिएको उनले सुनाए।

मधेश प्रदेशको मुख्यमन्त्री सरोज यादवसँग पनि नगरपालिकालाई राम्रोसँग सञ्चालन गराउन पहल गरी दिन भन्दा उनले पनि वास्ता नगरेको सहनीको आरोप छ।

नगर क्षेत्रका शिक्षक, स्वास्थ्यकर्मी लगायत नगरपालिकाको माध्यमबाट तलब खाने साढे चार सय भन्दा बढी कर्मचारीहरू तलबको माग गर्दै आन्दोलनमा गरी रहेका छन्।

तलबको माग गर्दै आन्दोलनमा रहेका मध्ये एक शिक्षक उमाशंकर यादवले दसैँको समयमा पनि तलब नपाएको र तिहार, छर्ठ पर्वमा पनि तलब नपाउने देखेर नै तलबको लागि अनशनमा उत्रनु परेको गुनासो गर्छन्। तलबविना चाडपर्व नै खल्लो हुने उनीहरु बताउँछन्। 

कात्तिक ३ गते सिम्रौनगढ नगरपालिकामा सातौँ नगर सभाको विषयलाई लिएर उप-प्रमुखको नेतृत्वमा असन्तुष्ट वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले तालाबन्दी गरेका थिए।

नगर प्रमुख किशोरी प्रसाद कलवारले सातौँ नगरसभा सम्पन्न भएको विज्ञप्ति निकालेर जानकारी गराएपछि त्यसको विरुद्धमा तालाबन्दी गरिएको थियो। 

गत असोज ३० गते पत्राचार गरी सातौँ नगरसभा कात्तिक ३ गते बिहान ७ बजे देखि नगरपालिकाको सभा कक्षा गरिने र त्यसमा सहभागी हुन भनिएको थियो।

‘नगर सभामा सहभागी हुन आउँदा नगर प्रमुख कलवारले नगरसभामा उपस्थित नै नभई बाहिरबाटै विज्ञप्ति निकालेर नगर सभा सम्पन्न भएको जानकारी गराउँदा हामीहरुले बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नु परेको हो।’ उप-प्रमुख नजमु शेहरले गुनासो गरिन्।

सिम्रौनगढ नगरपालिकामा ५९ जना कार्यपालिका सदस्यहरु रहेकोमा ३९ जना नगर सभा सदस्यहरूले किर्ते नगर सभा खारिजीको माग गर्दै तालाबन्दी गरेको शेहरले बताइन्।

स्थानीय सरकार सञ्चालन ऐन नियमावलीमा उप-प्रमुखले नगर सभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भनिए पनि नगर प्रमुखले उप-प्रमुख लगायत कार्यपालिका सदस्यहरुलाई सभा हलमा बोलाउने र बाहिर नगर सभा भएको विज्ञप्ति निकालेर जानकारी गराउनु अमान्य रहेको उप-प्रमुख शेहरको आरोप छ।

नगर प्रमुख कलवारले प्रक्रिया पुरा गरेर नै सातौँ नगर सभाले आर्थिक वर्ष २०८०/८१ को लागि ७४ करोड ४६ लाखको अनुमानित बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको दाबी गरेका छन्।

प्रकाशित: २२ कार्तिक २०८० १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App