१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

जाजरकोट भूकम्पले जुम्लामा घर चर्कियो, गाउँ भर आश्रय खोज्दै स्थानीय

भूकम्पले जुम्लामा चर्किएको घर। तस्बिर: नागरिक।

जाजरकोट भूकम्पले जुम्लामा घर चर्कँदा स्थानीय गणेशप्रसाद उपाध्यायको परिवार विस्थापित भएको छ।

भूकम्पले उनको घरको चारैतिरको पर्खाल चर्किँएको छ भने पहिलो तला भत्किएको छ। चन्दननाथ नगरपालिका-१ निवासी उपाध्याय यती खेर बासको जोहो खोज्दै छन्।

‘घर पुरै चर्किएको छ। बस्न मिल्ने अवस्था छैन। अहिले गाउँमा बस्न घर खोजिरहेको छु।’ उनी भन्छन्।

भूकम्पको समयमा उनी र उनको छोरा घरभित्रै थिए। कम्पन थाहा पाउन साथ बाहिर निस्किएका उनी सकुशल रहे भने पर्खाल भत्कँदा उनको १७ वर्षको छोरा सन्तोष उपाध्याय च्यापिएका थिए। 

पर्खालले च्यापिएका उनी सामान्य घाइते भए। उनको तिघ्रामा चोट लागेको छ। अन्य परिवारका सदस्य भने सकुशल रहेको उनले जनाए। सामान्य भूकम्पको कम्पन हुने बित्तिकै घर नै भत्किने अवस्था रहेको उनी बताउँछन्। 

उपाध्यायको चर्किएको घर वडाध्यक्ष तिलक प्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र नगरप्रमुख राजुसिंह कठायतले स्थलगत अवलोकन गरेका थिए। 

यस्तै जुम्ला तिला-९, मालापानीका धिरबहादुर बुढाको घर पनि भूकम्पले नराम्ररी चर्किएको छ। उनको घर पनि बस्न लायकको छैन। यतीखेर उनको परिवार गाउँलेहरूको आश्रयमा बस्न बाध्य छन्।

‘घरमा बसौँ त सामान्य कम्पनले भत्किने अवस्था छ। नबसौँ त चिसो समयमा घरबाहिर बस्न सकिने अवस्था छैन। चिसो हुने समय पनि सुरु भइसकेको छ। अब हामी कहाँ जाने ?’ उनी भन्छन्।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न स्थानीय सरकार र सरोकारवालाले कुनै चासो नदेखाएको उनकाे गुनासो छ। 

उपाध्याय र बुढा परिवार त बस उदाहरण मात्र हुन्। सो गाउँका अधिकांश घर चर्किएका छन्। यहाँका स्थानीयहरु रातभर आगो बालेर खुला आकाश मुनी जाग्राम बस्न बाध्य छन्।

जिल्ला प्रशासन कार्यालयले भूकम्पबाट जुम्लामा पाँच जना सामान्य घाइते भएको बताएको छ। गुठिचौर गाउँपालिका-४ बिगारे निवासी रत्न प्रसाद न्यौपानेको घर भूकम्पले क्षतिग्रस्त बनाएको छ।

सिँजा गाउँपालिका- २ विष्टवाडामा ३ घर भत्किएका छन्। स्थानीय प्रशासनका अनुसार तिलाको वडा न ३, ५ र ९ रहेका केही घरहरू तथा विद्यालयहरु चर्केका छन्।

जिल्लामा कुनै मानवीय क्षति तथा ठूलो भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले बताए। उनले यकिन तथ्याङ्कका लागि प्रहरी परिचालित गरिएको बताए।

गत १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर गएको ६।४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ। भूकम्पमा परी १ सय ५३ को मृत्यु तथा ३ सय बढी घाइते भएका छन्।

प्रकाशित: २१ कार्तिक २०८० १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App